पाल्पाली चुकाउनी, भरवस्थानको रोट
चुकाउनी विशेष प्रकारको अचार हो। यो पश्चिमाञ्चल विकास क्षेत्रमा अत्यधिक प्रयोग गरिन्छ। दही र आलुबाट तयार गरिने यो अचारको सुरुआत पाल्पा जिल्लाबाट भएको मान्यता छ।
पाल्पाली नेवार जातिको पूजा, विवाह, पिकनिक तथा अन्य भोजभतेरमा पनि चुकाउनी प्रयोग गरिन्छ। त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रोफेसर राजेश्वर उदय भन्छन्, ‘नेवारी समुदायमा हुने भोजभतेरमा चुकाउनी छुटाइँदैन।’ अहिले चुकाउनीको परिकार सबै जातिले बनाएर खान्छन्।
पाल्पालीहरू जहाँजहाँ पुग्छन्, त्यहाँत्यहाँ चुकाउनी फैलिएको छ।
युवकयुवतीको रोजाइमा पर्ने गर्छ, चुकाउनी। अमिलो र विशेष स्वादको हुने हँुदा गर्मी महिनामा खाजाकै रूपमा पनि चुकाउनी प्रयोग गर्न सकिने प्रोफेसर उदय बताउँछन्। कतिपयले यो परिकारलाई पाल्पाली अचार पनि भन्ने गरेका छन्।
चुकाउनी बनाउन आवश्यक सामाग्री
- ५०० ग्राम आलु, १०० ग्राम प्याज, एक लिटर दही प्रयोग गरेर चुकाउनी बनाउन सकिन्छ।
- मेथी, बेसार, टिमुरको धुलो, खुर्सानीको धुलो, पिसेको लसुन, नुन, तोरीको तेल, हरियो धनियाँ। (आवश्यक मात्रामा )
बनाउने तरिका
- आलु उसिनेर बोक्रा निकाल्ने र तरकारीको साइजमा काटेर हाल्ने
- धनियाँ र प्याज काटेर हाल्ने
- आलुमा आवश्यक मात्रामा टिमुरको धुलो, खुर्सानी र नुन राखेर मोल्ने।
- दही हालेर घोल्ने
- प्याज, हरियो खुर्सानी मिसाउने
- ६/७ चम्चा तोरीको तेल तताउने, मेथी फुराउने र आलु र दहीको मि श्रणमा झान्ने।
- तयार भएको परिकारमा हरियो धनियाँ काटेर छर्कने, अब चुकाउनी तयार भयो। (आलु र दहीलाई केही बेर भिज्न दिँदा अमिलो स्वाद आउँछ।)
भैरवस्थानको रोट
पाल्पा जिल्लाको सदरमुकाम तानसेनबाट नौ किलोमिटर टाढा, रिब्दीकोट गाविसमा पर्ने पहाडको टुप्पोमा रहेको भैरवस्थानको मन्दिर प्रख्यात छ। ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको यो मन्दिरमा बर्सेनि लाखौं भक्तजनले पूजाआजा गर्ने गर्छन्। विसं १४६५ मा पाल्पाका राजा मुकुन्द सेनले भैरवस्थानमा मन्दिर निर्माण गरेको किंवदन्ती छ।
यो मन्दिरमा एसियाकै ठूलो त्रिशूल पनि छ। खड्गशमशेर राणाले आफ्नी रानीको चाहनाअनुसार मन्दिरभित्र सुनको जलप लगाइएको त्रिशूल बनाएको स्थानीयवासी बताउँछन्।
यो मन्दिरमा चामलको पीठोबाट बन्ने प्रकारको रोट चढाइने गरिन्छ। भैरवस्थानका धीरेन प्रधानले विगत २० वर्षदेखि मन्दिरमा चढाइने रोट पकाउने व्यवसाय गर्दै आएका छन्। उनले एक दिनमा ४० देखि चार सय वटासम्म रोट पकाएको अनुभव सुनाए। उनले भने, ‘यो मन्दिरमा पूजा गर्न आउने दर्शनार्थीले कालभैरव, बटुक भैरव र माईलाई बेग्लाबेग्लै एकएकवटा रोट चढाउने गर्छन्।’
रोट चढाएर भैरवको पूजा गरेमा काम पूरा हुने, सोचेको कुरा पुग्ने विश्वास गरिन्छ।
मन्दिरमा एक मानाका र एक पाथीका रोट चढाउने चलन छ। प्रधानका अनुसार एक मानाको एउटा रोटको १०० रुपैयाँ र एक पाथीबाट बन्ने रोटको १८ सय रुपैयाँ पर्छ। एक पाथीको एउटै रोट पकाउन गाह्रो हुने पनि उनले बताए। चामलको पीठोमा चिनी, किसमिस, काटेको नरिवल, छोकडा, ल्वाङ, सुकमेल मिसाएर परम्परागत दाउराको चुल्होमा तावामा राखेर रोट पकाइन्छ।
विशेष गरी वैशाख, मंसिर र दसैंको बेला यहाँ रोट किन्नेको भीड लाग्ने गरेको छ। अन्य दिनमा समेत दर्शनार्थी आउने गरे पनि शनिबार धेरै आउने गर्छन्। मन्दिरको भेटीबाट मात्रै बर्सेनि ५० लाख रुपैयाँको हाराहारीमा आम्दानी हुने बताइन्छ।