परमानन्द झाले भारतमा भने: नेपाल मागिखाने देश हो, जसले दिए पनि हात थाप्छ

परमानन्द झाले भारतमा भने: नेपाल मागिखाने देश हो, जसले दिए पनि हात थाप्छ

बिहार: नेपालका पूर्व उपराष्ट्रपति परमानन्द झाले नेपाल-भारतबीचको सम्बन्ध अझै प्रगाढ बनाउन दुई देशले ध्यान दिनुपर्ने जरुरी रहेको बताएका छन् ।

बिहारस्थित दरभंगमा भातको चर्चित पत्रिका दैनिक जागरणसँग कुराकानी गर्दै पूर्वउपराष्ट्रपति झाले पछिल्लो समय नेपालका नेताहरु भारतीय दूतावासमा राजनीति गरिरहेको पनि आरोप लगाएका छन् ।

अन्य देशका राजदूतहरु केबल विकासका कुरामा मात्रै केन्द्रित हुने गरेको बताउँदै झाले नेपालका दलहरु भने भारतीय दूतावसमा राजनीति गर्न लागिरहेको बताएका छन् ।

भारतले खासगरी तराई इलाका अर्थात मधेसी क्षेत्रको विकासमा विशेष रुपमा ध्यान दिनु जरुरी रहेको उनले जिकिर गरेका छन् । पूर्वव‌र्त्ती छात्र सम्मेलनमा भाग लिन एलएन मिथिला यूनिभर्सिटी पुगेका पूर्व उपराष्ट्रपतिले दैनिक जागरणसँगको भेटमा यस्तो बताएका हुन् ।

उनले तराई-मधेसको विकासका लागि पनि भारत सरकारले नेपाल सरकारसँग वार्ता गर्नुपनर्ने जरुरी रहेको जिकिर गरेका छन् । 'किनकि तराई इलाकामा भारत र नेपालको सम्बन्ध बेटी-रोटीको छ', उनले भनेका छन्, 'कयौँ कारणले यसमा अहिले कमी आइरहेको छ।'

उनले नेपाल-भारतको सम्बन्ध बिग्रनुमा नेपालको संविधान, भारतमा दाइजो प्रथाको वृद्धिसँगै सीमामा एसएसबीका जवानबाट हुने चर्को चेकजाँच भएको पनि बताएका छन् ।

जसले गर्दा दुई देशका मानिसहरु एकापसमा सम्बन्ध बिस्तार गर्न हिच्किचाउन थालेको उनको भनाइ छ । 'जनजनको सम्बन्ध कसरी कायम राख्न सकिन्छ । यसबारेमा बिहार सरकारले पनि दिल्लीको सरकारसँग वार्ता गर्नु जरुरी छ', उनले भनेका छन् ।'

चीनसँग नजिकिँदैमा केही हुँदैन

नेपाल पछिल्लो दिन चीनसँग नजिकिएको बारेमा बोल्दै उनले त्यसले भारतसँगको सम्बन्धमा कुनै फरक नपार्ने पनि बताए । 'नेपाल चीनसँग नजिकिँदैमा भारतसँगको सम्बन्ध बिग्रन्छ भन्ने कुरा भ्रम बढाउने सोच मात्रै हो', उनले भनेका छन्, 'यसमा कुनै सत्यता छैन । जोसुकैले पनि आफ्नो देशको विकास भएको हेर्न चाहन्छ । नेपाल पनि विकास गर्न चाहन्छ ।'

नेपाल-चीन सम्बनधबारे बोल्दै उनले जसले सहयोग गर्न चाहन्छ, उसबाट सहयोग लिनुलाई अन्याथा मान्न नहुने जिकिर गरे । 'जुन देशले जति सहयोग गर्छ, त्यो लिनलाई हिच्किचाउनु जरुरी छैन', उनले भनेका छन्, 'किनकि नेपाल एक मगन्ते या मागीखाने देश नै हो ।'

झाले जुन देशले जति सहयोग गर्छ, त्यसको आधारमा उसप्रति त्यति नै आकर्षण हुनु स्वाभाविक भएको बताए । भारत र चीनबीच केही समययता बढिरहेको तनावबारेमा बोल्दै उनले यसबाट भारतले डराउनुपर्ने कुरा नरहेको जिकिर गरे ।

उनले नेपालका कारण भारतले चीनबाट डराउनुनपर्ने पनि तर्क गरे । 'किनकि भारतलाई केही गर्नुअघि चीनले नेपालमाथि कब्जा जमाउनुपर्छ, अनि मात्रै उसले भारतमाथि हस्तक्षेप गर्न सक्छ', झाले भनेका छन्, 'जुन कुरा बिल्कुल सम्भव नै छेन ।

उनले नेपालमार्फत भारतमा हुने चलखेलबारे पनि बोलेका छन् । 'केही समययता भारतले नेपालको बाटो हुँदै आइएसआइ एजेन्टको घुसपैठको कुरा गर्दै आएको छ । यसमा कति सत्यता छ, थाहा छैन', उनले भनेका छन्, 'तर, यदि घुसपैठ भइरहेको छ भने समात्ने जिम्मेवारी त भारतकै हो । भारत आजकाल मधेस क्षेत्रलाई छोडेर पहाडी इलाकाको विकासमा अभिरुचि देखाइरहेको छ । यसका कारण मधेसीमा पनि भारतप्रति सहानुभूति घटिरहेको छ।'

भारतले वाचा पुरा गरेन

करिब २५ वर्षअघि भारतले मधेसी क्षेत्रलाई पूर्बबाट पश्चिमसम्म जोड्ने हुलाकी राजमार्ग बनाउने सम्झौता गरेको थियो । तर, उसले अहिलेसम्म कुनै काम नगरेको गुनासो पनि झाले गरेका छन् ।

यस कुरामा नेपाल सरकारले पनि भारत सरकारसँग गम्भीर वार्ता गर्नुपर्ने उनले औँल्याए । यो राजमार्ग करिब १७-१८ सय किलोमिटरको छ । यसले पुरै तराई या मधेसी क्षेत्रलाई जोड्ने बताउँदै झाले तर भारतले हुलाकी राजमार्ग नबनाएर बेटी- रोटीको सम्बन्ध बोलीमा मात्रै सीमित गरेको पनि झाले बताए ।

भाषादेखि लिएर सामाजिक तथा सांस्कृतिक परिस्थिति समान रहेको बताउँदै झाले भारतसँगको खुला सिमानाले नेपालमा तनाव बढिरहेको पनि गुनासो गरे । यसले गर्दा भारतसँगको सम्बन्धमा पनि फरक परिरहेको उनको भनाइ छ ।

यसलाई कुटनीतिक रुपमा ठीक बनाउनुपर्ने उनले जोड दिएका छन् । उनले दैनिक जागरणसँग मधेस आन्दोलनबारे पनि बोल्न भ्याए । 'अहिले मधेस आन्दोल थामिएको मात्रै हो । यदि तपाईँ मेरो केही सुनुवाइ नहुने सोच्नुहुन्छ भने फेरि मनलाई मनाउनुपर्ने हुन्छ', उनले भनेका छन्, 'अहिले यो आन्दोलन मरेको छैन । भित्रभित्रै सल्किरहेको छ ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.