प्रदेश ४ : सरकारले ल्यायो नीति तथा कार्यक्रम
पोखरा : प्रदेश ४ सरकारले नीति तथा कार्यक्रम ल्याएको छ। प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभाको बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रदेश सरकार बनेको २ महिनापछि अर्थात् असारसम्मका लागि सरकारले नीति तथा कार्यक्रम ल्याएको हो। नीति तथा कार्यक्रमले प्रदेश ४ को समृद्धिका लागि पर्यटन, ऊर्जा, कृषि र उद्योगलाई उच्च प्राथमिकतामा राखेको छ।
प्राथमिकताका चार आधारसँगै खनिज, लोकसंस्कृति, खेलकुद, शिक्षा, स्वास्थ्य र खानेपानीसहितका विषयलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको छ। नीति तथा कार्यक्रम प्रस्तुत भएपछि पत्रकारलाई सम्बोधन गर्दै प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आउँदो ५ वर्ष सरकार यही कार्यक्रममा टेकेर अघि बढ्ने बताए। ‘५ वर्षभित्र हामी कहाँ जान लागेका छौं, नीतिगत रूपमा प्रस्ट गरेका छौं’, उनले भने, ‘समृद्धिका लागि हाम्रो प्राथमिकताको क्षेत्र के हो भनेर उठाएका छौं।‘
सरकारले असारसम्मलाई कानुन तर्जुमाको चरणका रूपमा लिएको मुख्यमन्त्री गुरुङको भनाइ छ। ‘अर्काे वर्ष प्रादेशिक संरचना स्थापना वर्ष र आगामी वर्षलाई प्रादेशिक संरचना निर्माण वर्षका रूपमा कार्यान्वयन गर्नेछौं’, उनले भने।
यही नीति तथा कार्यक्रममा आधारित रहेर प्रदेश सरकारले १ अर्ब २ करोड रुपैयाँको बजेट ल्याउँदै छ।
सरकारले प्राथमिकतामा राखेको पर्यटन क्षेत्रमा विकासका लागि सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, २० लाई छिमेकी देश पर्यटन वर्ष र २२ लाई पोखरा पर्यटन वर्ष सञ्चालन गरिने उल्लेख छ। ‘पहिला आन्तरिकबाटै अभ्यास गर्दै तेस्रो मुलुकका पर्यटकसम्म जाने हो’, मुख्यमन्त्रीले भने, ‘उद्योग, पूर्वाधार र कृषि हरेकलाई पर्यटनसँग जोड्छौं।’ ऊर्जामा जलऊर्जालाई मुख्य प्राथमिकता दिँदै जैविक र वायु ऊर्जाका कार्यक्रम ल्याउने मुख्यमन्त्रीले सुनाए।
कार्यक्रममा भनिएको छ, ‘निर्माणाधीन तथा प्रस्तावित जलविद्युत् आयोजना निर्माणमा सहजीकरण गरिनेछ। संघ, प्रदेश र स्थानीय सरकारको सहलगानीमा र निजी क्षेत्रको लगानीमा जलविद्युत् तथा अन्य ऊर्जाका लागि आवश्यक अध्ययन अनुसन्धान गरिनेछ। जलाशययुक्त जलविद्युत् उत्पादन आयोजनालाई उच्च प्राथमिकता दिइनेछ।’ समृद्धि हासिल गर्न जे गरे पनि त्यसले उत्पादकत्व बढाएकै हुनुपर्ने, रोजगारी सिर्जना गरेकै हुनुपर्ने र गरिबी निवारणमा योगदान गरेकै हुनुपर्ने मुख्यमन्त्रीले बताएका छन्। ‘उत्पादित जलविद्युत्को ठूलो हिस्सा यसै प्रदेशमा रहे भए पनि सबै नागरिकमा विद्युत्को पहुँच नपुगेकाले आगामी २ वर्षमा सबै घरधुरीमा ३ स ६५ दिन र २४ सै घण्टा विद्युत् सेवा पुर्याइनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ।
मन्त्रिपरिषद्द्वारा आइतबार फाइनल गरिएको नीति तथा कार्यक्रममा मन्त्रिपरिषद्को पहिलो बैठकले गरेका महŒवपूर्ण निर्णय पनि समेटिएका छन्। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण, क्यान्सर तथा मुटु र मिर्गाैला रोग उपचार केन्द्र निर्माण, अन्तर्राष्ट्रिय खेलमैदान र कोरला—त्रिवेणी सडकलाई नीति तथा कार्यक्रमले महŒव दिएको छ।
‘प्रदेशमा लगानी बढाउन ०७५ मा लगानी सम्मेलन आयोजना गरिनेछ’, नीति तथा कार्यक्रममा उल्लेख छ, ‘प्रदेशमा लगानीमैत्री वातावरण बनाउन औद्योगिक एवं व्यावसायिक क्षेत्रलाई ऊर्जा आपूर्तिमा प्राथमिकता दिइनेछ। पेट्रोलियम पदार्थ अभाव हुन नदिन ९० हजार किलोलिटर क्षमताको भण्डारणका लागि जग्गा प्राप्ति र पूर्वाधार निर्माणमा सहजीकरण गरिनेछ।’ प्रदेश ४ का गैरआवासीय नेपालीलाई लगानी गर्न आह्वान गर्न सम्मेलन गरिने मुख्यमन्त्रीले प्रस्ट पारेका छन्।
सरकारले गाउँपालिकामा ‘मुख्यमन्त्री वातावरणमैत्री कृषि गाउँ नमुना कार्यक्रम’ थालनी गर्ने जनाएको छ। प्रदेशमा प्रांगारिक मल कारखाना खोल्ने र अर्गानिक प्रदेश बनाउने सरकारले उद्घोष गरेको छ। कृषियोग्य भूमिको अभिलेखीकरण थालनी गरिने, जमिनको चक्लाबन्दी गर्ने र जमिन बाँझो राख्नेलाई करारोपण गरी कृषिको उत्पादकत्व सुधार गरिने सरकारको कार्यक्रम छ। सर्वसाधारण नागरिकको गुनासो सुनुवाइ गर्न हेलो मुख्यमन्त्री कार्यक्रमलगायतलाई पनि सरकारले समेटेको छ।