घन्टाघरको बिरामी समय

घन्टाघरको बिरामी समय

त्रिचन्द्र क्याम्पसको प्रांगण, विद्यार्थी यत्रतत्र छरिएका छन्। क्याम्पस भवनमा पस्दा कुनै पुरानो दुनियाँमा पसेजस्तो लाग्छ। भुइँतल्लाको बीचमा रहेको करिडोरमा रक्तदान कार्यक्रम चलिरहेको छ। सेता कोटधारी स्वास्थ्यकर्मी, रक्तदाता र अरू मानिसको आवत्जावत छ।

यत्तिकैमा छेवैमा उभिएको घन्टाघरले घन्टी बजाएर दिउँसोको १२ बजेको जनाउ दिन्छ। तर त्यहाँ भएका कसैलाई पनि घन्टाघरको घन्टीले प्रभावित गर्दैन, न त बाहिर होहल्लाका बीच हिँडिरहेका मानिस र गुडिरहेका गाडीले नै त्यो घन्टीको वास्ता गर्छन्।

बाहिरबाट हेर्दा भौतिक स्वरूप ठीकठाक देखिन्छ, रङरोगन हल्का उडेको मात्र हो। तर भित्र पसेर हेर्नासाथ थाहा हुन्छ, नयाँ रङरोगनले आफ्नो बुढ्यौली छोपेर बसेको छ, घन्टाघर। क्याम्पसको कोरिडोरबाट घन्टाघरभित्र पस्ने ढोकाले नै यसको बुढ्यौली दर्शाउँछ।

फलामको साँघुरो र घुमाउरो भर्‍याङ उक्लँदै गर्दा परेवाका बिस्टा, प्वाँख र मरेका बचेरा कुल्चँदै हिँड्नुपर्छ। भर्खरै प्वाँख पलाउन लागेका बचेरा कुल्चिइने पो हो कि भन्ने डर पनि हुन्छ। माकुराका जालो, मुसाका गुँड र फोहोरका डंगुरको झन् के कुरा।

यो साँघुरो चढाइबाट पुगिन्छ, घन्टाघरलाई प्राण दिने मेसिन भएको कोठामा। नजिकै घडीको पार्टपुर्जा राख्ने सानो कोठा छ, त्यहाँ मस्त सुतेका छन् परेवाका बच्चाहरू। तल देखिने गतिमान सहरको दृश्य पनि यहाँबाट हेर्दा अनौठो महसुस हुन्छ।

वि.सं १९८४ देखि समय गन्ती गर्दै आएको घन्टाघरको घन्टीको आवाज अचानक यो भीडमा गायब भएको छ। मानौं यहाँका परेवाले मात्र सुन्छन्, घन्टाघरको स्वर। घन्टाघरको घन्टी बज्न छाडेको पनि होइन, सुई घुम्न छाडेको पनि छैन। तर समयले सहरलाई यति कोलाहलपूर्ण बनाइदियो कि समयको भेलमा घन्टाघर स्वयम् समयहीन हुन पुग्यो।
घन्टाघरको कथा

तत्कालीन राणा प्रधानमन्त्री वीरशमशेरले इन्जिनियरद्वय कुमार राणा र किशोरनरसिंह राणालाई घन्टाघर निर्माणको लागि जापानमा तालिम लिन पठाएका थिए। उनीहरू नेपाल फर्केपछि घन्टाघरको निर्माण भएको मानिन्छ। यसमा प्रयोग भएको घडी इंग्ल्यान्डबाट ल्याइएको बताइन्छ।

