विप्लवको पार्टीका जिल्ला सेक्रेटरीसहित तीन पक्राउ
दाङ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दाङका जिल्ला सेक्रेटरीसहित तीनजना पक्राउ परेका छन् । शुक्रबार दाङको घोराहीस्थित तुलसीपुर चोकमा कोणसभा गर्न लाग्दा कार्यक्रममा हस्तक्षप गर्दै प्रहरीले जिल्लाको नेतृत्वमा रहेका नेतालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा जिल्ला सेक्रेटरी विक्रम, दलित मुक्ति मोर्चाका सुरज परियार र पार्टीका गढवा गाउँपालिकाका सेक्रेटरी ओमप्रकाश चौधरी छन् ।
कार्यक्रमको तयारी स्वरुप जम्मा भएका उनीहरुलाई बिना कारण पक्राउ गरिएको नेकपाका राप्ति ब्यूरो इन्चार्ज सुवासको आरोप छ । उनले पक्राउ परेका तीन नेतालाई छिटोभन्दा छिटो रिहा गर्न माग गरेका छन् । आफ्नो पार्टीका नेता तत्काल रिहा नभए कडा संघर्ष गर्ने चेतावनी समेत उनले दिएका छन् ।