नृत्य रियालिटी शो ‘बुगीवुगी’ आजदेखि

नृत्य रियालिटी शो ‘बुगीवुगी’ आजदेखि

काठमाडौं : स्नातक अध्ययनरत रुपन्देही, बुटवलकी कविता न्यौपाने अहिले काठमाडौँमा छिन्। पढाइलाई बीचमै छोडेर उनी काठमाडौँ आउनुको कारण हो, नयाँ डान्स रियालिटी टीभी सो 'बुगी वुगी'। चर्चित अन्तर्राष्ट्रिय डान्सिङ टीभी रियालिटी सोलाई अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गतको एपीवान टेलिभिजनले अन्तर्राष्ट्रिय फ्रेन्चाइजमै पहिलो पटक नेपालमा सञ्चालन गर्ने भएपछि कविताले बुटवलदेखि काठमाडौँसम्मको यात्रा तय गरेकी हुन्।

अनलाइनबाट अडिसन दिएकी उनी सुपर–१८ मा समेत पर्न सफल भएकी छन्। लचकदार र 'नृत्यमैत्री' ज्यान भएकी उनको 'बुगी वुगी'मा हेर्नलायक प्रस्तुति छ। कविता जस्तै प्रतिभाशाली डान्सरहरूले चैत १५ गतेबाट टेलिभिजन सेटमार्फत नेपाललाई नचाउनेछन्। 'नेपालमा पनि यति ठूलो फ्रेन्चाइज सो आएपछि एकदमै खुशी लागेको छ,' कविता भन्छिन्, 'हामी 'बुगी वुगी'का पहिलो प्रतिस्पर्धी हौँ भन्ने कुराले खुशी, जोश र जाँगर उर्लिएको छ।' सुपर–१८ मा पर्न सफल अन्य प्रतियोगी पनि उनी जस्तै उत्साहित छन्, जो 'बुगी वुगी'को स्टेज प्रयोग गर्दै नेपाली नृत्य क्षेत्रको दृश्य नै परिवर्तन गर्न चाहन्छन्।

उचाइ चुम्ने आशा
अघिल्लो वर्ष एपीवान टेलिभिजनबाटै सञ्चालित गायन रियालिटी सो 'नेपाल आइडल' निकै लोकप्रिय भएपछि आएको 'बुगी वुगी'ले पनि त्यस्तै उचाइ लिने आशाले निकै उत्साहित छन्, प्रतियोगीहरू। फिल्मको हिरो बन्ने लक्ष्य छ, बाँके, नेपालगञ्जका करण शाहको।

बीबीएसको परीक्षा दिएर बसेको २२ वर्षीया उनी 'बुगी वुगी'बाट 'फेमस' भइने आशमा छन्। 'एपीवानले सञ्चालन गरेको नेपाल आइडल पनि एकदमै हिट भएको थियो,' उनी भन्छन्, 'यो कार्यक्रम पनि हिट हुन्छ। नृत्य देखाउन एउटा राम्रो प्लेटफर्म हुन्छ भन्ने लागेर यसमा भाग लिएँ। अन्तर्राष्ट्रिय फ्रेन्चाइज सो भएकाले पनि डान्स करिअरलाई यो सोले एकदमै सहयोग पुर्‍याउनेछ। फेमस भइन्छ जस्तो लाग्छ।'


करणकै जस्तो आशा छ, 'बुगी वुगी'का जज कविराज गहतराजको पनि। सोमा असाध्यै प्रतिभाशाली युवायुवती आएको उनी बताउँछन्। 'सोमा हामीले सोचेभन्दा राम्रा र प्रतिभाशाली प्रतियोगीहरू आएका छन्,' उनी भन्छन्, 'यो सो पनि 'नेपाल आइडल' जत्तिकै राम्रो हुने आशा छ। 'बुगी वुगी' मनोरञ्जन उद्योगका लागि राम्रा प्रतिभा खोज्न सहयोगी हुनेछ।'