सुरुसुरुमा घन्टाघरको घन्टीलाई लन्डनमा रहेको ‘बिग वेन’ घन्टाघरसँग तुलना गरिन्थ्यो। घन्टीको आवाज उपत्यकाभरि सुनिन्थ्यो। उपत्यकामै हुर्केबढेका नागरिक अगुवा तथा अर्थशास्त्री डा. देवेन्द्रराज पाण्डे घन्टाघरको त्यतिबेलाको रौनक आजसम्म सम्झिरहेका छन्। त्रिचन्द्र कलेजमै पढेका उनी र उनको समयका मानिससँग घन्टाघरको घन्टीसँग जीवनको हरेक क्रियाकलाप जोडिएको सम्झना मात्र बाँकी छ। उनी भन्छन्, ‘मेरो त बाल्यकाल नै घन्टाघरको प्रांगणमा खेल्दै बितेको हो। त्रिचन्द्र कलेज पढ्दा हामी घन्टाघरमा चढेर सहर नियाल्थ्यौ। त्यतिबेला सबैको हातमा घडी त कल्पना पनि गर्न सकिन्नथ्यो।’

२०३६÷३७ सालतिर पनि यसको रौनक घटेको थिएन। त्रिचन्द्र क्याम्पसका सहायक क्याम्पस प्रमुख सन्तबहादुर थापा त्यो समय सम्झँदै भन्छन्, ‘यसको आवाज चारैतिर प्रस्ट सुनिन्थ्यो। काठमाडौंमा कोलाहल कम थियो, प्रायः सबै मान्छे घन्टाघरको घन्टी सुनेर समयको हिसाब गर्थे। घन्टाघरले १२ बजेको संकेत गरेपछि टुँडिखेलमा तोप पड्काउने चलन थियो।’

काठमाडांैवासीलाई समयको जानकारी दिने प्रतिबिम्ब बनेको थियो, घन्टाघर। समयक्रममा घन्टाघरले पनि अनेक चोट सहनुपर्‍यो। १९९० सालको महाभूकम्पले घन्टाघरलाई पनि क्षतिग्रस्त तुल्यायो। केही समयपछि यसको पुनर्निर्माण गरियो। त्यसपछि २०३८ सालसम्म निरन्तर उपत्यकाको जीवनमा घन्टी बजाइरह्यो घन्टाघरले।

महाभूकम्पको चोट खपेको ४८ वर्षपछि २०३८ मा घन्टाघरले अर्को चोट बेहोर्नुपर्‍यो। त्यो साल आगलागीको चपेटामा पर्‍यो, घन्टाघर। भवनमा त खासै क्षति पुगेन, तर घडी भने चल्न नसक्ने गरी बन्द भयो। घडी मर्मत गर्न मिस्त्री पनि भारतबाट मगाइएको थियो। त्यसपछि कहिले चल्ने, कहिले बन्द हुने गर्दै २०४४ सम्म समय नापिरह्यो समय, घन्टाघरले।

घन्टाघर र गणेश

बलम्बुका गणेश सापकोटा २०४४ सालमा घन्टाघरको जीवनमा जोडिन आइपुगे। उनी सम्झिन्छन्, ‘२०३८ सालमा घन्टाघरमा आगलागी भएपछि यो घडी बन्दजस्तै थियो। मर्मत त भएको थियो, तर कहिले चल्थ्यो, कहिले चल्दैनथ्यो। जिम्मा लिने मान्छे कोही थिएन। २०४४ सालमा काठमाडौंमा सार्क सम्मेलन हुने भएपछि घडी चलाउने मान्छेको खोजी भयो।’

जिम्मा लिन कसैले नमानेपछि घडी चलाउने जिम्मा लिए गणेशले। उनी त्यसबेलासम्म त्रिचन्द्र क्याम्पसमै प्राविधिकको रूपमा काम गर्थे। ‘पहिलेका कर्मचारीले सामान्य सुई घुमाउन सिकाएकै आधारमा मैले जिम्मा लिएँ,’ उनी अगाडि भन्छन्, ‘घडीको रखवारी गर्ने काम त्यो बेलादेखि आजसम्म मेरै जिम्मा छ। सार्क सम्मेलनको बेला त १३ दिन १३ रात घन्टाघरमै खटेको छु म।’

