चीनको यात्रामा परराष्ट्रमन्त्री, यस्ता छन् प्रमुख एजेन्डा

चीनको यात्रामा परराष्ट्रमन्त्री, यस्ता छन् प्रमुख एजेन्डा

काठमाडौँ: परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पूर्वाधार, कनेक्टिभिटी र उर्जा सरकारका प्राथमिकता रहेको र यसैको पहालका लागि आफु चीन जान लागेको जानकारी दिएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वतयारीका लागि मन्त्री ज्ञवाली बेइजिङ जान लागेका हुन् । उनले निर्वाचनपछि बनेको सरकारको विदेश नीति र प्राथमिकताबारे बेइजिङमा छलफल हुने प्रष्ट पारेका छन् । 

‘मेरो उद्धेश्य नयाँ सरकारको विदेश नीति र हाम्रा प्राथमिकताबारे चीनलाई जानकारी दिनु हो । यस्ता भ्रमणमा नेताहरुको भ्रमणको विषय पनि रहन्छ', चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा सोमबार ६ दिनको औपचारिक भ्रमणमा जानुअघि मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै मन्त्री ज्ञवालीले भने, 'चिनियाँ राष्ट्रपति सि जिङपिङको नेपाल भ्रमण र प्रधानमन्त्री ओलीको चीन भ्रमणबारेमा केन्द्रित रहन्छ ।'

मन्त्री ज्ञवालीले नेपालको प्राथमिकतामा पूर्वाधार, कनेक्टिभिटी र उर्जा रहेको उल्लेख गर्दै यसबारे चिनियाँ पक्षसँग छलफल हुने जानकारी गराए । उनले भने, ‘हाम्रा प्राथमिकताबारे चीनलाई जानकारी गराउँछौं र दुई देशबीच भइरहेका कामहरुको समिक्षा हुन्छ ।’ 

उनले रसुवागढी-केरुङ र कोरलामा क्रस बोर्डर ट्रान्समिसनलाईनको सम्भाव्यता अध्ययन भइरहेको उल्लेख गरे । आइतबार मात्र उर्जा मन्त्री बर्षामान पुनले चीनसँग क्रस बोर्डर ट्रान्समिसनलाईनमा सम्झौता हुने जानकारी दिएका थिए ।

चिनियाँ राष्ट्रपतिलाई ल्याउने कोशिश

मन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे भने केही उल्लेख नगरे पनि आफ्नो भ्रमणमा दुई देशबीच उच्चस्तरीय भ्रमणको आदान प्रदान गराउने विषयमा छलफल हुने जनाए । 

उनले भने, ‘नेपालका प्रधानमन्त्री र चीनका राष्ट्रपतिको नेपाल भ्रमणका बारेमा छलफल हुन्छ ।’ दुई देशका सरकार र राष्ट्रप्रमुखको भ्रमण यही बर्ष हुने भन्दै उनले भ्रमणको मिति भने तय भइनसकेको स्पष्ट पारे ।

मन्त्री ज्ञवालीले बुधबार चिनियाँ समकक्षी यीसंग भेट्ने कार्यक्रम छ भने लगत्तै दुई जनाले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन् । यस्तै मन्त्री ज्ञवालीले त्यहाँका राजनेतासँग भेट्ने कार्यक्रम रहेपनि कुन नेतासंग भेट हुने हो त्यसलाई भने गोप्य राखिएको छ । 

प्रधानमन्त्रीलाई भेट्ने

मन्त्री ज्ञवालीले पत्रकारहरुलाई उच्च नेतासँग पनि भेट हुने बताए तर नेताको नाम भने खुलाउन चाहेनन् । उनले भने, ‘कोसँग भेट हुने हो, बिस्तृतमा मन्त्रालयले जानकारी गराउँछ ।’ परराष्ट्र स्रोतले भने मन्त्री ज्ञवालीले चीनका प्रधानमन्त्री ली खस्याङसँग भेट हुने जनाएको छ ।

दुई बर्ष अघि चीनसँग भएका पारवहन तथा यातायातसहित १० बुँदै सम्झौताको कार्यान्वयनबारे द्धिपक्षीय छलफल हुनेसमेत उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बर्ष चीनसँग पहिलो पटक पारवहन सम्बन्धि सम्झौता गरेका थिए । 

मन्त्री ज्ञवालीले चीनसँग भएको सम्झौतालाई ऐतिहासिक भन्दै तिनको कार्यान्वयनबारे समिक्षा भइरहेको जनाए । उनले भने, ‘हामीले पनि ती सम्झौताको प्रगतिबारे अपडेट लिइरहेका छौँ, कतिपय काम सन्तोषजनक भइरहेका छन् ।’ राजनीतिक संक्रमणले विगतका सम्झौता कार्यान्वयनमा ढिलाइ भए पनि अब तीब्र गतिमा कार्यान्वयन हुनुपर्नेमा मन्त्री ज्ञवालीले जोड दिए ।

प्राथमिकतामा बीआरआई 

मन्त्री ज्ञवालीले चीनको महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) नेपालका लागि पनि महत्वपूर्ण भए पनि यसको मोडालिटीबारे छलफल भइरहेको बताए । 

उनले भने, ‘यसको मोडल के हुने भन्नेमा हामी गृहकार्यमा छौं । दुई देशबीच मोडालिटीमा टुंगो लगाएपछि यसलाई अगाडि बढाइन्छ ।’ आफ्नो देशसँग दक्षिण एसियालाई सडक सञ्जालले जोड्ने बिआरआई परियोजनालाई चीनले निकै महत्व दिएको छ । नेपालले बिआरआईमा हस्ताक्षर गरे पनि कार्यान्वयनमा चासो नदिएको चीनको गुनासो छ ।

मन्त्री ज्ञवालीले तातोपानी नाका खुलाउनेबारे चीनसँग पटक पटक छलफल भएकाले चाँडै यो नाका सुचारु हुने विश्वास व्यक्त गरे । भूकम्पपछि बन्द तातोपानी नाका खुलाउन चीनसँग सकारात्मक छलफल भइरहेको मन्त्रीको भनाई थियो । उनले भने, ‘यो दुबै देशका लागि महत्वपूर्ण नाका हो । छिट्टै अरनिको राजमार्ग हुँदै तातोपानी नाका सुचारु हुन्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.