एसइइ परीक्षामा कडाई
राजविराज : माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहानदेखि सुरु भएको छ। सप्तरीका सबै ३६ वटै परीक्षा केन्द्रमा बिहान आठ बजेदेखि परीक्षा सुरु भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।
सप्तरीमा नियमिततर्फ आठ हजार पाँच सय ८४ र एक्जाम्टेडतर्फ एक हजार १३ गरी कुल नौ हजार पाँच सय ९७ परिक्षार्थीले परिक्षा दिइरहेको जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले जानकारी दिए।
परीक्षा केन्द्रको मुल ढोकामा सुरक्षाकर्मीहरुले चेकजाँच गरेर मात्र परिक्षार्थीलाई प्रवेश गर्न दिइएको छ। सुरक्षाकर्मीले जुत्ता, पर्स समेत खोल्न लगाएर चेकजाँच गरेका छन् भने मोबाइल फोन निषेध गरिएको छ।
जिल्लामा ३६ केन्द्राध्यक्ष, ४५ सह केन्द्राध्यक्ष, चार सय एक निरीक्षक, दुई सय १५ कार्यालय सहायक र प्रति केन्द्रमा १५ जना सुरक्षाकर्मीसहित एक हजार दुई सय ३७ जनशक्ति परिचालन गरिएको छ।
परीक्षार्थीहरुलाई परीक्षा केन्द्रबारे सही सूचना प्रवाह नहुँदा एउटाबाट अर्को परिक्षा केन्द्र धाउनु परेको गुनासो गर्दै रुपनगरकी ज्योतिकुमारी मण्डलले आफूसहित कतिपय परिक्षार्थीहरु केही ढिलो गरी पुगेको बताइन्। उनले राजदेवी माविबाट पबि मावि ओहोर दोहोर गर्दै एक घण्टा बितेको बताइन्। यसैगरी इटहरी विष्णुपुरकी अमिरकाकुमारी मण्डल, बमनगामा कट्टीका सन्तोषकुमार मण्डल, बोरियाकी लक्ष्मीकुमारी मेहता र रीनाकुमारी दासले समेत बिद्यालयका शिक्षकहरुले सही सूचना नदिँदा रोल नम्बर खोज्दै विभिन्न केन्द्र धाउनु पर्दा तनावमा परेको बताए।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको परीक्षा समन्वय समितिले परीक्षा सञ्चालनको तथा निरिक्षणलगायतको काम जिल्ला शिक्षा कार्यालयले गर्ने गरी परीक्षा सञ्चालनको व्यवस्था मिलाएको जिशिअ पाण्डेले बताए। उनले परीक्षालाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन तथा शान्त, स्वच्छ, मर्यादित रुपमा निर्भिकतापूर्वक मौलिकताका आधारमा उत्तर दिने वातावरण बनाइदिन सबैसँग सहयोगको अपेक्षा गरेका छन्।