मोबाइल मर्मतमा कुस्त कमाइ

मोबाइल मर्मतमा कुस्त कमाइ

काठमाडौं बुद्धनगरका विनोद श्रेष्ठ सानैदेखि इलेक्ट्रोनिक्स सामानको बनावटबारे मनमा कुरा खलाइरहन्थे। त्यति मात्र होइन, घडीले कसरी सही समय दिन्छ ? रेडियोमा कसरी आवाज सुनिन्छ ? टेलिभिजनको पर्दामा कसरी दृश्य देखिन्छ ? जस्ता कुरामा पनि उनी निरन्तर घोत्लिन्थे।

यही खुल्दुलीले नै श्रेष्ठलाई रेडियो र घडी मेकानिक बनायो। त्यसपछि उनले टीभी मर्मत गर्न सिके। देशमा विस्तृत शान्तिसम्झौता भएसँगै मोबाइल पनि सर्वसाधारणका सहज पहुँचमा पुग्यो। दिन दुई गुणा रात चौगुना भनेझैं हरेकका हातहातमा मोबाइल पुगे। इलेक्ट्रोनिक्स सामानमा केही न केही समस्या आई नै हाल्छ। त्यसपछि श्रेष्ठको कामको प्रकृति पनि फेरियो। उनी मोबाइल मर्मतमा लागे।

‘प्रायः इलेक्ट्रोनिक्स सामानको बनावट उस्तैउस्तै हुन्छ। त्यसमा प्रयोग गरिएका सामानको आकार प्रकार भने फरक हुन सक्छ। त्यही क्षेत्रमा काम काम गरिरहेको हुनाले मोबाइल मर्मतमा स्थापित हुन मलाई समय लागेन,’ श्रेष्ठ आफ्नो विगत सम्झन्छन्, ‘मोबाइल मर्मतको काम धेरै हलुका हुन्छ। सफा पनि हुन्छ, टीभी र रेडियोको जस्तो फोहोरमा काम गर्नुपर्दैन।’

मोबाइल मर्मतको क्षेत्रमा उनी रोजगारीको प्रचुर सम्भावना देख्छन्। यस क्षेत्रमा कसैले मन लगाएर सिक्छ भने कामको खाँचो नहुने र आम्दानी पनि राम्रै हुने उनको ठम्याइँ छ। ‘प्राविधिक काममा सीपको आधारमा पैसा दिइन्छ। खेलीखेली महिनाको २०÷२५ हजार रुपैयाँ कमाउने प्रशस्तै छन्।’

सर्लाही, हरिऔनका गुणराज लुइँटेलले काठमाडौंमा प्लस टु पढ्न थाल्दैदेखि मोबाइल मर्मतको काम सिके। पाँच वर्षदेखि यही क्षेत्रमा लागेका उनी बीबीएससँगै सीए पनि पढिरहेका छन्। उनको बुझाइमा यो क्षेत्रमा पढेका मान्छेहरू कमै मात्र छन्। उनी सफ्टवेयरको काम गर्छन्। भन्छन्, ‘लक अनलक, फम्र्याटिङ, नेटवर्किङ, सफ्टवेयर आदिको समस्या लिएर आउनेको संख्या धेरै हुन्छ। हार्डवेयरको भन्दा यो काम सरल पनि हुन्छ। तर यसमा कम्प्युटरसम्बन्धी ज्ञान अनिवार्य हुन्छ।’

सहरका गल्लीगल्लीमा मोबाइल मर्मत केन्द्र खुलेका छन्, तिनले सहरको मात्र समस्या टारेका छन्। तर, गाउँमा मोबाइल प्रयोगकर्ता अधिक भए पनि सानातिना समस्या लिएर सहर धाउनुपर्ने बाध्यता देखेर लुइँटेल दिक्क छन्। उनी भन्छन्, ‘गाउँमा थोरै लगानीमा मोबाइल मर्मत केन्द्र खोल्ने हो भने विदेशमा गएर पसिना बगाइरहनु पर्दैन।’ राजधानीको न्युरोडस्थित ताम्राकार हाउसको एक मोबाइल पसलमा कार्यरत उनले पढाइसँगै गरेको कामले काठमाडौंमा बस्ने खर्च जुटाएका छन्।

राजधानीमै अध्ययनरत दोलखाका रञ्जित तामाङ ताम्राकार हाउसमा भेटिए। उनी आफ्ना बाबुको मोबाइल मर्मतका लागि त्यहाँ पुगेका थिए। गाउँमा मोबाइल मर्मत गर्ने ठाउँ र प्राविधिक नहुँदा दुई महिनादेखि उनका बाबु सम्पर्कविहीन भएका रहेछन्। ‘बजारमा देखाउँदा आईसी जलेको छ भनिएको मोबाइलको चार्जिङमा पो समस्या रहेछ।’ सामान्य मर्मतपछि चल्न थालेको मोबाइल देखाउँदै उनले भने। अनामनगरका प्राविधिक रोशन मुखिया भन्छन्, ‘समस्याको जरो पत्ता लगाएर काम गर्ने प्राविधिकको बजारमा अभाव छ।’

