हाँस्दै, खेल्दै, सिक्दै

हाँस्दै, खेल्दै, सिक्दै

 

रिस्ता अधिकारी अहिले ५ वर्षकी भइन्। उनी बालाजु डाँडागाउँस्थित हिम रस्मी स्कुलमा एलकेजीमा पढ्छीन्। उमेरले सानै भए पनि उनी निकै बुझकी र अनुशाशित छिन्। रिस्ता आफ्नी आमाबाबालाई धेरै माया गर्छिन्। घरमा बसेको बेलामा आमालाई घरको काम पनि सघाउनुपर्छ भन्ने उनलाई लाग्छ। अरु काम मात्रै नभई कहिलेकाहीँ त भाँडा माज्न पनि तम्सने रिस्ता भन्छिन्, ‘ममीलाई मात्र काम गर्न गाह्रो हुन्छ नि।’

विद्यालयमा पनि रमाउँदै खेल्ने उनको बानी छ। उनी आफ्ना शिक्षिकाहरुको पनि त्यतिकै माया गर्छिन्। शिक्षिकाले कक्षामा भनेको सबै मान्छिन् र खाजा खाने र खेल्ने बेलामा साथीहरुसँग पनि मिलेर खेल्छिन्। कहिलेकाही धुलोमा खेल्ने साथीहरुलाई सम्झाउँदै उनी भन्छिन् ,‘सबैले खाना खानु अगाडि हात धुनुपर्छ नि है। साबुन पानीले मिचिमिचि हात धोएन भने, पाप लाग्छ नि।’ पाप भनेको के हो नि रिस्ता भनेर साथीले सोध्दा उनको जवाफ यस्तो हुन्छ,‘ पाप भोलि बिहान मात्र थाह हुन्छ, भोलि झाडापखाला लाग्छ नि।’

भनिन्छ कुनै पनि बालबालिकाको लागि आमा नै उसको पहिला गुरु हो र घर नै पहिलो विद्यालय। रिस्ताले आफ्नो घरमा जति आफ्नो आमाबाट जति अनुशासन र संस्कारका कुराहरु सिकेकी छिन् त्यति नै आफ्नो विद्यालयबाट पनि सिकेर त्यसलाई ब्यवहारमा पनि लागु गराउँदै आएकी छिन्।

थली बस्ने मालिका शाहीकी आमा भने एक नीजि कार्यालयमा काम गर्छिन्। बिहान बेलुकी मात्रै ममीसँग केही सिक्न पाउँछिन् उनी। अन्य समय उनी विद्यालयमा हुन्छिन् र आफ्नै शिक्षकशिक्षिकासँग विद्यालयका पाठदेखि जीवनउपयोगी शिक्षाहरु सिक्छिन्। घरमा कसैको केही सामान हराए खोजिदिने जिम्मा उनकै हुन्छ। उनका भाइ ७ बर्षिय मानव एक दिन विवाहमा गएका थिए। त्यहाँ उनले के सोचे कुन्नी, एक्कासी भन्न थाले, ‘मम्मी मालिका दिज्यूको विवाह भएपछि मेरो मोजा कसले खोजिदेला।’


थली, डाँछीस्थित मिलिल्याण्ड इङलिस हाइ स्कुलमा कक्षा ३मा पढ्ने मालिका घरमा भाईको मोजा जुत्ता देखि कापी किताब र ड्रेसहरु समेत सबै जोहो गरिदिन्छिन्। उनी आफ्नो पनि कापी कलम, विद्यालयका ड्रेस मिलाउने, ओछ्यान मिलाउनेदेखि आफ्ना नियमित काम सबै आफै गर्छिन्। घरमा सबै चाँजोपाँजो मिलाउने भएरै होला उनलाई घरका सदस्य सबैले हजुरआमा भन्ने उपनाम दिएका छन्। भान्छामा छिरेर काम गर्न पाए उनी झनै खुसी हुन्छिन्। आफिसबाट थाकेर आएकी आफ्नी आमाले भाँडा माज्दै गरेको देखे तुरुन्तै गएर पखाल्न तम्सिहाल्छिन्।

नौ बर्षिया मालिका पढाईमा पनि त्यतिकै अब्बल छिन्। उनी कक्षामा प्राय दोस्रो हुन्छिन्। विद्यालयमा शिक्षकशिक्षिकाको पनि प्रिय विद्यार्थीमै गनिन्छिन् उनी। केही समय पहिले विद्यालयले आयोजना गरेको एक कार्यक्रममा उनी अनुशासित विद्यार्थीको रुपमा पुरस्कृत समेत भएकी थिइन्। हिजोआज कम्प्युटर, टेलिभिजन र मोबाइलमै झुन्डिने विद्यार्थीको भन्दा उनको दिनचर्या अलि भिन्न छ। हाम्रो गृहकार्य, पढाई र घरमा उनले गर्न सक्ने केही काम भए त्यो पनि सकाएर बचेको समयमा उनलाई मोबाइल हेर्न मन लाग्छ। तर मोबाइलमा पनि उनी प्रायः विज्ञानका विभिन्न विषयमै रुचिपूर्वक खोज्ने गर्छिन्। खेल्न मन लागे उनी आफ्नो दिदीहरु र भाइहरुलाई बोलाएर आँगनमा खेल्ने गर्छिन्।

