वाम गठबन्धन र फोरमबीच मन्त्रालय भागबन्डा मिलेन
काठमाडौं : वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच मन्त्रालय भागबन्डा नमिल्दा बिहीबार बिहान भएको छलफल पनि बिना निष्कर्ष टुंगिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा फोरमका नेताहरूले कम्तिमा तीनवटा मन्त्रालय दावी गरेका छन् भने वाम गठबन्धन दुईवटा मन्त्रालय दिन सहमत भएको छ।
'दुईवटा मन्त्रालय दिन हामी तयार भयौँ तर उहाँहरूले तीनवटा मन्त्रालय नभइ हुन्न भन्नुभयो र पुनः छलफलको आवश्यकता देखियो', वार्ताका सहभागी एक नेताले अन्नपूर्णसँग भने।
एमाले सचिव विष्णु पौडेलले होलीको दिन भएको र नेताहरूका अन्य कार्यक्रमका कारण पुनः बस्नेगरी छलफल सकिएको बताए। 'हामी सहमतिको नजिक पुगेका छौँ', पौडेलले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले आआफ्नो दलमा आन्तरिक छलफल गरी पुनः बस्ने गरी बैठक सकिएको जानकारी दिए।
वार्तामा एमालेका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र विष्णु पौडेल सहभागी थिए।
माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा र नाराणकाजी श्रेष्ठ सहभागी थिए। फोरमका तर्फबाट वार्तामा अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठसहितका नेता सहभागी थिए।
फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले छलफल प्रगतिउन्मुख रहेको प्रतिक्रिया दिए। 'वार्तामा भएका विषयमा आआफ्ना पार्टीमा छलफल गरी पुनः बैठक बस्छौँ', श्रेष्ठले भने।
बुधबार बेलुका पनि सिहदरबामा सत्तारुणढ वाम गठबन्धन र फोरमबीच छलफल भएको थियो।