एकीकरणबारे राप्रपामा छलफल

एकीकरणबारे राप्रपामा छलफल

काठमाडौं : राप्रपा विभाजनको ६ महिना नपुग्दै विभाजित दलबीच एकीकरणको अनौपचारिक छलफल सुरु भएको छ। सरकारमा सहभागी हुने÷नहुने विवादले राप्रपा तीन चिरामा विभाजित भएको थियो।

प्रदेश र संघीय निर्वाचनमा विभाजित तीनै दलले लज्जास्पद पराजय बेहोरेपछि फेरि एकीकरणका लागि अनौपचारिक छलफलमा जुटेका हुन्। राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का दोस्रो तहका नेताहरू यतिबेला पार्टी एकताका लागि भन्दै छलफलमा जुटेका छन्। तीन पार्टीबीच एकीकरण नभए अस्तित्व नै समाप्त हुने भन्दै दोस्रो तहका नेताले एकीकरणका लागि पार्टी नेतृत्वमाथि दबाबसमेत दिन थालेका छन्।

राप्रपाका प्रवक्ता सुशील श्रेष्ठले तीनै दलका दोस्रो र तेस्रो तहका नेता कार्यकर्ताले एकीकरणमा जोड दिइरहेको जानकारी दिए। उनले भने, ‘ग्राउन्ड लेभलमा बसेर काम गरिरहेका साथीहरूले एकीकरण गर्नुपर्छ भनेर भनिरहनुभएको छ। उनीहरूमा एक खालको नैराश्यता देखिएको छ।’ उनले केन्द्रीय तहमा नेताहरूबीच छलफल नभए पनि अनौपचारिक रूपमा नेताहरूबीच एकताबारे निरन्तर छलफल जारी रहेको बताए। ‘पार्टी एकीकरण हतारमा गरेर पनि अर्थ छैन, यसका लागि हाम्रा आचरण, व्यवहार पनि सुध्रिनु जरुरी छ’, उनले भने, ‘हामीले ६ महिनाअघि पार्टी एकता भएसँगै विभाजनको पीडा भोगिसकेका छौं। लामो गृहकार्य आवश्यक देखिन्छ।’

राप्रपाको केही दिन अघि बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीलाई पार्टी एकीकरणका लागि आह्वान गरेको छ। लोकतान्त्रिक र राष्ट्रवादी शक्तिहरू एक ढिक्का भएर वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने आवश्यकता औल्याउँदै राप्रपाले विभाजित दुवै राप्रपालाई एकतामा आउन आग्रह गरेको हो।

राप्रपा प्रजातान्त्रिकका प्रवक्ता किरण गिरीले सबै शीर्ष नेतालाई उचित जिम्मेवारी दिने गरी छलफल चलिरहेको बताए। उनका अनुसार एकता महाधिवेशनले पारित गरेको राजनीतिक कार्यपत्रलाई सैद्धान्तिक आधार मानेर पुनः एकताका लागि पहल भइरहेको स्पष्ट पारे। राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष दीपक बोहोरा, महामन्त्री सुनिल थापालगायत नेताहरू एकीकरणबारे अनौपचारिक छलफलमा जुटेका छन्। राप्रपाका लोकेन्द्रबहादुर चन्द, दिलनाथ गिरी, केशरबहादुर विष्ट, नवराज सुवेदी, हरिबहादुर बस्नेत लगायतले पनि नेतृत्वलाई दबाब दिइरहेका छन्।

तीन वटै राप्रपाका कतिपय नेताहरूले भने पुनः पार्टी एकीकरण गर्नुभन्दा ठूला दलसँग एकीकरण गरेर अगाडि जान नेतृत्वलाई राय दिइरहेका छन्। दुई ठूला वामदलबीच पार्टी एकीकरणपछि देशमा कम्युनिस्ट र लोकतान्त्रिक गरी दुई दल अस्तित्वमा आएको भन्दै उनीहरूले वैचारिक र सैद्धान्तिक पक्ष हेरेर ठूला दलसँगै नै एकता गर्नु उत्तम हुनेमा जोड दिएका हुन्। एउटै राजनीतिक पृष्ठभूमि भए पनि शीर्ष नेताबीच सत्ता लोलुपता र नेतृत्वको लडाइँले राप्रपा बारम्बार विभाजित हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.