संकेतसँगै कविता लेखौं

संकेतसँगै कविता लेखौं

 

बिहान उठ्नेबित्तिकै संकेतले झ्याल खोल्यो । चिसो हावा उसको कोठामा आउन थालेपछि गर्मीको उकुसमुकुस भएको उसको शरीरले पनि आराम महसुस गर्‍यो । हिजो विद्यालयमा कविता लेखन कार्यशालामा कविता लेख्न सिकाउन आएका कविले बिहानीपखको स्वच्छ वातावरणको महत्व बुझाएका थिए ।

खाली खुट्टा शीतले नुहाएको दूबोमा हिँड्न हौस्याएका थिए । घर नजिक दूबोको चौर नभए छोटो प्रातः भ्रमण, त्यो नमिले घरको कौसीमा भए पनि हिँड्नु भनेका थिए । र उठ्नेबित्तिकै झ्याल खोलेर बाहिरको स्वच्छ हावाले कोठालाई पनि स्वच्छ पार्न अनुरोध गरेका थिए । कविता लेख्न आपूm आफ्नो कोठा, घर, समाज, देश र सम्पूर्ण पृथ्वी नै स्वच्छ हुनुपर्छ । अनि मात्र सुन्दर कविता लेख्न सकिन्छ भनेका थिए ।

संकेत उठेर कोठा मिलाउन थाल्यो । छरिएका किताब मिलाएर टेबलमा राख्यो र झुन्ड्याएपछि कोठा सफा देखियो । उसले सकिनसकी सिरक पट्यायो । पलङको तन्ना तानतुन पार्‍यो । आहा ! एक्कै छिनमा उसको कोठा आमाको हातले सजाएको कोठा जत्तिकै राम्रो देखियो । ऊ हिजो राति लेख्न कोसिस गरेको कविता रहेको कापी बोकेर छततिर लाग्यो । छतमा ऊभन्दा पहिला नै एक जोडी भँगेरा बसेका रहेछन् । ऊ लामा पाइला चाल्दै छतमा हिँड्न थालेपछि ती तर्सेर उडे ।

शनिबार बिदा भएकाले घरका अन्य सदस्य उठेका पनि थिएनन् । उसको घर मात्र होइन, टोल नै शान्त थियो । पाँच कक्षाबाट ६ कक्षामा जाँदाको स्कुलको पहिलो दिनको बिहान झैं उसको मन आनन्दले भरिएको थियो । बिहान सबेरै स्वच्छ हावामा हिँड्नुमा पनि यत्ति आनन्द हुने थाहा पाएर ऊ दंग पर्‍यो । हिँड्दाहिँड्दै उसले छतको पर्खालमा राखेको कापी बोक्यो र कविताको लय मिलाउन अनुप्रास कसरी मिलाउने भनी सिकाएको कुरा पढ्न थाल्यो । ऊ मनमनै अन्त्यानुप्रास मिलाउँदै भर्खरको घटना गुन्न थाल्यो ।

भँगेराका जोडी
उडे मलाई छोडी

यति लेखिसकेर संकेत आफूले लेखेको गुनगुनाउँदै छतमा हिँड्न थाल्यो । उसले अनुप्रास मिलाउन जोडी र छोडी जस्तै अरू शब्द खोज्न थाल्यो । जोडी जस्तै शब्द बनाउन उसले क बाट सुरु गर्‍यो । उसले कापीमा कदेखि ज्ञसम्मका शब्दहरू यसरी लेख्यो ः, कोडी, खोडी, गोडी, घोडी, ङोडी, चोडी, छोडी, जोडी, झोडी, ञोडी, टोडी, ठोडी, डोडी, ढोडी, णोडी, तोडी, थोडी, दोडी, धोडी, नोडी, पोडी, फोडी, बोडी, भोडी, मोडी, योडी, रोडी, लोडी, वोडी, शोडी, षोडी, सोडी, होडी, क्षोडी, त्रोडी, ज्ञोडी । लेखिसकेर पढ्दा कतिवटा शब्द त अर्थ नै नभएका शब्द बनेछन् । उसले मुस्कुराउँदै ती अर्थ नभएका शब्द काटिदियो र अर्थ भएका गोडी, घोडी, छोडी, जोडी, तोडी, बोडी, मोडी छुट्टै टिप्यो । यीमध्ये जोडी र छोडी अगि नै कविता लेख्न प्रयोग भइसकेका थिए । अतः ऊसँग अब गोडी, घोडी, तोडी, बोडी, मोडी शब्दहरू थिए ।

उसले अगाडि लेखेको हरफ फेरि पढ्यो । उसलाई उडेर गएका भँगेरालाई फेरि बोलाउन मन लाग्यो । तर बोलाउने कसरी ? उसले सोच्यो, ऊसँग अन्नहरू भए त कौसीमा भँगेरा अनि चरालाई बोलाउँदै छर्थेँ । उसले अगि टिपेका शब्द हेर्‍यो । ऊसँग ‘बोडी’ भन्ने शब्द थियो । ऊ मुस्कुरायो र लेख्योः

फर्किएर आऊ
खान दिन्छु बोडी

अनि सोच्दै गयो । उसलाई अरू अन्नहरू पनि खान दिन मन लाग्यो । तब उसले लेख्यो

कसार पापा दिन्छु
सिलौटोमा फोरी

आफूले गुनगुनाउँदै लेखेको कविता फेरि तन्काउँदै उसले लेख्यो

चिर्बिराउने तिमी
हिँ हिँ गर्ने घोडी

उसले हिँड्दाहिँड्दै लेखेको कविता भएर होला कापीमा उसका अक्षर नराम्रा र फोहर देखिए । उसलाई नराम्रो अक्षर मन पर्दैनथ्यो । त्यसैले ऊ कौसीमा रहेको बोरामा बस्यो र राम्रा अक्षरमा अगि लेखेको कविता सार्‍यो । उसले सिरानमा शीर्षक पनि राख्यो । उसको कविता यस्तो भयो :

जोडी भँगेरा

भँगेराका जोडी
उडे मलाई छोडी

फर्किएर आऊ
खान दिन्छु बोडी

कसार पापा दिन्छु
सिलौटोमा फोडी

चिर्बिराउने तिमी
हिँ हिँ गर्ने घोडी

उसलाई आफूले लेखेको कविता कतिखेर आमा बुबालाई देखाउँजस्तो भयो । तर आमा बुबाको उठ्ने समय भएको थिएन । त्यसैले फेरि भोलि लेख्नलाई उसले मिल्ने शब्दहरू खोज्न थाल्यो । उसले भोलिलाई अनुप्रास मिल्ने शब्दहरू छान्ने आफ्नो सजिलो तरिका कापीमा लेख्यो ः

काना, खाना, गाना, घाना, चाना, छाना, जाना, झाना, माना, टाना, डाना, ढाना, णाना, ताना, थाना, दाना, धाना, नाना, पाना, फाना, बाना, भाना, माना, याना, राना, लाना, वाना, शाना, षाना, साना, हाना, क्षाना, गाना, ज्ञाना ! अनि शब्द नबनेका काट्दै उपयुक्त शब्दहरू सार्‍यो । अतः ऊसँग कविता लेख्न काना, खाना, गाना, चाना, छाना, ठाना, थाना, दाना, नाना, पाना, सानाजस्ता शब्दहरू थिए।

नानीबाबुहरू तिमीहरू पनि संकेतजस्तै यिनै र यस्तै गरी अरू शब्दहरू प्रयोग गरी कविता लेखेर आमा–बुबा र शिक्षकशिक्षिकालाई देखाऊ र धेरै स्याबासी पाऊ ल !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.