आठ वर्षदेखि फुटबल मैदान अलपत्र

आठ वर्षदेखि फुटबल मैदान अलपत्र

 

धनगढी : आठ वर्षदेखि निर्माण सुरु गरिएको धनगढीको फुटबल मैदान अहिले पनि अलपत्र अवस्थामा छ। देशकै सर्वाधिक राशिको खप्तड गोल्डकप, फारवेस्ट पशुपति कपजस्ता थुप्रै फुटबल प्रतियोगिता आयोजना भइरहेको धनगढीमा आठ वर्षदेखि निर्माण भइरहेको प्यारापिटले अझै पूर्णता पाउन सकेको छैन। ‘खेल्ने मैदान त तयार छ, त्यसैले ठूलाठूला प्रतियोगिता पनि भइरहेका छन, तर दुईवटा ठेक्का गरी निर्माण भइरहेको प्यारापिटहरू भने अझै तयार हुन सकेका छैनन्’, कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंहले भने।

छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता धनगढीमा हुने निर्णय भएपछि २०६७ सालदेखि नै धनगढी रंगशालामा प्यारापिट निर्माणको काम सुरु भएको थियो। तर, साढे सात हजार दर्शक क्षमताको धनगढी रंगशाला अहिलेसम्म अलपत्र अवस्थामा छ। फुटबल मैदानको पश्चिमतिर भीआईपी प्यारापिट र पूर्वतिर निर्माणाधीन रहेका दुईवटा दर्शक प्यारापिटको निर्माण काम अलपत्र परेको हो। २०६७ सालमा काठमाडौंको दिवा निर्माण सेवाले यसका लागि ठेक्का पाएको थियो।

ठेक्का पाएको कम्पनी र राखेपबीचको विवादका कारण प्यारापिट निर्माण अलपत्र परेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिंह बताउँछन्। ‘निर्माणको जिम्मा लिएको कम्पनीको भनाइ, आफूले बढी काम गरेकाले त्यसको भुक्तानी पाउनुपर्ने रहेको छ भने राखेपले बिनाइजाजत निर्माण गरिएको कार्यको भुक्तानी दिन नमिल्ने भनेपछि विवाद उत्पन्न भएको हो’, सिंहले भने।

दुवै पक्षबीचको विवादका कारण विगत दुई वर्षदेखि प्यारापिट निर्माणका लागि बजेट पनि नआएको उनले बताए। ‘गत आर्थिक वर्षमा ३० लाख रुपैयाँ रकम आएकोमा हामीले ठूलो प्रतियोगिताका लागि शौचालय बनाउनुपर्छ भनेर त्यसमा खर्च गर्‍यौं, यसपालि आएको ७० लाख रुपैयाँ पनि काम नभएकाले फ्रिज हुने अवस्थामा छ’, सिंहले भने। भीआईपीसहितका तीनवटा प्यारापिट, उत्तर र पूर्वी गेट सहितको पर्खाल निर्माणको काम अन्तिम चरणमा पुगे पनि प्यारापिटमा प्लास्टर र फिनिसिङको काम अझै भएको छैन।

यस पटकको खप्तड गोल्डकपका लागि आयोजक सुदूरपश्चिम-११ स्पोर्टस् क्लबले तीन लाख रुपैयाँको लगानीमा अस्थायी प्यारापिट बनाएको थियो। फुटबलप्रेमीको चाप थेग्न नसकिने भएकाले झन्डै एक हजार दर्शक क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको जानकारी सुदूरपश्चिम-११ क्लबका अध्यक्ष सुरेश हमालले दिए। उनले यस क्षेत्रमा फुटबल हेर्नेको ओइरो लागे पनि प्यारापिटको अभावले सबै दर्शकलाई खेल देखाउन नसकिएको बताए। ‘हामीले मैदानभित्र बस्ने ठाउँ नभएर प्रतियोगिताभरि धेरै दिन टिकट बिक्री बन्द गर्नुपर्‍यो’, हमालले भने।

उनले प्यारापिट नबनेकै कारण आयोजकको लगानी बढिरहेको र सरकारी संरचना पनि जीर्ण बन्दै गएको बताए। ‘जिल्ला खेलकुद विकास समितिलाई हस्तान्तरण गरिएको छैन, कसले मर्मतसम्भार गर्ने भन्ने पनि टुंगो छैन, यसरी त बनेका संरचना पनि जीर्ण बन्दै जान्छ’, हमाल भन्छन्। टेन्डर राखेपले नै गर्ने भएकाले जिल्ला खेलकुद विकास समितिसँग त्यसको कुनै हरहिसाब छैन। ‘यसको सबै अनुगमन, भुक्तानी र रेखदेख राखेपले नै गर्छ’, समितिका अध्यक्ष सिंहले भने।

दिवा निर्माण सेवाका सञ्चालक उत्तम बस्नेतले साढे सात करोड रुपैयाँको पहिलो ठेक्का र त्सपछि करिब ८० लाख रुपैयाँको अर्को ठेक्का पाएका थिए। ८० लाख रुपैयाँको ठेक्का पाएको उत्तरी प्यारापिटमा भने जगबाहेकको काम नै सुरु भएको छैन। फुटबल मैदान पूर्ण नभएकाले दर्शकलाई समस्या भइरहेको वरिष्ठ फुटबल प्रशिक्षक लालबहादुर थापाले बताए। उनले राखेप र निर्माण व्यवसायीबीचको विवाद छिटै समाधान गरेर निर्माणको काम अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.