छामेर-सुँघेर माछा परीक्षण

छामेर-सुँघेर माछा परीक्षण

बिर्तामोड : काँकडभिट्टा नाकास्थित पशु क्वारेन्टाइन चेक पोस्टमा प्रयोगशाला छैन। भारतबाट आयातीत माछा प्राविधिकले सुँघेर अनि छामेकै भरमा परीक्षण गर्छन्। माछाको स्वास्थ्य परीक्षण रिपोर्ट पनि त्यसकै आधारमा तयार हुने गरेको पाइएको छ।

दैनिक ठूलो परिमाणमा भारतीय माछा भित्रिने गर्छ। क्वारेन्टाइनका प्रविधिकले स्थापनाकालदेखि नै आयातीत माछालाई छामेर वा सुँघेरै जाँच्ने गरेका हुन्। नाकामा प्रयोगशाला खोल्न सरकारले चासो नदिएको जनाइएको छ।

क्वारेन्टाइनले विगतमा आयातीत माछालाई क्वारेन्टाइन पास गरिदिएर नमुना संकलन गरी विराटनगरस्थित प्रयोगशालामा पठाउने गरेको थियो। तर, त्यसको रिपोर्ट आउन एक महिना लाग्ने हुँदा छामेर, सुँघेर र हेरेकै भरमा माछा ल्याउन दिनुपरेको पशु स्वास्थ्य प्राविधिक रामसेवक यादवले बताए।

‘माछाको भुँडी थिच्दा गिलो भए खान अयोग्य हुन्छ’, उनले भने, ‘सारो भए खानयोग्य मानिन्छ।’ यो विधिबाट परीक्षण गर्दा पनि स्वस्थ्यबारे थाहा हुने दाबी उनले गरे।

यो नाकाबाट आयात हुने माछा झापाको राजमार्ग छेउछाउ र पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङसहित तेह्रथुमका विभिन्न बजारमा पुग्ने गरेको छ। यहाँ छामछुम र सुँघसाँघबाहेक परीक्षण नहुने हुँदा कुहिनबाट जोगाउने विषादी, अस्वस्थकर माछा सहजै भित्रिने जोखिम बढेको छ।

महिनामा एकपटक माछाको नमुना परीक्षणका लागि पठाउने गरिएको र हालसम्म खान अयोग्य भनी रिपोर्ट नआएको प्राविधिक यादवले बताए। ‘नमुना संकलन गरेको माछा बजारमा पुगेर उपभोक्ताको भान्छामा पुग्दा पनि रिपोर्ट क्वारेन्टाइनमा आइपुग्दैन’, उनले भने, ‘यहाँ ल्याब नहुँदा यस्तै समस्या छ।’

यो नाका भएर बर्सेनि १ हजार ६ सय मेट्रिक टनभन्दा धेरै माछा आयात हुन्छ। माछा जाँच गर्ने क्रममा क्वारेन्टाइनले एकपटक पनि गुणस्तरहीन भनेर रोकेको तथ्यांक कार्यालयमा भेटिँदैन।

‘व्यापारको सामान हो, रोक्नु पनि भएन’, उनले भने, ‘खराब भन्ने आधार के कुरालाई मान्ने ? ल्याब भए पो प्रमाणित गर्नु !’ माछाको नमुना जाँच्न गर्न विराटनगर वा काठमाडौंस्थित क्वारेन्टाइनकै प्रयोगशालामा पठाउनुपर्ने बाध्यता रहेको कर्मचारी स्वीकार गर्छन्। जाँचका लागि एउटा नमुनाको ९ सय रुपैयाँ तिर्नुपर्ने र पठाउन झन्झटिलो भएका कारण अहिलेसम्म छामेको र सुँघेकै भरमा स्वस्थताको प्रमाणपत्र जारी हुँदै आएको कर्मचारीको तर्क छ।

मेचीनगरका मेयर विमल आचार्यका अनुसार दैनिक उपभोग्य वस्तुको विषादी परीक्षण नगरी भित्रिन नदिन निर्देशन दिइए पनि परीक्षणको पुरानै शैली कायम छ। जनशक्ति थप्नुपर्ने र उच्च प्रविधिको प्रयोगशाला स्थापना गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए।

भन्सार कार्यालय भवनको माथिल्लो तलामा इन्टरमोडलले भाडामा लगाएको कोठामा क्वारेन्टाइन कार्यालय छ। यहाँ एक अधिकृत र दुई प्रविधिकको दरबन्दी छ। काँकडभिट्टा नाकाबाट आर्थिक वर्ष २०७३÷७४ मा एक हजार ६ सय ७५ मेट्रिन टन माछा र ८३ मेट्रिन टन सिद्रा भित्रिएको तथ्यांक छ। भारतबाट भित्र्याइने माछाको मात्रा केही वर्षयता घट्दै गए पनि नेपाल माछा उत्पादनमा आत्मनिर्भर भने हुन सकेको छैन।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.