अहिले त यो घडी गणेशको जीवनसाथीजस्तै भएको छ। उनी सुनाउँछन्, ‘घन्टाघरले मलाई इज्जत दिएको छ। घडी चल्यो भने मेरो जिन्दगी पनि चल्छ, रोकियो भने मेरो जिन्दगीको गति पनि रोकिन्छ।’ आफू रहुन्जेल घन्टाघरको घडी चलाउने भावुक प्रतिबद्धता छ उनको।

तर बडेमाको त्यो घडी चलाउन सजिलो भने छैन। अनुभव सुनाउँदै उनी भन्छन्, ‘घडीका कुनै पनि पार्टपुर्जा बनाउन मिल्दैन। किन्न पनि पाइँदैन। कुनै कुनै दाँती मैले यहीँ मेकानिक्सकोमा लगेर बनाउन लगाएको छु। कुनै त डोरीले बाँधेर अड्याएको छु। घडीका सबै लक बिग्रेका छन्। अरू पार्टपुर्जा पनि सद्दे छैनन्। मिति गुज्रिसकेका दाँतीहरू बंग्याएर चलाउनुपरेको छ।’

घडीको रखवारी गर्ने काममा नियुक्त हुनुअघि उनले त्यस्तो बडेमानको घडी देखेकै थिएनन्। जिम्मा लिएपछि सिक्नैपर्‍यो। अहिले त उनी यो घडीको हरेक पार्टपुर्जासँग परिचित छन्। उनी यहाँ आउँदा पनि घन्टाघरले नियमित समय दिँदैनथ्यो, दिनमा ८-१० पटक घडी बन्द हुन्थ्यो। उनको रखवारीमा भने आजसम्म उनले घडी बन्द हुन दिएका छैनन्।

घडीको सुइसँगै उनले जीवनको ३० वर्ष गुजारिसकेका छन्। ६० टेक्न लाग्दा पनि उनको जीवन घन्टाघरको घडीकै चालमा चलिरहेको छ। उनी सुनाउँछन्, ‘यो बीचमा एक रात मात्रै काठमाडौं बाहिर गएको छु म। रात बिताउनेगरी कहिल्यै पनि बाहिर जान पाएकौ छैन। घडीकै चिन्ताले डोर्‍याएर ल्याउँछ।’

घन्टाघरको घडीसँग आफ्नो पनि नाम जोडिएकोमा भने उनी खुसी छन्। घन्टाघरलाई अझै लामो समय बचाउन पाए हुन्थ्यो भन्ने चाहना पनि राख्छन्। तर घन्टाघरको अहिलेको अवस्था भने दयनीय छ। उनको गुनासो छ, ‘यसलाई मर्मत सम्भार र सरसफाइ सरकारले गरिदिए हुन्थ्यो।’

त्रिचन्द्रका सहायक क्याम्पस प्रमुख थापा पनि कुनै समय पुस्तकालयको रूपमा पनि प्रयोग भएको घन्टाघरको पुरातात्विक र ऐतिहासिक महŒव जोगाउनुपर्ने धारणा राख्छन्। भन्छन्, ‘समय थाहा पाउनकै लागि त घन्टाघरको जरुरत अब छैन। तर पुरातात्विक महत्वको घन्टाघर काठमाडौंको पहिचान भएकोले यसको संरक्षण हुनुपर्छ।’

कुनैबेला दुनियाँलाई ब्यँझाउने घन्टाघर अचेल आफैंलाई ब्यँझाउने पात्रको खोजीमा छ। बाहिरबाट ठीकै छ, भित्र पसेर कसैले नहेरे हुन्थ्यो भनेझैं लाज मान्छ, घन्टाघर। समय गन्दागन्दै कुन दिन यसको नाडीको चाल बन्द हुने हो भन्न गाह्रो छ। डोरीले बाँधेर, दाँती बंग्याएर कतिञ्जेल चल्ला घन्टाघर ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.