प्रधामन्त्रीले महाभारतको कथा सुनाउँदै भने: म कृष्ण, जनता गोपिनी

प्रधामन्त्रीले महाभारतको कथा सुनाउँदै भने: म कृष्ण, जनता गोपिनी

ललितपुर: नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कसैले भ्रष्टार गर्छ भने त्यो मान्य नहुने बताएका छन् । नेकपा एमाले झापा–काठमाडौँ सम्पर्क मञ्चले शनिवार गोदावरीमा गरेको बृहत् वनभोज कार्यक्रममा यस्तो बताएका हुन् ।

‘भ्रष्टहरू हाम्रो अर्काको, तेरो–मेरो, नजिकको–टाढाको, यताको उताको केही पनि हुँदैन,’ उनले भने, ‘भ्रष्टाचार गरेको पाइएमा, भ्रष्टाचार गरेको उनले कोही पनि टपक्क टिपेर फुत्त मिल्काइयो भने अचम्म मान्नु पर्दैन’, उनले भने ।

‘भ्रष्ट भयो कि गयो त्यसमा सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘नेपालमा अब गुण्डागर्दी, मान्छे तर्साएर चन्दा असुल गर्ने, मानव तस्कर र अन्य प्रकारका अपराधमा संलग्नलाई सरकारले कडाईका साथ कारबाही गर्छ ।’

उनले छोरीहरू बलात्कृत हुँदा मध्यस्तकर्ता बन्ने प्रहरीलाई पनि नछाड्ने सङ्केत गरे । ‘छोरीहरू वलात्कृत हुन्छन् । प्रहरीहरू मध्यस्तकर्ता भएर मिलापत्र गर्दै हिँड्छन् । त्यो अब मान्य हुँदैन,’ उनले भने, ‘पक्रेका अपराधी छाड्दै हिँड्ने कुरा पनि सरकालाई मान्य हुँदैन । कुनै बलात्कारी, कुनै अपराधीलाई छाडिँदैन । पुराना मुद्दा पनि खिचेर ल्याएर यो सरकारले दण्डित गर्छ । कानुनको राज हामी देखाउँछौँ । अब नेपाल बन्छ । अन्यायमा केही पर्दैन ।’

जिन्दगीसँग ठट्टा गर्ने समय छैन
उनले सबै ध्यान समृद्धिमा लगाउने बताए । ‘मेरो पाइला देशको समृद्धितर्फ तर्फ अघि बढ्नेछ,’ उनले थपे, ‘तपाईँहरूका हिराजडित भोटमा मैलो लाग्न दिन्न । तपाईँहरूलाई थाहा छ । म हिजोबाट ६६ वर्ष पूरा भएर ६७ वर्ष लागेँ । अब मैले केटाकेटीसँग ठट्टा गर्दा हुन्छ । तर, जिन्दगीसँग ठट्टा गर्ने समय छैन । मसँग प्रयोग गर्ने समय छैन । एउटा प्रयोग गरी हेरौँ न भन्ने समय मसँग छैन । अलिक समय पर्खिऔँ न त भन्ने समय पनि छैन । अब मैले छिटो–छिटो काम गर्नु पर्छ ।’

म कृष्ण, जनता गोपिनी
उनले भावनात्मक ढङ्गले सबै जनतासँग सँगै रहने भन्दै महाभारतको कथा पनि सुनाए । ‘महाभारतमा कृष्णका १६ सय गोपिनी छन् भन्दा धेरैले इष्र्या गरे । धेरै लोभिए । उनीहरूले कृष्णलाई १६ सय आफैँले किन राखेको ? भने’, उनले थप कथा यसरी सुनाए, ‘अनि कृष्णले भने, ‘जुन गोपिनीसँग, वा जुन गोपिनीको खोपीमा म छैन त्यो तिमीहरूले लगे हुन्छ । कृष्णले त्यसो भनेपछि कृष्णका साथीहरू गोपिनी खोज्न गए । गोपिनी भएको ठाउँमा गएर ‘यहाँ त तपाईँ एक्लै हुनुहुन्छ होला’ भन्यो । ‘होइन यहाँ त श्रीकृष्ण हुनुहुन्छ’ भन्छन् । अर्कोमा गयो– ‘यहाँ तपाईँ एक्लै हुनुहुन्छ हो ? भन्यो–‘होइन यहाँ श्रीकृष्णजी हुनुहुन्छ’ भन्छन् । फेरि अर्कोमा गयो– ‘एक्लै हो भन्यो– ‘होइन श्रीकृष्ण हुनुहुन्छ ।’ यसको अर्थ श्रीकृष्ण खोपीमा होइन सबै गोपिनीको मनमा थियो । तपाईँहरू मेरो मनमा हुनुहुन्छ, तपाईँहरू जाँदा पनि गोपिनीहरुले कृष्ण देखेजस्तै म जहाँ पुग्दा पनि म तपाईँहरूलाई देख्छु, भेट्छु, तपाईँहरू मेरो साथमा हुनुहुन्छ । म पनि तपाईँहरूको साथमा छु । मेरो अरू उद्देश्य नै छैन । देश बनाउने मात्रै मेरो उद्देश्य हो ।’

