घर नेपालमा, घाँस दाउरा गर्न भारतमा
गुलरिया : नेपाल-भारत सीमावर्ती क्षेत्रमा बसोवास गर्दै आएका गुलरिया नगरपालिका–९ टेपरीका स्थानीय दाउरा, घाँसलगायत प्राकृतिक स्रोतसाधन भारतीय वन जंगलबाट आपूर्ति गर्दै आएका छन् । सीमावर्ती नेपाली भूमिमा वनजंगल नहुँदा उनीहरूलाई भारतीय जंगलमा परर्निभर हुनुपर्ने बाध्यता छ । बर्दियाको करिब ८० किलोमिटर क्षेत्रफल भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएको छ ।
भारततर्फ कर्तनियाघाट वन्यजन्तु आरक्ष भएकाले त्यस क्षेत्रमा वन्यजन्तुलगायत जंगल संरक्षित छ । नेपाली भूभागमा बस्ती मात्र रहेकाले सीमावर्ती क्षेत्रका स्थानीय भारतीय जंगलबाट घाँस, दाउरा ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय स्वस्तिका विकले बताइन् । ‘चुलो बाल्न र वस्तुभाउका लागि घाँस स्याउला लिन अधिकांश स्थानीय भारत पुग्नुपर्ने बाध्यता छ’, विकले भनिन्, ‘भारतसँग प्राकृतिक स्रोतसाधनको परनिर्भरताले धेरै पीडा सहनुपरेको छ । घाँस, दाउरा लिन जाँदा कतिले गोली खाएका छन् कति महिला बलात्कृत भएका छन् । कहिलेकाहीँ पैसा पनि तिर्नुपर्छ ।’
भारतीय सुरक्षाकर्मीबाट गाली–गलौज खानुपरेको दुखेसो पोख्दै विकले सीमा नजिक भएकाले भारतीय सीमावर्ती बजार जाँदा नागरिकता मागेर सताउने गरेको गुनासो गरिन् । गुलरिया नगरपालिकाअन्तर्गत सीमावर्ती क्षेत्रमा रहेको टेपरी गाउँ जंगल किनारमा भएकाले जंगली जनावरले गाउँघरमा आई बाख्रा, कुखुरा मार्ने गरेको मनिसरा सुनारले जानकारी दिइन् । ‘जनावरबाट गाउँ असुरक्षित छ । जंगली जनावरले घरका वस्तुभाउ मारिदिन्छ । न क्षतिपूर्ति पाउँछौँ न त राहत नै !’
सीमावर्ती बस्तीका बासिन्दा नेपाली भूमिको रक्षक भए पनि आफूहरूको पीडा सम्बोधन गर्न राज्यले कुनै पहल नगरेको उनीहरूको गुनासो छ । बर्दियाको गुलरिया, मधुवन, राजापुर नगरपालिका र बढैयाताल गाउँपालिका भारतीय सीमासँग जोडिएका छन् । सीमावर्ती बस्तीका सबै स्थानीयको व्यथा उस्तै छ । गरिबीलगायत बेरोजगारी समस्याले सीमावर्ती क्षेत्रका स्थानीय भारतका वन जंगललगायत बजारमा निर्भर हुन बाध्य छन् ।
बलैगाउँ, बठनिया, कर्तनियालगायत बजारमा जिल्लाका विभिन्न स्थानीय तहका बासिन्दा किनमेल गर्न जाने गरेका छन् । नेपालतर्फ भने घरायसी प्रयोगका लागि भारतबाट ल्याइने सामान बिनारोकतोक भित्रिने गरेको स्थानीय बताउँछन् । सधँै विभेद, अन्याय, असमानता र त्रासमा दैनिकी गुजार्नुपरेकाले यसबारे राज्यले ध्यान दिन र समस्याको दीर्घकालीन समाधानका लागि पहन गरिदिन आग्रह गरेका छन् ।