'भिन्न र एड्भान्स्ड'
भव्य, आकर्षक र उच्चतम प्रविधियुक्त स्टुडियोमा सुपर–१८ मा पुगेका प्रतियोगीका नृत्य दर्शकले हेर्न पाउने बताउँछन्, 'बुगी वुगी'का निर्देशक एलिन श्रेष्ठ। नेपालमा अहिलेसम्म भएका रियालिटी सोभन्दा यो बिलकुलै भिन्न हुने उनको दाबी छ। 'नेपालमा अहिलेसम्म चलिरहेका रियालिटी सोभन्दा यो एकदमै भिन्न, एडभान्स्ड र गुणस्तरीय हुनेछ,' उनको दाबी छ, 'हामी अन्तर्राष्ट्रिय फ्रेन्चाइजको सबै मापदण्ड पूरा गरेर यो सो सञ्चालन गर्दैछौँ। सोमा एरियल, रोबोटिक्स लगायतका नृत्य समावेश छन्।'


नृत्यलाई जीवन्त बनाउने कोसिस गरिएकाले पनि सो रोमाञ्चक हुने र हिन्दी च्यानलमा पल्किएका नेपाली दर्शक नेपाली च्यानलतिरै फर्किने श्रेष्ठको भनाइ छ। 'नृत्यलाई जीवन्त बनाउने गरी 'एक्स्ट्रा इनपुट' दिने प्रयत्न गरेका छौँ,' उनी भन्छन्, 'नृत्यमा अभिनयलाई पनि उत्तिकै प्राथमिकता दिएका छौँ। यसबाट नेपाली दर्शकले भरपूर मनोरञ्जन पाउनेछन्। भारतीय टीभी च्यानलतिर गएका नेपाली दर्शक अब नेपाली च्यानलतिरै फर्किनेछन्।'


आर्कषणः पुरस्कार र अवसर

अनलाइनबाट आह्वान गरिएको अडिसनमा करिब तीन हजारले आवदेन दिएको 'बुगी वुगी'का सहायक निर्देशक सुरेशबाबु डीसीले जानकारी दिए। 'अडिसनमा उल्लेख्य आवेदन पर्नु पनि सोप्रति सबै आकर्षित भएको प्रमाण हो,' डीसी भन्छन्। तीन हजारबाट छनोट भएर सुपर–१८ बीच प्रतिस्पर्धा गराएर सुपर–१० सम्म पुगेपछि 'जजमेन्ट' पनि सुरु हुने निर्देशक श्रेष्ठले जानकारी दिए।

 उनका अनुसार ५० प्रतिशत मत जजको हुन्छ भने बाँकी ५० प्रतिशत दर्शकको हुनेछ। विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको उनी बताउँछन्। 'विजेताले नगद पुरस्कार १५ लाख रुपैयाँ र एउटा गाडी पाउनेछन्,' उनी भन्छन्, 'यसका साथै विजेतासँग विभिन्न कन्ट्र्याक्ट पनि गरिनेछ। सोले प्रतियोगी तथा विजेताका लागि अरू अवसर पनि सिर्जना गर्नेछ।'

प्रतियोगीहरू सोमा भाग लिन पाउनु नै ठूलो कुरा भएको मान्छन्। सुनसरी, धरानकी रेश्मा राई भन्छिन्, 'विजेता बने पनि, नबने पनि सोमा भाग लिन पाउनु नै ठूलो कुरा हो। यसले मेरो करिअरमा धेरै सहयोग पुर्‍याउने आशा लिएकी छु। 'बुगी वुगी'मा भाग लिन पाउनु नै सफलताको एउटा स्टेप हो।'

'असली सुपरस्टार दिनेछौँ' 

एलिन श्रेष्ठ निर्देशक, 'बुगी वुगी'
'बुगी वुगी'का लागि हामीले अनलाइन अडिसनबाट आह्वान गरेका थियौँ। अडिसनका लागि करिब तीन हजारको आवेदन परेको थियो। तीमध्ये हामीले १ सय ५० जनालाई छनोट गरेर काठमाडौँ बोलाएका थियौँ। उनीहरूलाई कोरियोग्राफी राउन्डमा भिडायौँ। यो राउन्डबाट १८ जना छानिए, जसलाई हामीले सुपर–१८ भनेका छौँ। सुपर–१८ बाहेक अरू तीन जनालाई पनि हामीले छोड्न सकेनौँ। ती तीन जनालाई हामी कुनै पनि बेला सोमा प्रवेश गराउनेछौँ।

सुपर– १० सम्म एक पटकमा दुई जना सोबाट बाहिरिनेछन्। सुपर–१० बाट 'जजमेन्ट' पनि सुरु हुन्छ। यसमा ५० प्रतिशत मत जजको हुन्छ भने बाँकी ५० प्रतिशत दर्शकको हुन्छ। 'बुगी वुगी'का विजेताले १५ लाख रुपैयाँ नगद पुरस्कार र एउटा गाडी पाउनेछन्। यसका साथै विभिन्न कन्ट्र्याक्ट पनि गरिनेछ।आफ्नो प्रतिभा देखाउन अब भारतीय डान्सिङ टीभी रियालिटी सो धाउनुपर्दैन।

हामीले अन्तर्राष्ट्रिय फ्रेन्चाइज सोमार्फत असली सुपरस्टार दिनेछौँ। नेपालमा अहिलेसम्म चलिरहेका रियालिटी सोभन्दा यो एकदमै भिन्न, एड्भान्स्ड र गुणस्तरीय हुनेछ। अन्तर्राष्ट्रिय फ्रेन्चाइजको सबै मापदण्ड पूरा गरेर यो सो सञ्चालन गर्दैछौँ। यसमा एरियल, रोबोटिक्सलगायत डान्स समावेश छन्। डान्स मात्रै होइन, त्यसलाई जीवन्त बनाउने गरी एक्स्ट्रा इन्पुट दिन कोसिस गरेका छौँ।

अभिनयलाई पनि उत्तिकै प्राथमिकता दिएका छौँ। यसबाट नेपाली दर्शकले भरपूर मनोरञ्जन पाउनेमा विश्वस्त छौँ। भारतीय च्यानलतिर गएका नेपाली दर्शक अब नेपाली च्यानलतिरै फर्किनेछन्। नेपालमा नृत्यलाई अझै पनि 'सिरिएसली' लिइँदैन। नृत्यमा करिअर छैन भन्ने आम धारणा छ। अब यो सोपछि त्यो धारणामा परिर्वतन आउनेछ। 'नृत्यमा पनि करिअर छ' भन्ने अवस्था सुरु हुनेछ।

बुगी वुगी जज

प्रियंका कार्की
प्रियंका कार्की नेपाली मोडल तथा अभिनेत्री हुन्। 'थ्री लभर्स'बाट फिल्म क्षेत्रमा डेब्यू गरेकी उनी अहिलेकी जल्दोबल्दो अभिनेत्री हुन्। उनले थुप्रै फिल्ममा अभिनय गरेकी छिन्।

दिलीप रायमाझी
दिलीप रायमाझी नेपाली फिल्म इन्डस्ट्रीको चर्चित नाम हो। उनी अभिनीत 'आफ्नो मान्छे' र 'दर्पणछाँया'लाई दर्शकले अत्यधिक रुचाएका थिए। दर्जनौँ फिल्ममा काम गरेका रायमाझी नृत्यकलामा पोख्त मानिन्छन्।

कविराज गहतराज
कोरियोग्राफर कविराज गहतराजले पछिल्लो समयका नेपाली फिल्मका अधिकांश गीतमा कोरियोग्राफी गरेका छन्। उनले नृत्य निर्देशन गरेका थुप्रै गीत हिट छन्।

 याे पनि पढ्नुहाेस्

यी हुन् नेपाल नचाउने सुपर-१८


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.