नानीबाबुसँग अंगुरबाबा जोशीका मनका कुरा

नानीबाबुसँग अंगुरबाबा जोशीका मनका कुरा

म गर्भमै हुँदा शरीरमा अक्सिजनको मात्रा कम हुने ‘थालिसिमिया माइनल’ ले गाँजेछ । अगाडि दिदी जन्मिएकी र फेरि पनि छोरी नै जन्मिएकाले परिवारमा म खासै चिज भइनछु । मेरो बुवा र काकाका गरेर हामी नौ जना केटाकेटी डिल्लीबजारको घरमा हुर्कियौं ।

ठूलो भाइ कुमुदप्रसाद पन्त, सानो भाइ कृष्णप्रसाद पन्त, दिदी र म एकै उमेरका थियौं । म अरूभन्दा सुस्त थिएँ । दिदी र भाइहरू खेलिरहन्थे । मेरो भने केबल सहभागिता मात्रै हुन्थ्यो । म बारबार मूच्र्छासमेत पर्थें । मलाई पछिसम्म सबैले लाटी र गोज्याङ््ग्री भन्थे । अढाइ वर्षमा मात्रै मेरो बोली फुटेछ ।

हाम्रो पालामा दरबार हाइस्कुल मात्र थियो । त्यहाँ केटाहरू मात्र पढ्थे । पिताजीले हामीलाई घरैमा पढ्ने व्यवस्था मिलाउनु भएको थियो । गुरुहरू आएर हामी चार जनालाई लहरै राखेर पढाउनुहुन्थ्यो । भाइहरू अंग्रेजी पढ्थे, हामी हिन्दी पढ्थ्यौं । दिदी र म लुकीलुकी अंंग्रेजी किताब पनि पढ्न थाल्यौं ।

एकदिन भाइहरूले गुरुलाई पाठ बुझाउन सकेनन् । त्यही पाठ हामीले फरर सुनाउँदा गुरुजी चकित हुनुभयो । संयोगले आमा पनि त्यहाँ आइपुग्नुभएको रहेछ । आमा र गुरुले बुवालाई अनुरोध गरेपछि हाम्रो पनि अंग्रेजी पढाइ सुरु भयो ।

भाइको व्रतबन्ध सात वर्षको उमेरमा भयो । उसलाई गुरुले गायत्री मन्त्र सुनाएको र दिनहुँ जपेको देखेपछि मलाई पनि मन्त्र जान्न कौतुहल भयो । भाइलाई फकाउँदा अरूलाई नभन्नु भनेको छ भनेर सुनाउन मान्दै मानेन । झन् गुरु पुरोहितले भन्ने कुरै भएन । शिवरात्रिको समयमा मेरै पैसाले गायत्री मन्त्र भएको सरस्वतीको फोटो किने । मन्त्र खरर भन्न सिकेँ । यो सुनेर बडीमुमाले ज्यादै गाली गर्नुभयो ।

मेरो विवाह ११ वर्षको उमेरमा हुँदा श्रीमान् १२ वर्षको हुनुहुन्थ्यो । श्रीमान् आठ महिनाको हुँदा मेरी सासू १५ वर्षकै उमेरमा विधवा हुनु भएछ । बुवा र मेरी सासूबीच मेरो पढाइलाई निरन्तरता दिने सल्लाह भएछ । मेरो श्रीमान् र मैले १९४८ मा म्याट्रिक पास गर्‍यौं ।


मान्छे बन्नका लागि शरीर मात्र भएर पुग्दैन । मनुष्यता पनि चाहिने रहेछ ।

हामी एकै पटक एसएलसी गर्ने पहिलो दम्पती हौं । हामी दुवैको विज्ञान पढ्ने चाहना थियो । श्रीमान् त्रिचन्द्र कलेजमा भर्ना हुनुभयो । छात्रा भएकै कारणले मेरो भर्ना रोकियो । विज्ञान पढ्ने मेरो रहर त्यहीँ चकनाचुर भयो ।

मलाई गायत्री मन्त्रभन्दा गाली खाएको र साइन्स पढ्न नपाएको कुराले ठूलो घाउ लागेको थियो । अध्ययन गर्दै जाँदा वैदिककालमा महिला र पुरुषका बीच विभेद नरहेको र त्यो पछि मात्रै सुरु भएको थाहा पाएँ ।

पछि हामी दुवै जना बनारस गएर पढ्यौं । एमए सकेर आएपछि पद्मकन्या कलेजमा नियुक्त भएँ । त्यसपछि बीएल गरेँ । म यहाँ एमए बीएल गर्ने पहिलो महिला हुन पुगेँ । पछि बेलायतबाट बिलिट र डिफिल पनि गरेँ । यसरी मेरा चार खाले योग्यता भए ।

हाम्रो बुवा जमिनदार हुनुहुन्थ्यो । रूपन्देहीमा उहाँको धेरै जमिन थियो । हामी तामदानमा चढेर जाडो छल्न मधेस जान्थ्यौं । कुलेखानी, भीमफेदीमा बास बस्दै रक्सोलबाट रेल चढेर भैरहवा पुग्थ्यौं । त्यहाँ हात्ती र घोडा लिएर लिएर हामीलाई लिन आउँथे ।

