मेक्सिकोमा गोली हानाहान, १६ जनाको मृत्यु
मेक्सिको सिटी : मेक्सिकोमा दुई पक्षकाबीचमा भएको गोली हानाहानमा परी कम्तीमा १६ व्यक्तिको मृत्यु भएको छ । प्रहरी र अपराधिक समूहकाबीच भएको भिडन्तमा परी मारिनेमा १० जना अपराधिक समूहका व्यक्ति र ६ जना प्रहरी रहेको जनाइएको छ ।
मंगलबार मेक्सिकोको गुइरेरो राज्य अन्तर्गत पर्ने तटीय क्षेत्र झिहाउतानेगोमा भएको भिडन्तमा उनीहरु मारिएका अधिकारीहरूले जानकारी दिएका छन् । गुइरेरोका सुरक्षा प्रवक्ता रोबर्ट अल्भारेज हेरेडियाले घटनामा मानवीय क्षति भएको मंगलबार दिउसो नै पुष्टि भएको बताए।
ड्युटीमा खटिएका प्रहरीलाई अपराधिक समूहले पहिला आक्रमण गरेको र प्रहरीले जवाफी कारबाही गरेको सुरक्षा प्रवक्ताको भनाई छ । दुई पक्षकाबीचमा झण्डै ३० मिनेट भिडन्त भएको थियो ।
राज्यका महान्यायाधिवक्ताले घटनाका बारेमा अनुसन्धान गरी यस्ता घटना दोहोरिन नदिनका लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिएका छन्।
गुइरेरो पछिल्लो दुई बर्षमा अत्याधिक धेरै हिंसा हुने मेक्सिकोको राज्य हो । यस अवधिमा यस राज्यमा मात्रै २२ सय भन्दा बढीको मृत्यु भइसकेको छ । रासस/सिन्हवा