संसदमा विश्वासको मत माग्दै मुख्यमन्त्री

संसदमा विश्वासको मत माग्दै मुख्यमन्त्री

बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शपथ लिएको २४ दिनपछि आइतबार विश्वासको मत लिने भएका छन्। २१ दिनपछि बस्न लागेको बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने कार्यसूची रहेको छ। फागुन २ गते माओवादी केन्द्रकोे समर्थनमा मुख्यमन्त्री नियुक्ति भएका एमाले संसदीय दलका नेता पोखरेलले अर्का दिन शपथ लिएका थिए। संविधानतः मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ।

सरकारका प्रवक्ता बैजनाथ चौधरीले आइतबार बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने बताए। ‘२७ गतेको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिनुहुनेछ’, उनले भने। पोखरेललाई एमाले र माओवादी केन्द्रका ६१ सांसदको समर्थन छ। संघीय समाजवादी फोरमका ५ र राष्ट्रिय जनामोर्चाका १ सांसदले पनि समर्थन दिएपछि मुख्यमन्त्रीले दुईतिहाइ मत पाउनेछन्। उपसभामुख निर्वाचनमा वाम गठबन्धनको पक्षमा मत दिएका यी दुई दलले मुख्यमन्त्रीलाई पनि समर्थन गर्ने भएका हुन्। ‘पार्टीले केन्द्र सरकारमा सहभागी हुने निर्णय गरेकाले हामीले प्रदेशमा मुख्यमन्त्रीलाई समर्थन गर्छौ’, संघीय समाजवादी फोरमका प्रमुख सचेतक सन्तोष पाण्डेले भने, ‘सरकारमा सहभागी हुने विषयमा पनि छलफल चलिरहेको छ।’

मुख्यमन्त्रीले विश्वासको मत लिएपछि आइतबारको बैठकमा दुई वटा विधेयक टेवल हुनेछन्। सरकारले पारित गरेका आर्थिक कार्यविधि विधेयक र स्थानीय तहका पदाधिकारीको सेवा–सुविधासम्बन्धी विधेयक संसद्मा छलफल गर्न प्रस्तुत हुने भएका हुन्। कार्यव्यवस्था समितिको बैैठकबाट संसद्ले मुख्यमन्त्रीको विश्वासको मत लिनेसहित विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची तय भएको माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेले बताए।

प्रदेशको स्थायी राजधानी र नामकरणका विषयमा अझै छलफल भएको छैन। संसद्को दुईतिहाइ मतबाट राजधानी र नामकरण गर्न संवैधानिक व्यवस्था छ। बुटवल वा दाङलाई स्थायी राजधानी बनाउने विषयमा बहस चले पनि कुनै स्थानको पक्षमा दुईतिहाइ बहुमत छैन। सरकारले उचित समयमा सहमतिबाटै टुंगिने गरी राजधानी र नामकरणको एजेन्डा संसद्मा लग्ने जनाएको छ। मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै प्रदेश ५ को सरकार विस्तार हुने बताइएको छ।

चार संसदीय समिति बन्ने

प्रदेश ५ सभा सञ्चालन नियमावली मस्यौदा तयार भएको छ। मस्यौदा निर्माण समितिको शनिबार बसेको बैठकले मस्यौदाको अन्तिम रूप दिएको हो। मस्यौदामा चार संसदीय सदस्य बनाउने प्रस्ताव छ। मस्यौदा समितिका अध्यक्ष हरि रिजालका अनुसार सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत साधन, विधायन तथा आन्तरिक मामिला र सामाजिक विकास समिति बन्नेछन्।

मस्यौदा समितिले सांसदले लगाउने पोसाक पनि निर्धारण गरेको छ। पुरुषले कोट र ढाकाको टोपी तथा महिला सांसदले सारी, कोट र ढाकाको सल लगाउनुपर्ने तय गरिएको छ। यद्यपि, सांसदले जातीय पहिचान झल्किन सक्ने पोसाकसमेत लगाउन सक्ने व्यवस्था गरिएको छ। कोट र सारीको रंग भने निर्धारण गरिएको छैन।

रंग निर्धारण गर्ने जिम्मेवारी सभामुख र कार्यव्यवस्था समितिलाई दिइएको छ। मस्यौदामा संसद् बैठकको गणपूरक संख्या एक चौथाइ राखिएको छ। २१ जना सांसद उपस्थित भए प्रदेश ५ को बैठक सञ्चालन हुनेछ। मस्यौदामाथि छलफल गर्न आइतबार सांसदलाई वितरण गरिने र अर्काे संसद् बैठकमा प्रस्तुत गरिनेछ। फागुन ६ गते बसेको संसद् बैठकले एमाले सांसद रिजालको अध्यक्षतामा समिति गठन गरेको थियो। १५ दिनको म्याद पाएको समितिले २० दिनपछि मात्रै मस्यौदा बुझाएको हो।


लोगो बनाउनेलाई २५ हजार

प्रदेशसभाको लोगो निर्माण गर्न सार्वजनिक प्रतिस्पर्धा गराइने भएको छ। प्रदेशसभा सचिवालयले सार्वजनिक सूचना जारी गरी प्रदेशको विशेषता झल्किने लोगो बनाउन प्रतिस्पर्धा गराएको हो। लोगोमा रुकुमको पुथा हिमाल, धान र जौैकोवाला, बुद्धको जन्मस्थल र लुम्बिनीको शान्तिद्वीपसहित १२ जिल्लाको भाव र लैैंगिक समानता झल्किने चिह्न बनाउन आग्रह गरेको छ। उत्कृष्ट लोगोलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने संसद् सचिवालयका सचिव डा. मानबहादुर विश्वकर्माले बताए।


प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा समितिको शनिबार बसेको बैठकका सहभागी।

मुख्यमन्त्री शंकर पोखरेल।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.