सरकारी विद्यालय पढ्छिन् मुख्यमन्त्रीकी छोरी

सरकारी विद्यालय पढ्छिन् मुख्यमन्त्रीकी छोरी

धनगढी : प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नी छोरीलाई सरकारी विद्यालय भर्ना गराएका छन्। उनले छोरीलाई धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालय भर्ना गराएका हुन्। भर्ना अभियान प्रभावकारी बनाउन मुख्यमन्त्री भट्ट अभियानमा सक्रिए छन्।

मुख्यमन्त्री भट्टले १४ वर्षीया छोरी पुष्पा भट्टलाई बुधबार आफैं भर्ना गरे। भर्ना अभियान सञ्चालन भइरहेको समयमा मुख्यमन्त्री भट्टले कार्यक्रम नै गरी भर्ना गराएका हुन्। बुधबार बिहान कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंहसहित विद्यालय पुगेका मुख्यमन्त्री भट्टले छोरीसहित अन्य ११ जना बालबालिकालाई विद्यालयमा भर्ना गरे।

यसअघि मुख्यमन्त्रीकी छोरी गृहजिल्ला डोटीको केआईसी गाउँपालिका-६ देवस्थल माविमा पढ्ने गरेकी थिइन्। अर्की १६ वर्षीया छोरी लक्ष्मी भट्ट पनि कक्षा १० मा देवस्थल माविमै अध्ययन गरिरहेकी छन्। सरकारको नीतिअनुसार सामुदायिक विद्यालयमा भर्ना गरेको मुख्यमन्त्री भट्टले बताए।

 ठूलो ओहोदामा बसेपछि निजी स्कुलमा पढाउने प्रवृत्तिले नेपालका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर खस्किएको उनको भनाइ छ। ‘जबसम्म सामुदायिक विद्यालयमा अभिभावकको अपनत्व हुँदैन, तबसम्म शिक्षामा परिर्वतन आउँदैन’, उनले भने, ‘यसका लागि उच्च ओहोदामा बसेका व्यक्तिले सामुदायिक विद्यालयमा सन्तान पढाउने प्रवृत्तिको विकास गर्न जरुरी छ।’

सरकारले सरकारी विद्यालयका शिक्षकले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमै पढाउनुपर्ने नीति लिएको छ। प्रदेश ७ का विकट जिल्लामा गरिबीका कारण विद्यालय छोड्ने क्रम अझै रहेको र शिक्षा नीति व्यवहारमा उतार्न सार्वजनिक ओहोदामा बसेका व्यक्तिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा पढाए समाजमा सकारात्मक सन्देश जाने उनको भनाइ छ। एक छोरासहित मुख्यमन्त्री भट्टका तीन सन्तान छन्।

अभिभावकले समयसमयमा विद्यालय पुगेर अनुगमन गरिदिए मात्रै धेरै हदसम्म शिक्षामा सुधार आउने कैलालीका जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंहले बताए। मुख्यमन्त्रीले आफ्नो छोरीलाई सामुदायिक विद्यालयमा पढाएर राम्रो कामको सुरुवात गरेको विद्यालयका शिक्षक खेमराज भट्टले बताए। ‘मुख्यमन्त्रीज्यूले सरकारी विद्यालयमा छोरी भर्ना गर्दा अरूलाई पनि दबाब पर्नेछ’, उनले भने।

प्रदेश ७ मा अझै पनि चार हजार बालबालिका विद्यालयको पहुँचबाहिर छन्। २०४८ सालमा स्थापित राष्ट्रिय माविले विद्यालयमा विद्यार्थी संख्या बढाउन यसै वर्षदेखि नर्सरीमा अंग्रेजी माध्यममा पढाइ थालेको छ। उक्त विद्यालयमा तीन सय ५० जना विद्यार्थी अध्ययनत छन्।

सामुदायिक विद्यालयप्रतिको विश्वास घट्दै गएको अवस्थामा मुख्यमन्त्रीजस्तो व्यक्तिले राष्ट्रिय माविमा भर्ना गराएर विद्यालयको गरिमा बढेको विद्यालयका संस्थापक अध्यक्ष मानबहादुर खड्काले बताए।

सरकारी विद्यालयमा भर्ना भएपछि मुख्यमन्त्री त्रिलोचन भट्टकी छोरी पुष्पा भट्टलगायत। अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.