मानव अधिकारको पालनमा सरकार प्रतिबद्ध रहेको ओलीको भनाइ
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकारको पालनामा सरकार प्रतिबद्ध रहेको बताएका छन्। बेलायती राजदूत रिचर्ड मोरिससँग बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्दै प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्याय सम्बन्धि बिषयलाई टुंगोमा पुयाउन सरकारले सबै किसिमको सहयोग गर्ने बताए। ‘पीडितले न्याय पाउनेछन् र दण्डहिनताले प्रश्रय पाउने छैन’, प्रधानमन्त्री ओलीले भने, ‘सरकार कानुनी राज्यको अनुभुति गराउन प्रतिबद्ध छ।’
बेलायती प्रधानमन्त्री टेरेसा मेइले प्रधानमन्त्री ओलीलाई पठाएको बधाइ तथा शुभकामना सन्देश राजदूत मोरिसले हस्तान्तरण गरे। प्रधानमन्त्री मेइले पठाएको बधाइ पत्रमा नेपाल र बेलायतको दुई शताब्दी लामो सम्बन्धको स्मरण गर्दै यसलाई थप समुधुर बनाउन आफू उत्सुक रहेको बताए।
बधाई पत्रमा प्रधानमन्त्री मेइले नेपाल अन्तराष्ट्रिय मानव अधिकार परिषदको सदस्य रहेकोले सोही मापदण्ड अनुसार काम गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे। प्रधानमन्त्री मेइले नेपालको आर्थिक विकासको लागि बेलायत सहयोग गर्न तत्पर रहेको उल्लेख छ।
प्रधानमन्त्री ओलीले राजदूत मोरिस माफर्त बेलायती प्रधानमन्त्रीलाई आफूलाई बधाई तथा शुभकामना पठाएकोमा कृतज्ञता ज्ञापन गरेका छन्।