ओझेलमा अनाैठो गुफा

ओझेलमा अनाैठो गुफा

कालिकास्थान डोटी : आदर्श गाउँपालिका–२ कालिकास्थान साउनकाँडाको गिठागौणा जंगलमा अनौठो गुफा फेला परेको छ। गुफाभित्र विभिन्न देवीदेवताका आकृति छन्। शिवलिंग, पार्वती, गणेश, हात्तीको सुँड र नागका आकृति भेटिएका छन्। यस्ता आकृति देखिएकाले गुफालाई ‘शिवशक्ति गुफा’का नाम दिइएको छ। तर यो गुफा उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।

मानबहादुर खड्काको अध्यक्षतामा गुफा संरक्षण समितिसमेत गठन गरिएको छ। गुफा कति लामो छ भन्ने अझै यकिन हुन सकेको छैन। ‘करिब ३५ मिटर भित्रसम्म गुफाभित्र पसेको छु’, गुफा संरक्षण समितिका अध्यक्ष खड्काले भने, ‘त्यसभन्दा भित्र पनि गुफा रहेकाले कति लामो छ भन्ने यकिन गर्न सकिएको छैन।’ गुफाभित्र अँध्यारो रहेकाले उज्यालो बालेर मात्रै पस्न सकिने र कुनै भागमा फराकिलो तथा कुनै भागमा साँघुरो भाग रहेकाले पूरै भित्र पस्न नसकिने खड्काले बताए।

गुफाभित्र रहेको शिवलिंगका माथिबाट नियमित पानी खसेको दृश्य मनोरम रहेको स्थानीय बताउँछन्। गुफाभित्र पस्ने ठाउँ साँघुरा रहे पनि भित्र भने फराकिलो छ। प्रदेश स्तरमा उक्त गुफाको केही प्रचार भएकाले जिल्लाभित्रका मात्र नभई बाहिरका मानिससमेत गुफा अवलोकन गर्न आउने गरेको स्थानीयको भनाइ छ। गुफाको प्रचारप्रसार तथा धार्मिक स्थलका रूपमा समेत परिचित गराउन यस वर्षको महाशिवरात्रिका अवसरमा पाँचजना ब्राह्मणद्वारा रुद्री, चण्डी र शान्तिपाठसमेत गरिएको थियो।


गुफाको प्रचारप्रसार एवं विकास गर्न सके प्रशस्त पर्यटक भित्याउन सकिन्छ।

केही समयअघि गोठालाले उक्त गुफा फेला पारे पनि यसको उचित प्रचारप्रसार हुन सकेको छैन। त्यसैले आवश्यक प्रचारप्रसार र संरक्षण हुन सके पर्यटकीय क्षेत्र बन्न सक्ने स्थानीयको भनाइ छ। करिब छ महिनाअघि श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर स्थानीय समाजसेवी मानबहादुर खड्काले गाउँका बूढापाका, धामी, पुजारीलगायतका व्यक्तिलाई लगेर गुफाको अवलोकन गरेपछि अहिले यसबारे चर्चा सुरु भएको छ।

गुफा कति वर्ष पुरानो हो, यसको लम्बाइ कति छ, गुफाको ऐतिहासिक, पौराणिक महत्व के हो ? भन्नेबारे अहिलेसम्म कुनै किसिमको जानकारी नभएकाले त्यसको अध्ययनअनुसन्धान आवश्यक रहेको आदर्श गाउँपालिका–२ का अध्यक्ष प्रेमबहादुर बोहराले बताए। चालू आर्थिक वर्षमा पनि गुफा संरक्षणका लागि वडाबाट एक लाख रुपैयाँ छुट्याइएको छ। साथै व्यक्तिगत रूपमा ५० हजार रुपैयाँबराबरको आठ सय मिटर खानेपानी पाइप गुफा संरक्षण समितिलाई सहयोग गरेको वडाध्यक्ष बोहराले बताए।

गुफाको संरक्षणका लागि व्यक्तिगत रूपमा समेत सहयोग जुटिरहेको संरक्षण समितिले बताएको छ। गुफाबारे हालै मात्रै जानकारी पाइएको र चालू आर्थिक वर्षको बजेट विनियोजन भइसकेकाले आगामी आर्थिक वर्षमा गाउँपालिकाबाटै सहयोग गर्ने आदर्श गाउँपालिका अध्यक्ष टेकबहादुर रोकायाले बताए। गुफाको ऐतिहासिक, धार्मिक, पर्यटकीय महत्व रहेकाले यसको प्रचारप्रसार, संरक्षण, संवद्र्धनमा आफू लागिपर्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.