गौशालाको एक मोबाइल मर्मत सेन्टरमा भेटिएका रौतहटका सुरेन्द्र यादवको पनि समस्या उस्तै रहेछ। समयमा मर्मत केन्द्रमा पु¥याउन नसक्दा उनका दुईटा मोबाइल कामै नलाग्ने भएछन्। ‘गाउँमा बनाउने ठाउँ छैन, एउटा भाइले बनाउँथ्यो, ऊ पनि विदेशतिर गयो। यहाँ देखाउँदा मोबाइल किन्नभन्दा बढी खर्च लाग्ने रहेछ।’ उनले भर्खरै एसईई दिएको छोरालाई इलेक्ट्रोनिक्स मर्मतको काम सिकाएर छिट्टै रोजगारीमा लगाउने योजना रहेको सुनाए।

सहरका गल्लीगल्लीमा मोबाइल मर्मत केन्द्र खुलेका छन्, तिनले सहरको मात्र समस्या टारेका छन्। तर, गाउँमा मोबाइल प्रयोगकर्ता अधिक भए पनि सानातिना समस्या लिएर सहर धाउनुपर्ने बाध्यता छ।

लामो समयदेखिको अनुभवका आधारमा मोबाइल मर्मतसम्बन्धी तालिम केन्द्र खोलेका आरएन लामिछाने इलेक्ट्रोनिक्स सामानको आधारभूत ज्ञान भएका व्यक्तिलाई केही सहज हुने बताउँछन्। ‘रुचि र क्षमतामा पनि भर पर्छ। सिक्न थालेपछि मरिमेटेर लाग्ने धेरै हुन्छन्। उनीहरूलाई सिक्न बेरै लाग्दैन।’

उनको इन्स्टिच्युटमा बेसिक, एडभान्स, फुल कोर्स गरी तीन खाले कोर्स पढाइ हुन्छ। ‘सबै कोर्स पूरा गर्न ९० दिन लाग्छ। कम्प्युटरसम्बन्धी ज्ञान भएकालाई यस्ता प्राविधिक विषय पढ्न सरल हुन्छ। यो कोर्स पढिसकेको विद्यार्थी मजासँग मोबाइल मर्मत सेन्टर खोलेर काम गर्न सक्छ।’ उनी भन्छन्, ‘यति पढी सक्न करिब ५० हजार रुपैयाँ लाग्छ। तर रोजगारीको लागि चिन्ता छैन।’

अन्य प्राविधिक क्षेत्रमा जस्तै मोबाइल मर्मतको क्षेत्रमा पनि महिलाको उपस्थिति शून्य प्रायः छ। केही समयअघि ताम्राकार हाउसमा काम गरिरहेका दुई महिला प्राविधिक आजकल आउन छाडेका छन्। एक सो रुमको सेल्स शाखामा कार्यरत सपना दाहालले भनिन्, ‘केही महिना अघिसम्म मर्मत शाखामा महिला पनि देख्दा खुसी लागेको थियो। एक जनाले विवाह भएसँगै काम छाड्नुभयो, अर्को बच्चा हुने समय भएपछि आउन छाड्नुभयो।’ अरू क्षेत्रमा जस्तै यो क्षेत्रमा पनि विवाह गरेसँगै महिलाले काम छाडेको र उनीहरूको आकर्षण कम देखिन्छ।

त्यस्तै, मोबाइल मर्मतकै क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न सीटीईभीटीले तालिम सञ्चालन गर्ने गरेको छ। मोबाइल मर्मतका लागि तीन सय ९० घन्टे दुई तहका तालिम निर्धारण गरिएको छ। लेभल १ फेस मान्छेका लागि हो भने लेभल २ भने लेभल १ पास गरिसकेका अथवा तीन वर्षको अनुभव भएकालाई निर्धारित पाठ्यक्रम हो।

सीटीईभीटीको पाठ्यक्रम विकास महाशाखाका निर्देशक दीपकप्रसाद पौडेलका अनुसार यसका लागि आवश्यक खर्च तालिम प्रदान गर्ने इन्स्टिच्युटले निर्धारण गरेका हुन्छन्। आधिकारिक तथ्यांक नभए पनि सीटीईभीटीबाट मोबाइल मर्मतसम्बन्धी तालिम लिएका अधिकांश विद्यार्थीले रोजगार पाएको पौडेलको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.