बिस्केट जात्रामा जबरजस्ती बढ्यो

बिस्केट जात्रामा जबरजस्ती बढ्यो

भक्तपुर : आठ दिन नौ रातसम्म चल्ने भक्तपुरको बिस्केट जात्रामा जबरजस्ती बढेको भन्दै बुढापाकाले गुनासो पोखेका छन्। बिस्केट जात्राको मुख्य आकर्षणको रुपमा रहेको भैरवनाथको रथ जबरजस्ती तान्ने प्रवृत्ति बढेको भन्दै उनीहरुले गुनासो छ।

बिस्केट जात्राको अन्तिम दिन बुधबार जबरजस्ती तान्दा घरमा ठोकिएको रथको छाना उछिट्टिएर रथ जीर्ण बन्न पुगेको छ। भक्तपुर नगरपालिका ५ गःहिटीस्थित सर्वसाधारणको घरमा ठोकिँदा पनि जात्रालुले रथ तान्न छोडेनन्। बल लगाएर जबरजस्ती रथ तानिएपछि बायाँतिरको छाना भत्कियो।

‘हाम्रो पालामा सर्वसाधारणको घर वा पेटीमा ठोक्किनासाथ रथ तान्न छोडिन्थ्यो। पछाडि ठोकिए अगाडि तान्ने र अगाडि ठोकिए पछाडि तानेर रथलाई गन्तव्यमा पुर्‍याउँथ्यौं’, भक्तपुर नगरपालिका ५ लाकुलाछेंका ७० वर्षीय आशकुमार तमखूले भने, ‘अहिले त घरमा ठोकियोस् कि पेटीमा खालि जबरजस्ती रथ तान्ने प्रवृत्ति बढ्यो। यसले रथ र घरमात्रै बिग्रिने होइन, जात्रालुको ज्यान पनि जान सक्छ।’

उनका अनुसार त्यसबेला रथमा किलाकाँटी, फलामे तारलगायत कुनै प्रयोग हुँदैनथ्यो। काठैकाठले बनाइने रथलाई काठकै चुकुलले बलियो बनाउँथ्यो, निगालोका ससाना भाटाले बाँधिन्थ्यो। जसले गर्दा नौ दिन जात्रा गरिँदा पनि रथ त्यति बिग्रन नपाउने उनको भनाइ थियो।

‘तर अहिले रथभरि किलाकाँटी, फलामका तार प्रयोग गरेर रथ बलियो बनाउँदा पनि जात्रामा रथ सद्दे हुँदैन’, उनले थपे, ‘रथ जति बलियो बनाउन खोज्यो त्यति नै जबरजस्ती रथ तान्ने प्रवृत्ति बढ्यो।’

त्यस्तै स्थानय ६८ वर्षीय कुमार छुकां स्थानीय प्रहरी प्रशासन र नगरपालिकाले व्यवस्थित गर्न ढिलाइ गरे बिस्केट जात्रा झन् झन् कुरुप र बद्नाम हुँदै जाने बताउँछन्।

‘हाम्रा बाबुबाजेले सुनाएअनुसार बिस्केट जात्रामा भैरवनाथको रथ अहिले जस्तो जथाभावी तानिँदैन। जात्राको परम्पराअनुसार जहाँ लानुपर्ने हो, त्यहाँ रथ पुर्‍याइन्छ’, उनी थप्छन्, ‘बाटो सीधा नभएकाले रथ ठोकिनसक्ने भएकाले अगाडि र पछाडि तान्न डोरी राखिएको हो। जबरजस्ती एकातिरमात्रै तानेर लान डोरीको व्यवस्था गरिएको होइन।’

भैरवनाथको रथ तानेर सुरु गरिएको बिस्केट जात्रा सोही रथ तानेर भक्तपुर नपा ५ टौमढीस्थित भैरवनाथ मन्दिर परिसर पुर्‍याइएपछि सम्पन्न भएको मानिन्छ। तर बुधबार अबेरसम्म पनि भैरवनाथको रथ टौमढीसम्म तानिएको छैन। टौमढीबाट करिब पाँच सय मिटर दक्षिण गःहिटीबाट तानिएको थियो तर रथ टौमढीतिर तान्न नसकिँदा पोटेरी स्क्वायरतर्फ तान्ने क्रममा सर्वसाधारणको घरमा ठोक्किएको हो। घरमा ठोक्किँदा पनि जबरजस्ती तानिएपछि रथ जीर्ण बन्न पुगेको छ। 

बिस्केट जात्राको अन्तिम दिन द्यः थहाँबिज्याइगु (देवता माथि सवारी हुने) जात्राअन्तर्गत गःहिटीमा रहेको रथ तानेर टौमढी पुर्‍याइनुपर्छ। रथ टौमढी पुगेपछि त्यसमा सवार भैरवनाथ र बेताल झिकेर भैरवनाथ मन्दिरमा विराजमान गराइएपछि आठ दिन नौ रातसम्म चल्ने बिस्केट जात्रा सम्पन्न भएको मानिन्छ।

बिस्केट जात्रा यस वर्ष शान्तिपूर्ण
यस वर्षको बिस्केट जात्राको अन्तिम दिनसम्म शान्तिपूर्ण रहेको छ। समाचार तयार गरिँदासम्म यस वर्ष कुनै किसिमको झैझगडा भएर इँटा तथा ढुंगा हानाहान भएको छैन। बिस्केट जात्रा शान्तिपूर्ण बनाउन जात्रा हुने स्थलमा प्रहरी प्रशासन र भक्तपुर नगरपालिका मिलेर सीसीटीभी क्यामेरा जडान गरेका छन्। प्रहरी प्रशासनले उक्त क्यामेराको आधारमा जात्रा बिथोल्नेहरुलाई पक्राउ गरी कारबाही गर्ने बताउँदै आएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.