नाम मिल्दा ‘निर्दोष’ व्यक्ति जेलमा
बिर्तामोड : रक्तचन्दन तस्करीमा संलग्न अभियुक्तसँग नाम मिल्दा झापा मेचीनगरका एक व्यक्ति जेल परेका छन्।जिल्ला अदालतले सोमबार जेल सजायको फैसला सुनाएपछि मेचीनगर वडा नम्बर ६ का ३५ वर्षीय श्याम थापा जेल चलान भएको उनको परिवारले जनाएको छ। थापा निर्दोष रहेको दाबी परिवारजनले गरेका छन्।
अदालतले थापालाई ६ महिना कैद र २६ लाख ९९ हजार जरिवाना तोकेको छ। उनका दाजु केदारले रक्तचन्दन तस्करीबारे जानकारी नै नभएको व्यक्तिलाई हचुवाका भरमा पक्राउ गरी जेल पठाइएको गुनासो गरे।‘हाम्रो भाइलाई किन जेल पठाइयो भन्नेमा हामी नै द्विविधामा परेका छौं’, उनले भने।
२०६४ जेठ २२ गते तत्कालीन टाघनडुब्वा-२ स्थित गुलामरसुल मियाँको घरबारी परिसरबाट प्रहरीले १ हजार ६ सय ८७ किलो रक्तचन्दन बरामद गरेको थियो। उक्त घटनामा तत्कालीन मेचीनगर-१० निवासी श्याम थापालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको थियो।
केदारका अनुसार घटना हुँदा उनका भाइ वैदेशिक रोजगारीका लागि कतारमा थिए। विदेशबाट फर्किएपछि ट्याम्पो चलाएर जीविका चलाउँदै आएका उनलाई चैत ३० गते काँकडभिट्टा बजार क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो।
झापाका एसपी विष्णु केसीले अदालतको आदेशमा थापालाई पक्राउ गरिएको र अदालतकै आदेशमा जेल चलान गरिएको जानकारी दिए। रक्तचन्द तस्करीमा संलग्न श्याम थापा भने वैदेशिक रोजगारीमा रहेको स्थानीयले बताएका छन्।