छोरो गुम्यो, क्षतिपूर्ति पनि आएन
फुङलिङ : सिरिजंगा गाउँपालिका याम्फुदिनका सुरेन्द्र राईका छोरा साजनको चार वर्षअघि करेन्ट लागेर मृत्यु भयो। सडकमा लत्रिएको तारबाट करेन्ट लाग्दा १३ वर्षीय छोरो गुमाएका सुरेन्द्रले अहिलेसम्म क्षतिपूर्ति पाउन सकेका छैनन्।
सुनसरीको साबिक हाँसपोसा–२ स्थित सेउती खोलाछेउ खानेपानी ट्यांकीका लागि विस्तार गरिएको ११ केभी लाइनको पोलबाट चुट्टिएको तारबाट २०७१ वैशाख ३१ गते दिउँसो करेन्ट लाग्दा साजन गम्भीर घाइते भएका थिए। त्यसपछि उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा सोही दिन घाइतेको मृत्यु भएको थियो।
विद्युत् प्राधिकरण र खानेपानी कार्यालयको लापरवाहीका कारण छोराको मृत्यु भए पनि क्षतिपूर्ति नपाएको सुरेन्द्रले बताए। ‘प्राधिकरणले छोराको मृत्यु भएलगत्तै तत्काल क्षतिपूर्ति र किरिया खर्च उपलब्ध गराउने कागज बनाएर सही गराएको थियो’, उनले भने, ‘त्यसपछि मात्र शव बुझेर दाहसंस्कार गरेको हुँ।’
विद्युतीय दुर्घटनामा ज्यान गए पाँच लाख क्षतिपूर्ति दिनुपर्ने प्रावधान छ। तर, याम्फुदिनका सुरेन्द्र राईले चार वर्षसम्म एक पैसा पाएका छैनन्।
तर, प्राधिकरण कार्यालय जाँदा खानेपानी, खानेपानी जाँदा प्राधिकरण भनेर झन्झट दिएको उनको गुनासो छ। धाउँदा नभएपछि मृतक साजनका फुपाजु धरानका जीवन राईले २०७१ साउन २९ गते प्राधिकरण वितरण केन्द्र धरानमा क्षतिपूर्तिका लागि निवेदन दिएका थिए। भदौ ४ गते प्राधिकरण धरान वितरण केन्द्रले साजनको मृत्यु विद्युतीय दुर्घटनाकै कारण भएको पुष्टि गर्दै क्षतिपूर्ति दिन खानेपानी संस्थान धरानलाई पत्र पठाएको थियो।
विद्युतीय दुर्घटना क्षतिपूर्ति नियमावली २०६७ को अनुसूची ३ मा कसैको मृत्यु भए पाँच लाख क्षतिपूर्ति दिनुपर्ने प्रावधान छ। किरिया खर्चबापत तत्काल १५ हजार दिने सहमति भएको र त्यो रकमसमेत नपाएको सुरेन्द्रको गुनासो छ।
खानेपानी संस्थान धरानका प्रमुख राम श्रेष्ठले उक्त फाइल प्रधान कार्यालयमा पठाइएको बताए। भने, ‘घटना धेरै अघि भएकाले अरू विषयमा भने मलाई थाहा छैन।’
याम्फुदिनमै मजदुरी गर्दै गुजारा चलाउने सुरेन्द्रले गाउँमा स्कुल नभएपछि छोरालाई पढाउन २०६८ सालमा धरान पठाएका थिए। छोरो गुमाएका उनी क्षतिपूर्ति पाउने आसमा धेरै पटक धरान पुगे। उनको गाउँबाट सदरमुकाम फुङलिङ आउन नै तीन दिन लाग्छ, फुङलिङबाट गाडी चढेर धरान पुग्न एक दिन।
‘आउँदा र जाँदा नै धेरै खर्च भइसक्यो’, उनले भने, ‘अब मेरो केही नलाग्ने रहेछ। अहिले आएर माथि जानु भनेका छन्। कहाँ जाने, के गर्ने, केही थाहा छैन।’