क्यान्सर परीक्षण निःशुल्क

क्यान्सर परीक्षण निःशुल्क

काठमाडौं : महिलालाई सबैभन्दा बढी हुने पाठेघरको मुख र स्तन क्यान्सर जँचाउन अब टाढा जानु नपर्ने भएको छ । सरकारले वैशाखदेखि तीन महिनासम्म नजिकैको अस्पतालमा निःशुल्क परीक्षण गर्ने व्यवस्था गरेको छ । मातृमृत्युदरमा अपेक्षाकृत सफलता हासिल नभएपछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमाकुमारी अर्यालले ‘सुरक्षित मातृत्व विशेष अभियान’ घोषणा गर्दै एकवर्षे कार्यक्रम सार्वजनिक गरेकी हुन् । हाल नेपालमा प्रतिलाख जन्ममा २ सय ३९ जना आमाको मृत्यु हुने गरेको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाले जनाएको छ ।

राष्ट्रिय सुरक्षित मातृत्व दिवस, २०७५ का अवसरमा आयोजित कार्यक्रममा सोमबार राज्यमन्त्री अर्यालले सबै अस्पतालबाट पाठेघरको मुख र स्तन क्यान्सर परीक्षण गरिनेसमेत बताइन् ।

वैशाख, जेठ र असारको कार्यक्रम सार्वजनिक गर्दै उनले भनिन्, ‘फिस्टुलाकोसमेत निःशुल्क परीक्षण गरिनेछ ।’ त्यस्तै साउन, भदौ र असोजमा सबै पालिकामा सुरक्षित मातृत्व कोष स्थापना गरिने बताइएको छ ।

अर्यालका अनुसार मुलुकभर सात सय ५३ वटा पालिकामा ‘एक पालिका, एक सुरक्षित मातृत्व कोष’ अभियान चलाइनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति, योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठका अनुसार कोषमा स्थानीय र दातृ निकायबाट प्राप्त सहयोग जम्मा गरिनेछ ।

आकस्मिक प्रसूति सेवामा कोषको रकम उपयोग गरिनेछ । त्यसैगरी, कात्तिक, मंसिर र पुसमा किशोरकिशोरीलाई सुरक्षित मातृत्वसम्बन्धी जनचेतना फैलाउन देशव्यापी निबन्ध र वक्तृत्वकला कार्यक्रम गरिने राज्यमन्त्री अर्यालले जानकारी दिइन् । महिनावारीसम्बन्धी चेतना अभिवृद्धिका लागि पुस, माघ र फागुनमा सार्वजनिक विद्यालयमा अध्ययनरत किशोरीहरूलाई राष्ट्रव्यापी रूपमा स्यानिटरी प्याड वितरण गरिनेछ । राज्यमन्त्री अर्यालका अनुसार यो अभियान शिक्षा र क्षमता अभिवृद्धिसँग जोडिनेछ । अभियानमुखी कार्यक्रम लागू गर्न कार्ययोजना बनाई स्थानीय तहबाट प्रभावकारी कार्यान्वयन गरिने राज्यमन्त्री अर्यालले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.