नानीबाबुसँग गीता केशरीका मनका कुरा
तिमीहरू भविष्यका कर्णधार हौ। भोलि देशलाई झिलिमिली पार्ने र प्रगतिको उचाइमा पुर्याउने जिम्मेवारी पनि तिमीहरूकै काँधमा छ। हाल तिमीहरू जिज्ञासु छौ। प्रश्न गरिरहन्छौ। सदैव उत्तरको प्रतीक्षामा हुन्छांै। कहिलेकाहीँ तिम्रा अभिभावकले तिम्रो जिज्ञासा र चाहनाविपरीत सोच्नु हुन्छ। तिमीहरूलाई बुझ्न सकिरहनु भएको हुन्न। तिमीहरू पनि अभिभावकको इच्छा, चाहनाभन्दा भिन्न काम गरिरहेका हुन्छौ। त्यसैले आफ्नो लक्ष्य र चाहना अभिभावकसँग प्रष्ट राख्नुपर्छ। शिक्षक र अभिभावकको सल्लाह लिएर मात्र काम गर्नु राम्रो हुन्छ। नत्र लक्ष्य भेट्टाउन गाह्रो हुन्छ।
तिमीहरू टेलिभिजन धेरैनै हेरिरहेका हुन्छौं। हाम्रा टीभी च्यानलमा विश्वासै गर्न नसकिने विज्ञापन र कार्यक्रम देखाइन्छन्। ती बालमैत्री पनि हुँदैनन्। बरु तिमीहरूको कलिलो दिमागमा नकारात्मक असर पारिरहेका हुन्छन्। त्यसैले टीभी र सिनेमामा देखाइने दृश्यसँग हेसियार रहनुपर्छ। मोबाइल र सामाजिक सञ्जालले पनि तिमीहरूलाई एकाग्र हुनबाट रोकेको छ। हामीमा एकाग्रता खल्बलियो भने पढाइ मात्र होइन दैनिकी नै पनि बिग्रने डर हुन सक्छ। त्यसकारण यसतर्फ सचेत रहनु है।
तिमीहरू बालसाहित्य कत्तिको पढ्छौ ? बजारमा किताब पाउन गाह्रो छैन। कोर्सका किताब मात्र पढेर कहाँ पुग्छ र ? बाहिरी ज्ञान लिन सकिएन भने हाम्रो ज्ञान खोक्रो हुन्छ, अपुरो हुन्छ। पढ्ने बानीले समाज र सामाजिक पक्षबारे ज्ञान लिन सकिन्छ। जुनसुकै कुरा पनि पढेपछि लेख्ने बानी गर्नुपर्छ। पढ्नु र लेख्नु आपसमा सम्बन्धित छन्। यस बानीले मान्छेलाई लेखकीय क्षमता पनि विकास गर्छ। पढेको सम्झिन र फेरि पल्टाएर हेर्न पनि सजिलो हुन्छ।
भाइबहिनीले समाजका हरेक पक्षको जानकारी लिनु आवश्यक हुन्छ। समाजका हरेक वर्ग र समुदायका मान्छे बीचका समानता र असमानता बारे थाहा पाउनुपर्छ। यसले समाज बुझ्न सहज हुन्छ। नत्र मान्छे असामाजिक बन्ने डर हुन्छ। यस्ता कुराबारे थाहा पाउन भिन्न समुदायका चाडबाड, मेलापर्व, भाषा, साहित्यबारे जानकारी राख्नुपर्छ।
तिमीहरू टेलिभिजन धेरै नै हेरिरहेका हुन्छौं। हाम्रा टीभी च्यानलमा विश्वासै गर्न नसकिने विज्ञापन र कार्यक्रम देखाइन्छन्। ती बालमैत्री पनि हुँदैनन्।
म संयुक्त परिवारमा हुर्किएकी हुँ। हाम्रो परिवारमा करिब ३५-४० जना सदस्य थियौं। केटाकेटी नै ५-७ जना थियौं। २००७ सालको आन्दोलनको प्रभाव हामी केटाकेटीमा पनि परेको थियो। मेरी कान्छी फुपू र मेरो उमेर मात्रै एक वर्षको फरक थियो। उनले पढाइलाई निरन्तरता दिइरहिन्। तर मेरो पढाइ भने बीचैमा रोकियो।
हामी खेल्नमा भन्दा पढ्नमा समय खर्चिन्थ्यौं। बुवाहरू मिलेर टोलमा पुस्तकालय खोल्नुभएको थियो। म त्यहीँबाट किताब ल्याउने र पढेर फर्काउने गर्न थालेँ। हामीले सानैमा ठूला किताब पढेको घरमा कसैलाई मन पर्दैनथ्यो। कोर्स बाहिरका किताब त्यसमा पनि उपन्यास पढ्न ठीक होइन भन्ने मान्यता व्याप्त थियो। लुकिलुकी पढ्थेँ। पल्लो कोठाको उज्यालोमा पढ्नु पथ्र्यो। अहिले जस्तो बत्ती पनि कहाँ थियो र ?
हामी केटाकेटी स्वतन्त्र थियौं। हाम्रो ख्याल गर्ने फुर्सद नै कसलाई थियो र ? अभिभावकहरू आ-आफ्नै काममा व्यस्त थिए। आफूूभन्दा साना भाइबहिनीको रेखदेख गर्ने जिम्मा हामीलाई पनि दिइएको हुन्थ्यो हामी ध्यानपूर्वक भाइबहिनी हेथ्यौं। स्वस्थानीको कथा ध्यान दिएर सुन्थ्यौं। म त्रिभुवन विश्वविद्यालयको पहिलो ब्याचकी विद्यार्थी हुँ। नारायणी लोहनी, सेलिना रानाहरू मेरा सहपाठी थिए। हामी राजनीतिशास्त्र पढ्थ्यौं। मेरै ढिपीले पढाइ पूरा गरेपछि मात्र मेरो विवाह भयो। नत्र एमए पढुञ्जेल छोरीले बिहे नगरी बस्न कहाँ पाउँथे र ?
मेरी फुपू स्नेहलता पन्त सानैदखि साहित्य पढ्ने र लेख्ने गर्थिन्। हामीलाई पढाउने, सिकाउने पनि गर्थिन्। म पनि उनकै प्रेरणाले साहित्यमा लागेर केही उपयोगी हुन सकेकी हुँ। उनलाई बेलैमा टीभीले च्यापेर लग्यो। उनी खुबै लेख्ने गर्थिन्। त्यतिबेला छाप्ने चलन र पहुँच नै थिएन। त्यति मात्र होइन लेखेको कसैले भेटे गाली खाइन्थ्यो। उनले मात्र होइन मैलै पनि सुरुमा धेरै पटक लेख्दै, च्यात्दै, फाल्दै गरेकी छु।
जीवनमा दुई दर्जनभन्दा बढी किताब लेखेकी छु। थुप्रै पाठक कमाएकी छु। उनीहरूका प्रतिक्रिया र सल्लाहले लेख्न झन् हौसिन्छु। जीवन भनेकै सिकाइको एउटा पाटो रहेछ। पढ्न र लेख्न मै रमाएकी छु।
(साहित्यकार गीता केशरीसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित।)