अनलाइनले व्यक्तिगत आईएमईआई दर्ता बढ्यो

अनलाइनले व्यक्तिगत आईएमईआई दर्ता बढ्यो

 काठमाडौं : मोबाइलको अनलाइन आईएमईआई दर्ता प्रक्रिया सुरु भएसँगै व्यक्तिगत रूपमा दर्ता गर्ने संख्यामा बढेको छ । मोबाइलको आईएमईआई दर्ता प्रक्रियालाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले गत फागुनदेखि अनलाइन सेवा सुरु गरेको थियो । अनलाइन सेवा सुरु भएसँगै व्यक्तिगत रूपमा आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता गर्नेको अनुपातमा उल्लेख्य वृद्धि भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्ला दुई महिनामा अनलाइनबाट व्यक्तिगत रूपमा आफ्नो मोबाइलको आईएमईआई दर्ता गर्नेको संख्या पाँच सय ५० को हाराहारीमा पुगिसकेको छ । गत दुई वर्षको अवधिमा व्यक्तिगततर्फ जम्मा पाँच हजार २९ वटा मोबाइलका आईएमईआई दर्ता भएका थिए । ‘दुई वर्षको अवधिमा पाँच हजार आईएमईआई नम्बर दर्ता भएको अवस्थामा अहिले दुई महिनामा पाँच सय ५० को हाराहारी पुगिसकेको छ’, प्राधिकरणका सहायक निर्देशक दिनेश गौतम भन्छन्, ‘यसले व्यक्तिगत रूपमा मोबाइलको आईएमईआई नम्बर दर्ता गर्नेको संख्या वृद्धि भएको देखिन्छ ।’ उनका अनुसार २०७३ देखि अहिलेसम्म कुल दुई करोड सात लाख ८७ हजार एक सय ४७ वटा आईएमईआई दर्ता भएका छन् । त्यसमा मोबाइल आयातकर्तामार्फत दुई करोड सात लाख ८१ हजार पाँच सय ८९ र व्यक्तिगततर्फ पाँच हजार पाँच सय ५७ आईएमईआई दर्ता भएका छन् ।

गौतमका अनुसार अनलाइनमार्फत आईएमईआई दर्ता गर्न थालेको पछिल्लो दुई महिनामा अनलाइनमार्फत जम्मा ९४ हजार पाँच सय ५७ दर्ता भएका छन् । त्यसमा मोबाइल आयातकर्ताबाट ९४ हजार २६ र व्यक्तिगततर्फ पाँच सय ३१ छन् । मोबाइलको आईएमईआई दर्ता सुरु भएको वर्ष चार हजार ६२ वटाको व्यक्तिगत रूपमा प्राधिकरणमा आई दर्ता गरिएको थियो । दोस्रो वर्ष त्यो संख्या घटेर नौ सय ६४ मा झरेको थियो । तर अनलाइन सेवा सुरु गरेसँगै व्यक्तिगत रूपमा दर्ता गर्ने संख्यामा उल्लेख्य वृद्धि भएको देखिन्छ । दुई महिनाकै अवधिमा पाँच सय ५० हाराहारीमा आईएमईआई दर्ता हुनुले यो वर्ष व्यक्तिगत रूपमा दर्ता गर्नेको संख्या धेरै हुन सक्ने अनुमान गरिएको उनी बताउँछन् । उनका अनुसार यसको प्रमुख कारण अनलाइन सेवाको सुरुवात नै हो । तर व्यवसायीले भने अनलाइनमा खासै चासो देखाएका छैनन् । गौतमका अनुसार अहिलेसम्म नेपालमा ७५ वटा आयात कम्पनी छन्, त्यसमा २९ कम्पनीले अनलाइन आईएमईआई दर्ताका लागि आवेदन दिएको भए पनि जम्मा चार कम्पनीले अनलाइन दर्ता गराएका छन् ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार प्राधिकरणमै आएर मोबाइलको आईएमईआई दर्ता गर्ने झन्झटिलो प्रक्रिया अन्त्य भएसँगै व्यक्तिगत रूपमा दर्ता गर्नेको संख्या बढेको हो । ‘नेपालमा धेरैजसो विदेशमा बस्नेले आफन्तलाई उपहारका रूपमा मोबाइल पठाउने गरेका छन्’, उनले भने, ‘विदेशबाटै उनीहरूले आवश्यक डकुमेन्ट पठाएर त्यहीँबाट आईएमईआई दर्ता गराइ मोबाइल आफन्तलाई पठाउने, यहाँ भएकाले पनि घरबाटै सहज रूपमै मोबाइलको आईएमईआई दर्ता गर्न सक्ने भएकाले उक्त संख्यामा वृद्धि भएको हो ।’ उनका अनुसार आईएमईआई दर्ताले नेपालमा अवैध रूपमा भित्रिने गरेका मोबाइललाई निरुत्साहित गर्नेछ । यसले राजस्वसमेत बढ्न मद्दत पुग्छ । यससँगै मोबाइल फोनलाई व्यवस्थित एवं आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न सहयोग पुग्नेछ । साथै आईएमईआई दर्ता गर्दा मोबाइल हरायो भने खोज्नसमेत सहज हुन्छ । यसमार्फत चोरीको मोबाइल कुन ठाउँमा कुन सिम हालेर प्रयोग भइरहेको छ पत्ता लगाउन सकिने अर्यालले बताए । उनका अनुसार मानिसका हरेक कुरा मोबाइलसँगै जोडिएकाले यसलाई निगरानी गर्न आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.