कर्णालीका मन्त्रीले महिनामा दुईदिन जनतासँग श्रम गर्ने

कर्णालीका मन्त्रीले महिनामा दुईदिन जनतासँग श्रम गर्ने

सुर्खेतः कर्णालीमा प्रदेश सरकारले हरेक महिनाको दुई दिनलाई श्रम दिवसको रूपमा मनाउने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले हरेक महिनाको १ र १५ गतेलाई श्रम दिवसको रूपमा मनाउने निर्णय गरेको हो । यो निर्णयसँगै अब कर्णालीका मुख्यमन्त्री र मन्त्रीहरूले हरेक महिनाको दुईदिन जनतासँगै प्रत्यक्ष श्रम गर्नेछन् ।

श्रमप्रतिको सम्मान बढाउन र श्रम गर्न सबैलाई उत्प्रेरित गर्नका लागि प्रदेश सरकारले यस्तो निर्णय गरेको हो । श्रम दिवसको दिनमा सबै मन्त्रीहरू सार्वजनिक विकास निर्माण तथा सामाजिक काममा सहभागी हुनेछन् ।

जनतासँगै मन्त्रीहरूले अनिवार्य विकासको काममा श्रम गर्ने र प्रदेशका सांसद तथा स्थानीय तहका जनप्रतिनिधिलाई प्रत्यक्ष श्रम गर्न आग्रह गर्ने सरकारले निर्णय गरेको हो ।

सरकारका मन्त्री, सांसद र कर्मचारीहरू सडकमा निस्केर प्रत्यक्ष श्रम गर्ने र यसले सर्वसाधारणहरूमा पनि श्रम गर्न प्रेरणा मिल्ने सरकारको अपेक्षा छ ।

प्रदेश सरकारले गरेको निर्णयबारे जानकारी दिँदै सहकारी मन्त्रीसमेत रहेकी सरकारका प्रवक्ता विमला केसीले भनिन्, ‘ठूलाबडाले प्रत्यक्ष श्रम नगर्ने र पसिना बगाउन लाज मान्ने संस्कार व्याप्त छ, यसरी मुलुक समृद्ध बन्न सक्दैन । यसलाई चिर्न हामीले श्रम दिवस मनाउने निर्णय गरेका हौँ, महिनाको दुई दिन हामी मन्त्रालयबाट बाहिर निस्केर जनतासँगै काम गर्नेछौँ ।’

मन्त्री केसीका अनुसार श्रम दिवसमा जनप्रतिनिधि र सरकारका उच्च तहका कर्मचारीहरू पनि जनतासँगै श्रम गर्न सहभागी हुनेछन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने, ‘श्रमबिना समृद्धि सम्भव छैन, अब हामी सुकिला र मुकिला बनेर विकास हुँदैन । अब हामी आफैँ महिनाको दुईदिन भए पनि सडक खन्नेछौँ, हातमा गैटी लिएर जनतासँगै पसिना बगाउन काममा खट्ने छौँ ।’

श्रम दिवसले कामप्रतिको अपनत्व बढाउने उनको विश्वास छ । श्रम नगर्ने र वेरोजगार बस्ने संस्कार बढेको भन्दै यसलाई निरुत्साहित गर्न सरकारले यस्तो निर्णय गरेको मुख्यमन्त्री शाहीले बताए ।

श्रम दिवसमा मन्त्री र सरकारका उच्च तहका पदाधिकारीहरू सडकमा निस्केर पसिना बगाउने र कर्णाली प्रदेशलाई नमुना बनाउने अभियान थालिएको सरकारको भनाइ छ । सरकारका अनुसार मन्त्रीहरू श्रम दिवसको दिन आफैँ प्रदेशमा सञ्चालित विभिन्न विकास आयोजना र सामाजिक अभियानमा सहभागी भएर श्रम गर्नेछन् ।

काठमाडौँमा अन्तरक्रिया गरिने

विपन्न प्रदेशका रूपमा रहेको कर्णाली प्रदेशको विकास गर्न काठमाडौँमा अन्तरक्रिया गरिने भएको छ । कर्णाली प्रदेशको विकासका लागि काठमाडौँमा अन्तरक्रिया गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । शनिवार साँझ सम्पन्न मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

कर्णाली प्रदेशमा अहिले ५२ प्रतिशत गरिबी रेहेको छ । यही गरिबी न्यूनीकरणका लागि सङ्घीय राजधानी काठमाण्डौमा विज्ञहरूसँग अन्तरक्रिया गरिने भएको हो । जसका लागि आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीलाई समन्वय गर्ने जिम्मेवारी तोकिएको छ । अन्तरक्रियाबाट प्राप्त सुझावका आधारमा प्रदेश विकासको गुरुयोजना निर्माण गरिनेछ ।

यस्तै मन्त्रिपरिषद्को बैठकले सार्वजनिक लिखित प्रमाणिकरण सम्बन्धी नियमावली–२०७४ संंशोधन गरेको छ । मन्त्रिपरिषद्को दोस्रो बैठकले पारित गरेको नियमावली पहिलोपटक संशोधन गरिएको हो । यस्तै मन्त्रिपरिषद्का सदस्यहरूको आचारसंहिता–२०७४ पनि स्वीकृत गरिएको छ । बैठकले प्रदेश मन्त्रिपरिषद् सञ्चालन कार्यविधि पनि पारित गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.