नानीबाबुसँग मनका कुरा : आईटी प्रयोग गरे भविष्य राम्रो हुन्छ
अहिलेको जमाना आईटीमैत्री छ। त्यसकारण पनि तिमीहरू भाग्यमानी छौ। तिमीहरूको प्रतिभा देख्दा खुसी लाग्छ। आईटीको जमानामा जन्मेका अधिकांश बालबालिका प्रतिभावान् भएको देख्छु। हाम्रो जमानामा आईटी भन्ने नै थिएन। सबै घोकेरै पढ्नुपथ्र्यो। तिमीहरू आईटीको प्रयोगसँगै अघि बढ्न सक्यौ भने तिमीहरूको भविष्य पनि एकदमै राम्रो हुन्छ।
हाम्रो पालामा घोकेर पढ्ने चलन भए पनि तिमीहरू त्यसो नगर्नु। कोर्ससँगै इन्टरनेटमा खोजेर पढ्न सक्छौ। इन्टरनेटमा आफूलाई चहिएको जुनसुकै सामग्री पनि भेट्टाउन सकिन्छ। देशको कुरा मात्र होइन, संसार नै इन्टरनेटमा भेट्न सकिन्छ। इन्टरनेटले संसारलाई एउटा गाउँजस्तै बनाएको छ। इन्टरनेटमा भेटिएका कुरा कापीमा टिपोट गर्दा पछि हेर्न र सम्झन पनि सजिलो हुन्छ।
आफ्नो पढाइसँगै इन्टरनेटका माध्यमबाट कुनै पनि देश या विश्वकै पनि सामाजिक कुरा, अर्थतन्त्रका कुरा, संस्कृतिका कुरा जान्न सक्छौ। विभिन्न बालकथा हेर्न सक्छौ। इन्टरनेटले धेरै कुरा सिकाउँछ। तिमीहरूलाई बौद्धिक बन्न सिकाउँछ। बाहिरी ज्ञान जीवनमा महŒवपूर्ण कुरा हो। खालि किताबका कुरा गरेर मात्र हुँदैन। आफूलाई किताबमा मात्र सीमित नराख्नु। बाहिरी संसारले पनि धेरै कुरा सिकाउँछ।
तिमीहरू इन्टरनेटका माध्यमबाट विभिन्न खालका खेलहरू हेर्न र खेल्न पनि सक्छौ। बालसाहित्यका विभिन्न बालकथा पढेर ज्ञान लिन सक्छौ। इन्टरनेटबाट धेरै सामग्री हेर्न सकिने भएकाले म तिमीहरूलाई सही ढंगले इन्टरनेट प्रयोग गरी भविष्य सुन्दर बनाउन अनुरोध गर्छु।
हाम्रो समाजमा जहिले पनि पढ् पढ् भन्ने चलन छ। अभिभावकले कति इन्टरनेटमा झुम्मिएको भन्न सक्नुहुन्छ। तर, तिमीहरूले किताबभन्दा पनि इन्टरनेबाट धेरै कुरा जान्न सक्छौ। म परीक्षामा विशिष्ट श्रेणी ल्याउनैपर्छ भन्नेमा विश्वास गर्दिनँ। तिमीहरू अलराउन्डर हुनुपर्छ। विश्व बजारमा पहिले र अहिलेमा धेरै फरक छ। अवश्य नै पढेर राम्रो अंक ल्याउनुपर्छ। नपढ्ने भन्ने पटक्कै होइन। तर, पढाइमै घोटिनुपर्छ भन्ने छैन। जति बेला पनि होमवर्क नै भनेर बस्नु उचित हुँदैन। कतिपय अवस्थामा आमाबुवाले पढाइमा दबाब दिन्छन्, त्यसो गर्न हँदैन। तिमीहरू स्मार्ट हुनुपर्छ। सूचनाप्रविधिमा विश्व नयाँ ढंगले अघि बढेको छ। तिमीहरू सधैं हरेक ढंगले चनाखो हुनुपर्ने हुन्छ।
बाल्यकाल सम्झँदा मलाई मेरो बाल्यकाल रमाइलोसँग बित्योजस्तो लाग्छ। सुखमय तरिकाले नै मेरो बाल्यकाल बितेको थियो। मैले राम्रो स्कुलमा पढ्न पाएँ। सेन्ट मेरिज स्कुल भनेको त्यति बेलाकै चर्चित स्कुल थियो। मलाई हरेक कुरा सिक्ने अवसर मेरो आमाले दिनुभएको थियो। तिमीहरूलाई पनि आमा, बुवा, दाजु, दिदीहरूले सिकाउन सक्नुहुन्छ।
त्यति बेला आईटीको जमाना थिएन। म खेल खेल्न खुब मन पराउँथे। गुच्चा, कबड्डी पनि खेलिन्थ्यो। तर, अहिले तिमीहरू भिडियो हेरेर खेल्न सक्छौ। फेसबुक हेरेर पनि रमाउन सक्छौं। कबड्डी, गुच्चा खेल्ने चलन अहिले हराएको छ, हामी वनभोज पनि खेल्ने गथ्र्यौं। अहिले ती सबै कुरा हराइरहेका छन्। त्यसतर्फ पनि तिमीहरू जान सक्छौ।
तिमीहरूले मोबाइल, कम्प्युटर चलाउँदा तिम्रो आमाबुवा रिसाउनु हुन्न। तिमीहरूले किताबमा भन्दा इन्टरनेटमा धेरै कुरा भेटिन्छ भनेर आफ्ना अभिभावकलाई सम्झाउन सक्छौ। अभिभावकले विस्तारै तिमीहरूको रुचि बुझेर इन्टरनेटबाट धेरै कुरा सिकाउन सक्नुहुन्छ। स्वास्थ्यका लागि, दिमागका लागि बाहिरी ज्ञान आवश्यक भएकाले अभिभावकले पनि त्यसतर्फ प्रोत्साहन गर्नुपर्छ।
अहिले स्कुलमा पढाउने तरिका पनि फेरिएको छ। हाम्रो पालामा किताब घोकेर मात्र पढाइन्थ्यो, अहिले ग्रुपवर्क गरेर पढाएको देख्दा खुसी लाग्छ। अभ्यास जति गरियो उति राम्रोसँग सिक्न सकिन्छ। अहिलेको समय धेरै परिवर्तन भइसकेको छ। घोकेको ज्ञान बिर्सिन सकिन्छ तर अभ्यास गरेर वा साथीसँग बसेर पढेको कुरा कहिल्यै बिर्सिन्न। तिमीहरू सधैं असल बन्नुपर्छ। सधैं ज्ञानी भएर बस्नुपर्छ। जिद्दी गर्नु हुन्न। पैसा देख्यो कि चकलेट खाने बानी गर्नु हुन्न। आफूभन्दा ठूलालाई आदर गर्न कहिल्यै भुल्न हुन्न। आफूभन्दा सानालाई माया गर्नुपर्छ। छुच्चो बन्न पनि हुन्न।
आफूले पढेको कुरा र इन्टरनेट हेरेर जानेका कुरा कापीमा टिप्नुपर्छ। यसरी टिपोट गर्ने बानीले तिमीहरूलाई सिर्जनशील बनाउन मद्दत गर्छ।
(नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्नपूर्णकर्मी तुलसी सुवेदीले गरेको कुराकानीमा आधारित)