भीरबाट खसेर कोरियाली नागरिक घाइते
गोरखा : बारपाक सुलिकोट गाउँपालिका –२ मान्द्रेको भीरबाट बिहीबार दिउँसो लडेर दक्षिण कोरीयाली नागरिक क्वाङ सिक चोङ घाइते भएका छन् । उनी भीरबाट करिब दुई सय मिटर तल खसेको स्थानीय शिक्षक गौतम गुरुङले बताए ।
उनी दक्षिण कोरियाको अम हङ्गील ह्यूमन फाउण्डेशन नामक संस्थाबाट स्थानीय भगवती प्राथमिक विद्यालयको भवन निर्माणका लागि आएका थिए । उनको टाउकोमा गहिरो चोट लागेको र हात समेत भाँचिएको शिक्षक गुरुङको भनाइ छ ।
शिक्षक गुरुङका अनुसार चोङको हेलीकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौंस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल लगिएको छ । इन्जिनियर समेत रहेका चोङ दक्षिण कोरियाको अम हङ्गील ह्यूमन फाउण्डेशनका नेपाल स्थित कन्ट्रीडाइरेक्टर हुन् ।
फाउण्डेशनको सहयोगमा निर्माणाधिन उक्त विद्यालयको आगामी आइतबार उद्घाटनको तयारी गरिएको थियो ।