नानीबाबुसँग बैरागी काइँलाका मनका कुरा
म सानो छँदा देशमा जहानियाँ राणाशासन थियो। सर्वसाधारणसम्म शिक्षाको पहुँच पुगेकै थिएन। जो कसैलाई स्कुल खोल्ने अनुमति नै हुँदैनथ्यो। हाम्रो सुदूरपूर्वी पाँचथरमा पनि स्कुल खुलेकै थिएनन्। गाउँमा सावाँ अक्षर चिनेका मान्छे औंलामा गन्न सकिने मात्र थिए। लिम्बू समुदायमा त झन् कम थिए। तिनै सामान्य लेखापढी गर्ने बहिदार, पण्डित र पुरोहितहरूसँग मैले पनि अक्षर चिन्न सुरु गरेँ। सुरुमा धुलौटे पाटीमा र पछि खरीले कालो पाटीमा लेख्न थालेँ। कापी र कलमको चलन नै थिएन।
इलाममा निजी स्तरबाट स्कुल खोलिएको कुरा बुवा र ठूलोबुवाहरू गरिरहनुहुन्थ्यो। केही पछि दाजुहरू इलाम बसेर पढ्न थाले। उनीहरू घर आउँदा जुत्ता लगाएको देखेर म खुबै लोभिन्थेँ। घर बस्नेले चप्पल लाउनसमेत पाउँदैनथे। पसलहरू नै पनि कहाँ थिए र ? त्यतिबेला विश्वयुद्ध चलिरहेको थियो। विदेशी हवाईजहाजहरू आकाशमा बाक्लै उडेका देखिन्थे। जहाजमा उड्न पनि खुबै रहर लाग्थ्यो।
मलाई दाजुहरूसँग इलाम पठाउने कुरै थिएन। म भने इलाम गएर पढेको सपना देख्न थालेँ। एक पटक दाजुहरूलाई भरियासहित बिदा गर्ने बेलामा नुन बोकाएर मलाई गोठतिर पठाइयो। मैले उनीहरूलाई पछ्याउँछु भन्ने घरमा परिसकेको रहेछ। मलाई भने जसरी पनि इलाम जानु नै थियो। नुन बाटैमा छोडेर म पनि इलाम जाने बाटातिर लागेँ। दाजुहरूलाई अहिलेको राँके बजार छेउमा भेट्टाएँ। उनीहरूले मलाई घर फर्काउन पनि खोजे। तर म मान्दै मानिनँ।
यसरी म २००५ सालमा इलाम हाइस्कुलमा कक्षा २ मा भर्ना भएँ। त्यसबेलाको सजाय पद्धति अत्यन्तै कठोर थियो। एक जना शिक्षकले नीलकाँडाको लठ्ठीले रगत फुट्ने गरी पिँडुलामा हिर्काएको अहिले पनि झलझली सम्झिन्छु। उता घरतिर भने गल्ती गर्दा र पढ्न नजान्दा कुखुरा हाल्ने खुँगी बोकाएर घरवरिपरि घुमाउने चलन थियो। यो सजाय पनि मैले धेरै पटक भोगेको छु। पछि म कक्षा ८ देखि दार्जिलिङको सरकारी हाइस्कुलमा भर्ना भएँ। त्यहीँबाट हाइस्कुल तहको पढाइ पूरा गरेँ।
मान्छे अनुभवले पनि खारिन्छ। तिमीहरू बूढाबूढी भएको ठाउँमा गएको, सँगै बसेको, कुराकानी गरेको कमै मात्र देखेको छु।
हाम्रो पहिलो पाठशाला घर हो। सिकाइको सुरुवात घरबाटै हुन्छ। संस्कृति, परम्परा, सभ्यताआदी कुरा पनि समाजबाटै सिकिन्छ। त्यस्तै अनुशासन र इमानदारिता जस्ता कुरा पनि परिवारबाटै सिक्न सुरु हुन्छ। घरपरिवारबाट सिकेका राम्रा कुराहरू आफूूभन्दा सानालाई सिकाउने बानी गर्नुपर्छ। तिम्रा साना भाइबहिनीहरू पनि आफूूभन्दा ठूूलाकै सिको र अनुसरण गरिरहेका हुन्छन्। त्यसैले आफूूले जानेका कुरा आफैंलाई मात्र भयो भने के काम लाग्यो र ? जब हामी सिकेका राम्रा कुरा व्यवहारमा लागू गर्छाैं तब मात्रै आदर्श समाज बन्दछ। यसले हामीलाई सुसंस्कृत बन्न पनि मद्दत गर्छ।
भाइबहिनीलाई पढेका र सुनेका कुरा लेख्ने बानी बसाल्न मेरो सुझाव छ। यो परीक्षा केन्द्रित पढाइमा झनै कामलाग्दो हुन्छ। परीक्षाको समयमा अघि नै लेखेर राखेका नोट पढ्ने बानीले पूरै कोर्स दोहोर्याउन सजिलो हुन्छ। यसले समयको पनि बचत हुन्छ।
