प्रदेश २ को मन्त्रिपरिषद् विस्तार अाज: राजपाबाट साह र राय मन्त्री बन्ने
काठमाडौं : राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले प्रदेश २ को मन्त्रिपरिषदमा पठाउने दुई मन्त्रीको नाम तय गरेको छ।अध्यक्ष मण्डलको बैठकले पार्टीका वरिष्ठ उपाध्यक्ष नवलकिशोर साह र वरिष्ठ नेता रामनरेश रायलाई मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको छ।
बुधबार बसेको बैठकले साहलाई सामाजिक विकास मन्त्रालय र रायलाई उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा पठाउने निर्णय गरेको हो। यसअघि नै राजपाबाट जितेन्द्र सोनल भौतिक पूर्वाधार तथा विकास मन्त्री नियुक्त भइसकेका छन्। मुख्यमन्त्री मोहमद लालबाबु राउतले बुधबार नै मन्त्रिपरिषदको विस्तार गर्ने भएका छन्।
उता संघीय समाजवादी फोरमले समेत सरकारमा पठाउने दुई मन्त्री र तीन राज्यमन्त्रीको नाम तय गरिसकेको छ। फोरमले आन्तरिक मामला तथा कानुन मन्त्रीमा ज्ञानेन्द्रकुमार यादव र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा शैलेन्द्रकुमार साहलाइृ पठाएको छ भने तीन राज्यमन्त्रीमा उशा यादव, सरोज सिंह र योगेन्द्र रायको नाम पठाएको छ। यसअघि नै फोरमबाट विजयकुमार यादव आर्थिक ममला तथा योजनामन्त्री नियुक्त भइसकेका छन्।