प्रधानमन्त्रीको सचिवालयमा कटौती, ४७ बाट २८ मा झारियो
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयमा व्यापक कटौती गरेका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमार्फत प्रम ओलीले सल्लाहकारहरुको संख्यामा ठूलो मात्रामा कटौती गरेका हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय समूह छरितो बनाउन कार्यविधि पारित गरेको छ । आर्थिक मितव्ययिता अपनाउने नीतिअनुरुप प्रधानमन्त्रीको सचिवालयमा संख्या कटौती गर्ने निर्णय भएको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गाेकुल बाँस्कोटाले बताए ।
बाँसकोटका अनुसार यसअघि सचिवालयमा रहेको ४७ सदस्यबाट घटाएर अब २८ सदस्यमा झार्ने निर्णय भएको छ । यसअघि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा सचिवालय २३ बाट बढाएर ४७ सदस्यीय बनाइएको थियो ।
जुन दलको प्रधानमन्त्री बन्छ उसले आफ्नो सचिवालयमा मनलाग्दी कार्यकर्ता भर्ती गर्ने चलन थियो । तर, प्रम ओलीले आफ्नो सचिवालयमा कटौती गर्दै सल्लाकारको समूह छरितो बनाउने निर्णय गरेका हुन् ।
त्यसैगरी सरकारको कामकारबाहीलाई तीब्र र प्रभावकारी बनाउन मन्त्रिपरिषद्को मतहतमा विभिन्न पाँच विषयगत समिति गठन गरिएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक समिति, आर्थिक तथा पूर्वाधार समिति, प्रशासन समिति, समाजिक समिति र विधेयक समिति बनाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री बाँस्कोटाले जानकारी दिए ।
राज्यमन्त्री बाँस्कोटाले कतिपय सहसचिवस्तरका कर्मचारीलाई उपसचिव र त्यो भन्दा तल्लो तहमा सचिवालय सदस्य राखिने बताए ।