बाल्यावस्था भनेको जीवनकै महŒवपूूर्ण अवस्था हो । यो जीवनको जग हाल्ने समय पनि हो । यो समयमा असल काममा लाग्न सके जीवनभर उपयोगी हुन्छ । तैतेरियोपनिषद्को शिक्षावल्लीमा उल्लेखित ‘सत्यम् वद’ भन्ने उक्तिलाई सधैं मूूल मन्त्र बनाउनुपर्छ । मैले पनि आजसम्म झुटो बोलेकी छैन । योग र ध्यानको पनि चौतर्फी प्रभावकारिता हुन्छ । पाँच वर्षकै उमेरदेखि गर्न मिल्ने योग र ध्यान भाइबहिनीले पनि सिक्न जरुरी छ ।

मान्छे बन्नका लागि शरीर मात्र भएर पुग्दैन । मनुष्यता पनि चाहिने रहेछ । मानवीय गुणधर्ममा उल्लेखित धैर्य, क्षमा, आत्मसंयम, नचोर्ने बानी, पवित्रता, इन्द्रिय वशमा पार्ने गुण, विवेक, आध्यात्मिकता, सत्यनिष्ठा र नरिसाउने गुण सधैं आवश्यक हुन्छ ।

भाइबहिनीले सधैं सकारात्मक चिन्तन गर्नुपर्छ । यसले सकारात्मक भावना जगाउँछ, सकारात्मक अनुभूति हुन्छ अनि सुखानुभूति हुन्छ । दुःख र सुखको दाता कोही हुँदैन । नकारात्मक विचार गर्ने मान्छे आफ्नै शत्रु हो भन्ने बुझ्न जरुरी छ । त्यस्तै संसारमा माता, पिता र गुरुभन्दा ठूूलो कोही हुन सक्दैन ।

हामीले आफूूलाई आत्मपरीक्षण पनि गर्दै गर्नुपर्छ । आफूू कत्तिको ठीक या बेठीक छु भन्ने ख्याल गर्नुपर्छ । ईश्वर र गुरुमा विश्वास गर्ने बानी बसाल्नुपर्छ । यसले शत्मार्गमा हिँड्न प्रेरणा प्रदान गर्छ । हामीले आफूूलाई अरूसँग दाँज्नु हुँदैन । मान्छे कोही पनि विशेष हुँदैन र उस्तै पनि हुँदैन । हामीले आफ्नै मेहनतले सफलता प्राप्त गर्न सक्छौं । हामीमा लघुताभाष भयो भने प्रगती गर्न सकिँदैन । केही गर्न सक्छु भन्ने संकल्प जरुरी छ ।

भाइबहिनीले पढाइमा सधैं अब्बल हुन कोसिस गर्नुपर्छ । सदाचार, शत्विचार, शत्व्यवहार, नैतिकबल, चारित्रिक शुद्धता र आध्यात्मिक चेतनाले सुसज्जित बन्नुपर्छ । अरूप्रति सहयोगी भावना राख्नुपर्छ । यसले सुखानुभूति मिल्छ । जीवनमा उकाली, ओराली आइरहन्छन् । तर हरेश खानु हुँदैन । बाँचुन्जेल दीनदुःखी र राष्ट्रको सेवा गर्न चुक्नु हुँदैन ।

मैले जीवनमा नबिराउनु, नडराउनु भन्ने कुरालाई मूल मन्त्र ठानेकी छु । मानिसले जीवनमा अनेकौं संघर्षको सामना गर्नुपर्ने रहेछ । आत्मबल र नैतिकबलले यस्ता कुरालाई पाखा लाउनुपर्ने रहेछ ।

मैलै जीवनमा सामाजिक सेवाका माध्यमबाट भरपुर आनन्द लिएँ । १८ वर्ष पद्मकन्या कलेजमा प्रिन्सिपल हुँदा धेरै काम गर्ने र सिक्ने अवसर पाएँ । महिला संगठनको सभापतिको साथै संविधान मस्यौदा आयोगमा पनि काम गर्ने अवसर पाएँ । विभिन्न क्षेत्रका १२ सय प्रौढलाई पढाउने काम पनि गरेँ । महिला संघको केन्द्रीय अध्यक्ष भएपछि राष्ट्रिय पञ्चायत सदस्यमा उठ्न भने मानिनँ । मलाई पद, पैसा, पावर र प्रतिष्ठाले कहिल्यै आकर्षित गरेन ।

म मेरो ८७ वर्षे जीवनलाई ज्यादै सफल ठान्छु । मैले पश्चाताप गर्नुपर्ने कुनै काम गरेकी छैन । जानेर कसैलाई दुःख दिएकी र असर पुर्‍याएकी पनि छैन । भगवतदृष्टि, गुरुकृपा, योग, ध्यान, बाल्यकालको संस्कार, मेरो आत्मविश्वास, मेरा स्वर्गीय श्रीमान् प्रा.डा. बलराम जोशीको ५० वर्ष सात महिनाको सक्रिय सहयोग, बाबुआमा र सासूको सहयोगले आजसम्म म अंगुरबाबा भएर बाँचेकी छु ।

(वरिष्ठ समाजसेवी जोशीसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.