धारो छुन पाउँदैनन् दलित महिला

धारो छुन पाउँदैनन् दलित महिला

सिमकोट : ताँजाकोट गाउँपालिका–३ रामागाउँमा अवस्थित खानेपानी धारा नछुने भएका दलित महिलाले छुन पाउँदैनन्। त्यस धारा महिनावारी भएका दलित महिलालाई छुन मनाही छ भन्ने सूचना नै लेखिएको छ।

संविधानले धर्म, वर्ण, जात, जाति, लिंग जातीय कुनै आधारमा विभेद नगर्ने कुरा स्पष्ट उल्लखे गरे पनि यो मन्दिरसहितको धारा भने महिनावारी भएकाहरूलाई छुन वञ्चित छ।

गाउँकै छेउमा भएको मूलपानीको उक्त धारो दलित र महिनावारी भएका महिलाले छोए देवता रिसाएर पानीको मूल सुक्ने भन्दै गाउँलेले अहिले पनि उक्त धारो त्यस्ता महिलालाई छुन दिएका छैनन्।

साबिकको मदना र मैला गाविसबाट सदरमुकाम सिमकोट जाने मुख्य बाटो भएको उक्त धारो छुन नदिएपछि प्यास लागे पनि धारो नदेखेझैं गरेर हिँड्नुपरेको ताँजाकोट–३ अणिखोलाकी प्यारु लुवारले दुखेसो गरिन्।

ताँजाकोट–५ की रूपकली नेपालीले धारो घेरबार गरेको ढुंगामाथि जान नदिएकोले आफ्नो जातले उक्त धारो हेरेर चित्त बुझाउनुपरेको बताइन्। उनले भनिन्, ‘धारोकै बाटो भएर गाउँपालिका केन्द्र, स्वास्थ्य संस्था जाँदा÷आउँदा प्यास लागे पनि पानी खान नपाउँदा मान्छे नै होइनौं कि भन्ने लाग्छ।’ उनी भन्छिन्, ‘प्यास लागिहाले माथिल्लो जातका मान्छे बोलाएर धारोभन्दा टाढा बसेर अञ्जुलीमा थापेर पानी खानुपरेको छ।’

‘माथिल्लो जात’का रूपमा गनिएका ठकुरी बस्ने गाउँको धारो भएकाले छुनसमेत नपाएको अमृता नेपाली भन्छिन्, ‘त्यसबेला त आफू कुकरभन्दा पनि तल्लो जातको लाग्छ।’

रामागाउँका ठकुरीले आफूलाई डुम (दलित) ले धारो छोएमा पानी सुक्ने भन्दै धारो आसपास हिँड्दा पनि गाली खानुपरेको सुनाइन्। भन्छिन्, ‘३० वर्षको अवधिमा २ पटक मात्रै माथिल्लो जातका मान्छेको भाँडोबाट हातमा पानी खन्याएर खाएको छु।’

गाउँका देवता रिसाउने भएकाले आफूले थाहा पाएको दिनदेखि नै दलित र महिनावारी भएका महिलाले धारो नछोएको बताउँछन् मैला गाविसका पूर्वअध्यक्षसमेत रहेका रामाका स्थानीय वृषबहादुर शाही। उनले पुनः भने, ‘दलितले धारो छोए पानी सुक्छ।’

५ वर्षअघि तल्लो जात र महिनावारी भएका महिलाबाट धारो छोइएकाले धारामा पानी सुकेको बताएका शाहीले पछि ब्राह्मण बोलाएर होमयज्ञ गरेपछि पानी आएको भन्दै त्यसपछि आफूले यस कुरामा विश्वास गरेको बताए। तर, रामा गाउँकै रामदेव आधारभूत विद्यालयका प्रधानाध्यापक काशीचन्द्र जैसी गाउँको धारामा दलित र महिनावारी भएका महिलालाई प्रवेशमा रोक लगाउनु अमानवीय कृत्य भएको बताउँछन्। उनले त्यसको अन्त्यका लागि स्थानीयलाई पटक पटक चेतना जगाउन खोजेको पनि बताए। आफैंले पढाउने विद्यालयको सामुन्ने यस्तो जातीय भेदभाव कायमै रहनु निकै पीडादायी भएको उनले बताए।

अन्य गाउँमा समेत जातीय विभेद उस्तै

कथित दलित र गैरदलितमाथिको विभेद ताँजाकोटका अन्य गाउँमा समेत व्याप्त छ। तल्लो जात ठानेर सार्वजनिक धारामा निर्धक्क पानी भर्न नदिइएको गुनासो ताँजाकोटका दलितले गरेका छन्। आफ्नो गाउँमा दलितका लागि बेग्लै धारो भएको बताएका ताँजाकोट–२ अणिखोलाका रिउल्या लुवारले जातीय भेदभाव पहिलेको तुलनामा केही कम भए पनि विभेद भने नहटेको बताए। आफूहरूलाई पहिलेदेखि नै दलित भनेर हेप्ने गरेको उनले बताए।

पानी भर्न गएका बेला माथिल्ला जातका कसैलाई छोएमा उनीहरूले पानीको छिटो हालेपछि मात्रै घरभित्र छिर्ने गरेको बताएका रिउल्याले आफूलाई जातीय विभेद अन्त्य नभएको बताए। उनले भने “अणिखोलामा अहिले पनि दलितका लागि बनाएको धारामामा पानी भर्न आउँछन् तर दलितलाई पानी भर्न नदिएर उल्टै डुम भनेर हटाउछन।” धारोमा पानी भर्न आप्mना वालवालिका गएका वेला माथिल्लो जातकाले पानी भरेको भाँडोमा छोएमा त्यो पानी पोखेर फेरी भर्ने गरेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.