लेख्ने बानीले मान्छेलाई सिर्जनशील बनाउँछ। सोच्ने क्षमताको विकास पनि गर्छ। सिर्जना गर्नु भनेको बनाउनु पनि हो। यसले विध्वंस र गलत सोचबाट हामीलाई टाढा राख्छ। एकै पटकको लेखाइ चित्त नबुझे चटक्कै छाडेर हिँड्नु हुँदैन। क्रमशः भाषाको विकास हुँदै जान्छ, शाब्दिक क्षमता बढेर जान्छ। सम्पादन कलाको विकास हुन्छ। एकै पटकमा कोही पनि लेखक, साहित्यकार बन्दैन। लेखनलाई तिखारिरहनुपर्छ।
मान्छे अनुभवले पनि खारिन्छ। आजकल तिमीहरू बूढाबूढी भएको ठाउँमा गएको, सँगै बसेको, कुराकानी गरेको कमै मात्र देखेको छु। उनीहरूका कुरा सुन्ने र टिप्ने बानी बसाल्नुपर्छ। त्यसबाट विगत र वर्तमानलाई तुलना गर्न सजिलो हुन्छ। समाजको विकासक्रमका बारेमा जान्न सजिलो हुन्छ। अग्रजहरू समाजका सम्पत्ति हुन्।
तिमीहरूको उमेर उर्वर छ। यस्तो समयमा पढाइका अतिरिक्त रुचिअनुसारका क्रियाकलापमा भाग लिनुपर्छ। स्कुलका कार्यक्रम र प्रतिस्पर्धामा भाग लिनुपर्छ। यसले रचनात्मक बनाउँछ। त्यस्तै साहित्य पढ्ने बानीले समाजका विविध पक्षको ज्ञान हासिल हुन्छ।
तिमीहरू धेरै जसो अरूमा निर्भर छौ। अधिकांश काम अरूले नै गरिदिऊन् भन्ने चाहन्छौं। हामीले उमेरअनुसार आफ्ना काम आफैं गर्न सिक्नुपर्छ। यसले जिम्मेवारी बढाउँछ। अझ तिमीहरूले आफूूभन्दा साना र ठूूलाको काममा पनि सहयोग गर्नुपर्छ। आफ्ना न्यूनतम आधारभूत कामहरू आफैं गर्नुपर्छ।
हिजो आज हामी एकाएक सहरिया भएका छौं। गाउँ र प्रकृतिसँगको हाम्रो सम्बन्ध टुटेको छ। हामी धेरै व्यस्त बन्दै गएपछि सामाजिक कुरामा पनि ख्याल राख्न छाडेछौं। सामाजिक परम्परा, चाडबाड भुल्न थालेछौं। हामी नयाँनयाँ भाषा सिक्न बल गरिरहेका छौं। तर हाम्रै माटोमा विकास भएका कतिपय मातृभाषाहरू लोप हुन थालेका छन्। त्यसकारण मातृभाषाको विकास र संरक्षणमा हामीले ध्यान दिनै पर्छ।
गाउँघरका दुःख, सुख र अभावबाट पनि धेरै कुरा सिक्न सकिन्छ। त्यसैले बिदाको समय पारेर घुम्न जानुपर्छ। भिन्नभिन्न समुदायको भ्रमणले समाजको विविध पक्षको बारेमा बुझ्न सजिलो हुन्छ। समाजका समानता र असमानताहरू केलाउन सजिलो हुन्छ।
भाइबहिनीले सधैं इमानदार बन्नुपर्छ। प्रशंसा र स्याबासी पाउने काम मात्र गर्नुपर्छ। आफूूले गरेका कस्ता काम व्यवहारले अभिभावक र शिक्षकलाई खुसी मिल्छ सोहीअनुसार चल्न सके सबैको प्यारो भइन्छ। कहिलेकाहीँ संगतले पनि मान्छे बरालिन्छ, बहकिन्छ। यतातर्फ ख्याल गर्न जरुरी छ। आफ्नो कारणले कहिल्यै कसैलाई पनि असर नपरोस् भन्ने कुरा नबिर्सिनु है। कतिपय कुरा बुद्धि छिप्पिँदै गएपछि आफैं पनि सिकिन्छ। हाम्रो असल बानीले सबैको कल्याण हुन्छ। समाजलाई फाइदा हुन्छ। समाज स्वस्थ्य हुनु भनेकै राष्ट्र बलियो हुनु हो।
(नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति एवं कवि काइँलासँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित )