सानीको बर्थ डे

सानीको बर्थ डे

सानी दौडिँदै आइन् र आमाको हात समाउँदै भनिन्, ‘आमा, मेरो बर्थ डे कहिले पर्छ ? स्कुलका सबै साथीहरूले बर्थ डे मनाइसके। साथीहरूले चकलेट बाँडिसके। मैले कहिले बाँड्ने होला ? ’ आमाको ध्यान कतातिर थियो कुन्नि फ्याट्टै भनिदिनुभयो, ‘तिम्रो बर्थ डे मंसिरको ३० गते हो।’ मंसिरको ३० गते आउन कति दिन बाँकी छ भनेर सानीले आमाको हात समाउँदै फेरि सोधिन्। ‘भित्ताको क्यालेन्डरमा गएर हेर’, आमाले भन्नुभयो। सानीले हातका औंला भाँच्दै मनमनै वैशाख, जेठ, असार, साउन, भदौ, असोज, कात्तिक, मंसिरसम्म गनिन्। ‘अब मंसिर आउन एक महिना बाँकी छ’, उनले भनिन्।

shramik-baralसानी दौडेर घरभित्र गइन् र भित्ताको क्यालेन्डर नियालेर हेरिन्। क्यालेन्डरका पाना पल्टाउँदै गइन्। उनले २०७४ सालको क्यालेन्डरमा मंसिर महिनाको पानामा पुगेपछि टक्क रोकिइन्। मंसिर महिनाका गते पनि गन्दै गइन्। एक, दुई, तीन, चार गन्दै २८, २९ गनेपछि ३० गते गन्न पाइनन्। फेरि पनि गनिन् तर ३० गते फेला नै परेन। सानी क्वाँ क्वाँ रुन थालिन्। ‘आमा, क्यालेन्डरमा त मंसिरको ३० गते नै छैन। अब मेरो बर्थ डे कसरी मनाउने होला ? कहिले मनाउने होला ? ’ सानी रोएको सुनेपछि आमा दौडिदै घरभित्र पस्नुभयो। ‘सानी के भयो ? लड्यौ कि ? चोट त लागेन ? ’ आमाले एकै सासमा सोध्नुभयो। सानी रोइरहेकी थिइन्।

सानीले भनिन्, ‘आमा, यो क्यालेन्डरमा त मेरो बर्थ डे नै छैन। बाबाले मेरो बर्थ डे नभएको क्यालेन्डर किन ल्याउनुभएको नि ? मेरो बर्थ डे कहिले आउँछ ? ’ आमा अलमल पर्नुभयो। आमाले भित्ताको क्यालेन्डर हेर्नुभयो। विक्रम संवत् २०७४ सालको मंसिर महिनामा ३० गते नै रहेनछ। सानीले भनेको कुरा साँचो रहेछ। परार साल पनि थिएन। यो १० वर्षमा पाँच वर्ष मात्र सानीको बर्थ डे मनाउन पाइएको थियो। यो सालको त यादै थिएन। सानीको बर्थ डे त ३० गते नै हो। अब सानीलाई कसरी बुझाउने होला ? आमाले मनमनै सोच्नुभयो।

सानीको जन्म २०६५ साल मंसिर ३० गते भएको थियो। सानी जन्मेको दिन २०६६ सालमा एक वर्ष पुगेर पहिलो बर्थ डे मनाएका थिए। २०६७ र २०६८ सालमा सानीको बर्थ डे नै आएन। यी दुई वर्ष मंसिर २९ गतेको मात्र थियो। २०६९ र २०७० सालका मंसिर महिना ३० गतेका भएकाले सानीको बर्थ डे मनाएका थिए। २०७१ र २०७२ सालमा मंसिर महिना २९ गतेका मात्र भएकाले फेरि बर्थ डे मनाउन पाएनन्। गत वर्ष सानीको बर्थ डे धूमधामका साथ मनाएका थिए। यो वर्ष मंसिर महिना २९ दिनको मात्र रहेछ। सानीलाई कसरी बुझाउने होला ? बर्थ डे मनाउने भनेर बारम्बार भनिरहेकी छन्। आमाका मनमा कुरा खेल्न थाले। आमाले सानीलाई भन्नुभयो, ‘तिम्रो बर्थ डे यो वर्ष रहेनछ। बाबासँग सल्लाह गरौंला।’

सानी, सानीका बाबा र आमा बसेर सानीको बर्थ डेका बारेमा छलफल गरे। यो वर्ष बर्थ डे मनाउन नपाउने भयो भनेर सानीको अनुहार अँध्यारो भएको थियो। आमाले सानीको बर्थ डेका सम्बन्धमा सबै वmरा बताउनुभयो। बाबाले कुरा बुझ्नुभयो। बाबाले सानीलाई सम्झाउँदै भन्नुभयो, ‘छोरी, तिम्रो जन्म यस्तो दिनमा भयो कि हाम्रो पात्रोअनुसार तिम्रो बर्थ डे सबै वर्षमा पर्दैन। अंग्रेजी संवत्मा हरेक महिनाका दिन बराबर हुन्छन्। जन्म दिनको खासै समस्या हुँदैन। तिम्रो जन्म दिन मंसिर ३० गते हो। हाम्रो विक्रम संवत्मा हरेक महिनामा हुने दिन वर्षैपिच्छे फरक पर्ने गर्छ। तिम्रो जन्म भएको महिना मंसिर कुनै वर्ष ३० दिनको हुने गर्छ, कुनै वर्ष २९ दिनको हुने गर्छ।

यो वर्ष मंसिर महिना २९ दिनको रहेछ। तिमी जन्मेपछि पाँच वर्षमात्र हामीले तिम्रो बर्थ डे मनाउन पायौं। बाँकी चार वर्ष त तिम्रो बर्थ डे मनाउन पाएनौं।’ यसो किन भएको भनेपछि बाबाले भन्नुभयो, ‘पृथ्वीले आफ्नो अक्षलाई घुम्न २४ घन्टा लाग्छ। २४ घन्टामा दिनरात हुन्छ। पृथ्वीले सूर्यलाई एकपटक घुम्दा तीन सय ६५ दिन लाग्छ। यसलाई पृथ्वीले आफ्नो कक्षअनुसार सूर्यलाई घुमेको भनिन्छ। घुम्दा लाग्ने समयलाई एक वर्ष पनि भनिन्छ। हरेक वर्ष तीन सय ६५ दिन र केही घन्टा लाग्छ। हरेक वर्षको उब्रेको घन्टाले चार वर्षमा एक दिन बढ्ने हुन्छ। इस्वी संवत्मा चार वर्षमा फेब्रुअरी २९ दिनको अरू वर्षमा २८ दिनको हुने गर्छ तर विक्रम संवत्मा कहिले कुन महिना, कहिले कुन महिनामा पर्छ।

हाम्रो सानीको जन्म पनि मसान्तमा भएकाले यस्तो भएको हो।’ सानीले बाबाको वmरा ध्यान दिएर सुनिन् र भनिन्, ‘त्यसो भए यो वर्ष मेरो बर्थ डे नै हुँदैन त ? मेरो बर्थ डे अब कहिल्यै मनाउन पाइँदैन ? ’ बाबाले आमाको मुखतिर हेर्नुभयो। आमा पनि के भन्ने हो भनेर अलमल पर्नुभयो। बाबाले भन्नुभयो, ‘तिम्रो जन्म दिन ३० गते हो। यो यस वर्षको क्यालेन्डरमा नभए पनि जन्म तिथि त छ नि। तिम्रो जन्म तिथिका दिनलाई बर्थ डेको कार्यक्रम गर्नुपर्छ। अब हामीले तिम्रो जन्म तृतीया तिथि भएकाले सोही दिनलाई बर्थ डे मनाउनेछौं। तिम्रो बर्थ डे मंसिरको २० गते मनाउने हो।’

बाबाका कुरा सुनेपछि सानीको अनुहार उज्यालो भयो। आमा पनि खुसी हुनुभयो। सानी उफ्रिँदै भन्न थालिन्, ‘मेरो बर्थ डे २० गते हो। ३० गते नभए पनि २० गते बर्थ डे मनाउन पाइने भयो।’ उफ्रिँदैउफ्रिँदै उनी साथीहरूलाई यो कुरा सुनाउन गइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.