कोही भोकले मर्दैनन्

उनले आफूलाई दुःख–कष्ट थाहा भएको भन्दै भोकले कोही नपर्ने बताए । ‘खान नपाएका अप्ठ्यारा मैले देखेको छु । मान्छेको भोकमरी र कठिनाइ देखेको छु । सरकारले अव विधिवत निर्णय गर्छ अब नेपालमा कोही भोकै पर्दैन । कोही भोकले मन्र्दैन । यो सरकारी नीति हो,’ उनले भने, ‘त्यसपछि घोषणाको सिरिजमा आउँछ । घर नभएको केही नेपाली हुँदैन । चराले गुँड बनाएर बसेको हुन्छ । तर, यत्रो जमिन छ । मान्छेले छाप्रो बनाएर पनि बस्न नपाउने अवस्था हुँदैन ।’

नयाँ पार्टीको नाम फरक, नीति एमालेकै

उनले एमाले र माओवादीबिच एकतापछि बनेको नयाँ पार्टीको नाम फरक भए पनि नीति सबै एमालेकै हुने बताए । ‘मैले २०७४ साल एमालेमय नेपाल भनेको थिएँ । भएको छ र हो । अब एमाले र माओवादी केन्द्र मिल्दै छ,’ उनले भने, ‘नाम अलिकति फरक पर्छ । नाम अलिकति फरक परे पनि काम एमाले हो । नीति एमालेकै हो । फरक पर्ने होइन । मुलुकलाई समृद्धिमा लैजाने जनताको बहुदलीय जनवादले नै हो । स्पष्ट भए हुन्छ । सबै स्पष्ट छन् । स्पष्ट नभएकालाई हामी बुझाउँछौँ । स्पष्ट नभएकाले बुझ्छन् ।’

एमाले हुर्केका अभिमन्यु

उनले द्वापर युगको कलिलो अभिमन्युलाई चक्रव्यूहमा पारे जस्तो एमाले नहुने पनि दाबी गरे । ‘मैले भनेको थिएँ, द्वापर युगमा चक्रव्यूह बन्यो । कलिलो अभिमन्युलाई निशस्त्र बनाएर महासथीहरुले, महायोद्धाहरुले भर्खर हुर्किएको बालकलाई चक्रव्यूहमा पारेर हत्या गरेका थिए,’ ओलीले भने, ‘अहिलेको चक्रव्यूह तोड्न सक्ने हामी छौँ । त्यस बेला अभिमन्युलाई चक्रव्यूह तोडेर भित्र पस्न आउँथ्यो, तर बाहिर निस्कने कला थिएन । हामी द्वापर युगको बालक अभिमन्यु होइनौँ ।’

एमालेले बक्रदृष्टि लाएमा

‘एमालेले जसको टाउकोमा तथास्तु भनेर हात राख्यो त्यसले जित्यो । जसलाई राखेन त्यो गयो । राप्रपाको पनि कसैलाई जितेस्, गरिखाएस् भनेको आयो,’ उनले भने, ‘अरूलाई पनि त्यस्तै हो । बुझे हुन्छ हामीले बक्रदृष्टि लगाउँदा शनि, राहुले बक्रदृष्टि लगाउँदा केही हुँदैन । देश र जनताको निम्ति उभिने एमालेले बक्रदृष्टि लायो भने गयो । त्यो खतम । अरू ग्रहदशा जस्तो होइन । एमालेले अगुवाई गरेको छ, गर्छ ।’

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, माओवादी नेता राम कार्की प्रदेश नम्बर एकका स्थानीय मामिला मन्त्री हिक्मत कार्की र सम्पर्क मञ्चका अध्यक्ष तुलसीराम मैनालीलगायतले पनि बोले ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.