हिजोआज आमाबाबु धेरै ब्यस्थ हुने हुनाले आफ्ना छोराछोरीलाई त्यति ध्यान दिन भ्याउँदैनन्। बालबालिका पनि अधिकाशं समय घरभन्दा विद्यालयमा नै बिताउने हुनाले कक्षाकोठामा पढाइने पाठ र विद्यालयमा दिइने वाताबरणले उनीहरुको आनीबानीमा धेरै नै प्रभाव पारेको हुन्छ। विद्यालयको प्रारम्भिक दिनहरुदेखि नै उनीहरुमा शिक्षाको साथै असल संस्कारको विकास गराउनु आजको आवश्यक रहेको डिल्लीबजारस्थित मानसी कीड्स प्यालेसकी प्रिन्सिपल सिता अर्यालले बताइन्। मानसीमा विद्यार्थीलाई बालमैत्री वाताबरणमा उनीहरुको समग्र विकासलाई ध्यानमा राखेर आफूहरुले अध्ययन अध्यापन गराउँदै आएको पनि उनको भनाई छ।
अभिभावकको ब्यस्थताले गर्दा हिजोआज बालबालिकालाई सानै उमेरमा विद्यालयमा भर्ना गरिने र उनीहरुको समय घरमा भन्दा विद्यालयमै बढी बित्ने हुनाले विद्यार्थीलाई खेलाउँदै जीवनउपयोगी शिक्षा सिकाउनुपर्ने उनले बताइन्। उनका अनुसार बालबालिकाको स्वभाबनै चन्चल हुने भएकाले उनीहरुलाई यसो गर, यसो नगर भनेर बन्देज लगाउनुभन्दा यसो गरे राम्रो हुन्छ, यसो गरे नराम्रो हुन्छ भनेर मायाले सम्झाउनुपर्छ।

विद्यालयको संख्या बढेसँगै अध्यापन पद्धतीमा पनि प्रतिस्पर्धा हुँदै गएको देखिन्छ। हिजोआज विद्यार्थीलाई कक्षाकोठाभित्र पाठ्यपुस्तकमा आधारित कोर्स मात्रै पढाउने भन्दा पनि अन्य धेरै क्षेत्रको जानकारी उनीहरुलाई दिने प्रयास धेरै विद्यालयमा गरिन्छ। विद्यार्थीको बौद्धिक विकासका साथै शाररीक विकासका लागि धेरै अतिरिक्त क्रियाकलापको पनि ब्यवस्था गरिएको हुन्छ।

विद्यार्थीलाई नै केन्द्रविन्दुमा राखेर उनीहरुलाई प्रयोगात्मक, रचनात्मक र सिर्जनात्मक सिकाईमा आफूहरुले जोड दिँदै आएको काँडाघारीस्थित अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराईले बताइन्। उनका अनुसार सिकाईलाई प्रभावकारी बनाउनका लागि विद्यार्थीले कक्षाकोठामा सिकेका कुरालाई ब्यवहारमा पनि लागु गरेर देखाउन उनीहरुलाई विद्यालयमा प्रेरित गरिन्छ।

हिजोआज अभिभावकको ब्यवस्थता र खेल्ने ठाउँको अभावले गर्दा बालबालिका घरबाहिरभन्दा भित्र नै बसेर कम्प्युटर, टेलिभिजन र मोबाइलमा रमाउने गरेको देखिन्छ। यसले गर्दा उनीहरुको स्वास्थ्यमा नकारात्मक असर पर्नुका साथै सामाजिकरण हुनबाट पनि बालबालिकालाई टाढा नै राख्छ। त्यसैले आजको दिनमा बालबालिकाको शाररिक विकासका साथै उनीहरुको सामाजिक र भावनात्मक विकासमा पनि हरेक विद्यालयले सोच्नुपर्ने प्रिन्सिपल भट्टराईको सुझाब छ।

प्रतिस्पर्धाको जमानमा प्रायः विद्यालयले भर्ना लिने समयमा आफ्नो विद्यालयलाई अब्बल देखाउनका लागि नभएका सुविधालाई समेत थपेर प्रचारबाजी गर्छन्। विद्यालयमा अध्यापनका साथै थुप्रै अतिरिक्त क्रियाकलाप गराइने पनि विद्यालयका विज्ञापनहरुमा देख्न पाइन्छ। त्यसैगरि हिजोआज त विद्यालयले विद्यार्थीलाई सामाजिकीकरण गर्न र सुसस्कारी बनाउन संस्कारयुक्त शिक्षा प्रदान गर्ने भनिएको पनि सुन्न पाइन्छ। तर विद्यालयमा भर्ना भइसकेपछि कतिपय ठाउँमा बास्तबिकता अर्कै पनि हुन सक्छ। यसको लागि विद्यालय छान्नु अगाडि त्यहाँ पहिले नै पढेका विद्यार्थी र त्यहाँबाट छाडेर जाने शिक्षकशिक्षिकालाई सोध्नु नै उत्तम उपाय रहेको शिक्षाबिद् विद्यानाथ कोइरालाले बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.