ढालियो हात नभएको लिंगो

ढालियो हात नभएको लिंगो

भक्तपुर : आठ दिन नौ रातसम्म चल्ने भक्तपुरको बिस्केट जात्राको अन्तिम दिन बुधबार भक्तपुर नगरपालिका- ४ पोटेरी स्क्वायरमा हात नभएको ज्याठा गणेशको लिंगो ढालिएको छ। गत वर्षको अन्तिम दिन चैत ३० गते बिहान ठड्याइएको उक्त लिंगो बुधबार छैटौं दिनमा ढालिएको हो।

स्थानीय ज्याठा गणेश मन्दिर परिसरमा बुधबार बिहान १०: ५० बजे तीनवटा डोरीले तानेर करिब ५० हात लामो उक्त लिंगो ढालिएको हो। यो लिंगो ठड्याउन र ढाल्न माटोको भाँडा बनाउने प्रजापतिमात्र सम्मिलित हुने प्रचलन छ। त्यसैले यस लिंगोको जात्रामा ५५ हात भएको लिंगो जात्रामा जस्तो जात्रालुको उपस्थिति हुँदैन।

पछिल्लो समय उक्त लिंगो ठड्याउने जात्रामा अन्य समुदायको पनि सक्रिय सहभागिता बढेको छ। तर ढाल्ने क्रममा भने अन्य जातिलाई समावेश गरिँदैन। ढाल्ने क्रममा केही दुर्घटना हुनसक्ने भएकाले अन्यलाई सहभागी नगराइएको स्थानीय बताउँछन्। तर अनुशासित जात्रालुहरु प्रजापतिसँगै जात्रामा सहभागी हुने उनीहरुको भनाइ छ।

प्रजापतिमात्रै सम्मिलित हुने समयमा उक्त लिंगो ठड्याउन घरघरका झ्यालबाट डोरीले तानेर उक्त लिंगो ठड्याइने गरिन्थ्यो। तर २०७२ वैशाख १२ को भूकम्पले ती घरमा क्षति पुगेकाले अहिले बाहिरैबाट तानेर लिंगो ठड्याइँदै आएको छ।

संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले भक्तपुरको बिस्केट जात्राको प्रमुख आकर्षणको रुपमा रहेको भनपा वडा नं ५ योसिंखेलमा मनाइने लिंगो जात्राभन्दा धेरै समयपछि ज्याठा गणेशको लिंगो जात्रा प्रचलनमा आएको जानकारी दिए। स्थानीय ज्याठा गणेश मन्दिर परिसरमा उक्त लिंगो ठड्याइने भएकाले यसलाई ज्याठा गणेशको लिंगो मानिने उनको भनाइ छ।

तर योसिंखेलमा ठड्याइने लिंगोलाई भने भैरव एवं इन्द्र देवताको प्रतीक मानिने उनी बताउँछन्।उनका अनुसार पछिल्लो समय भक्तपुर नपा -५ स्थित योसिंखेलमा ३५ हात भएका दुई विश्वध्वजासहितका ५५ हाते काठे लिंगो ठड्याउनुअघि ज्याठा गणेश लिंगो ठड्याउनुपर्ने प्रचलन छ।वर्षान्तको दिन बिहानै ठड्याइने यो लिंगो बिस्केट जात्राको अन्तिम दिन पनि बिहानै ढाल्ने परम्परा रहँदै आएको छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.