निजी छाडेर सरकारी स्कुलमा भर्ना गर्ने बढे

निजी छाडेर सरकारी स्कुलमा भर्ना गर्ने बढे

कैलाश जोशी 

धनगढी : धनगढी आसपासका सरकारी विद्यालयमा अंग्रेजी माध्यममा पढाइ हुन थालेपछि तिनमा विद्यार्थी संख्या बढेको छ। निजी विद्यालयमा चर्को शुल्क तिर्नुपरेपछि अभिभावकले सन्ततिलाई अंग्रेजी माध्यममा सञ्चालित सरकारी स्कुलमा भर्ना गर्न थालेका हुन्।

स्थानीय विद्याभूषण बोर्डिङ स्कुलमा पढाइरहेका आफ्ना नानीलाई खगेन्द्र भण्डारीले धनगढीसँगै जोडिएको गोदावरी नगरापलिका-५ मा रहेको सरस्वती माविमा भर्ना गरे। ‘पढाइ पनि बोर्डिङ स्कुलकै जस्तो हुँदो रहेछ, पैसा पनि धेरै खर्च नहुने’, उनले भने। उनी स्थानीय नवज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्।

खगेन्द्रजस्तै आशा थापा र शान्ति रावलले पनि आफ्ना सन्तानलाई स्थानीय ब्राइट फ्युचर स्कुलबाट छुटाएर सरस्वती माविमा भर्ना गरेका छन्। पछिल्लो समय कैलालीका धेरैजसो सरकारी विद्यालयले अंग्रेजी माध्यममा पढाइ थालेका छन्। ‘बोर्डिङमा पढेकाले जत्तिकै नातिले फरर अंग्रेजी बोल्छ, नेपाली पनि उत्तिकै राम्रो छ’, गतवर्ष नातिलाई बोर्डिङबाट सरकारी स्कुलमा सारेकी अभिभावक आशा थापाले भनिन्, ‘रातदिन नभनी कमाएको पैसाको बिटो बुझाउनुपथ्र्याे, अहिले तिरेको पैसा त आँखै लाग्दैन।’

धनगढी उपमहानगरपालिकाका थप दुई सरकारी विद्यालयमा पनि यस शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा पढाइ हुने भएको छ।

विद्यालयले विद्यार्थीसँग शुल्क त उठाउँदैन। तर विद्यालय चलाउन पुग्ने गरी अभिभावकसँग सहयोग लिइरहेको छ। ‘हामीलाई नाफा कमाउनु छैन, शिक्षकलाई तलब पुग्ने गरी मात्रै सस्तो शुल्क लगाएका छौं’, प्राचार्य योगेन्द्र ओझाले भने, ‘अभिभावकसँग बोर्डिङको जसरी पैसा चुस्नुपरेको छैन।’

धनगढी उपमहानगरपािलकाका थप दुई सरकारी विद्यालयमा पनि यस शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा पढाइ हुने भएको छ। धनगढीको वडा नं ६ बैयाबेहडीमा रहेको शारदा माविले यसै वर्षदेखि अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेपछि नाम चलेका बोर्डिङ स्कुलबाट विद्यार्थी भर्ना भएका छन्।

सरकारी विद्यालयमा विद्यार्थी घट्दै जान थालेपछि अंग्रेजी माध्यमबाट पढाइ गर्ने योजना बनाएको विद्यालयका प्रधानाध्यापक तेजबहादुर सिंहले बताए। ‘सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गयो, गत वर्ष पनि धेरै विद्यार्थी अंग्रेजी माध्यमबाट पढ्ने भनी आएका थिए। तर सुरु गर्न सकेनौँ’, उनले भने, ‘यस वर्ष सुरु गरेका छौँ। धेरै विद्यार्थी बोर्डिङ छाडेर भर्ना भइसकेका छन्।’

धनगढीको पुरानो सरकारी विद्यालय पञ्चोदय माविले पनि यस पटकदेखि अंग्रेजी माध्यममा पढाइ सुरु गर्ने भन्दै भर्ना लिइरहेको छ। ‘विद्यार्थीहरू अंग्रेजी माध्यममा पढ्न चाहन्छन्, त्यसैले यस पटकदेखि अंग्रेजी माध्यममा भर्ना लिन सुरु गरेका छौ’, विद्यालयका प्रधानाध्यापक पदमसिंह कुवँरले भने, ‘यस वर्षदेखि एकदेखि १० कक्षासम्म एउटा÷एउटा सेक्सनमा अंग्रेजी माध्यममा पढाइ गरिनेछ।’

बोर्डिङहरूले लिने महँगो शुल्कका कारण सरकारी विद्यालय भर्ना गर्नुपरेको अभिभावक कुल विष्टले बताए। ‘सरकारीमा पनि बोर्डिङ स्कुलसरह पढाइ हुन थालेपछि किन महँगो शुल्क तिर्नु’, उनले प्रश्न गरे, ‘सरकारी विद्यालयले गुणस्तरमा ध्यान दिए विद्यार्थी बढ्छन्।’ कैलालीमा दर्जनभन्दा बढी विद्यालयले अंग्रेजी माध्यममा अध्यापन गराउन थालेका छन्।

विद्यार्थीबाट माग आएपछि अंग्रेजी माध्यमबाट पढाइ गर्न थालिएको धनगढीस्थित त्रिनगर माध्यामिक विद्यालयका प्रधानाध्यापक गणेशदत्त भट्टले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.