अपांग भएकालार्इ बेवास्ता
बिर्तामोड : दाताले दिएको ह्विलचेयरमा बसी झापा शिवसताक्षी– ३ पारावारीका ३६ वर्षीय टिकाप्रसाद नेपाल करिव एक किलोमिटरको टाढा रहेको आमाको घरमा चार वर्षपछि पुगे । आमाको मुख हेर्न दिन साइत जुराएर उनी आमा घर पुगेका थिए । सात वर्षअघि वैदेशिक रोजगारीमा कतार गएका उनलाई मेनेन्जजाइटिस भएको थियो ।
रोगले थलिएपछि कम्पनीले नेपाल फिर्ता पठाइ दियो । विदेशमा हिंडडुलमा केही असहज भएको थियो तर स्वदेश फर्किएपछि भने कम्मर मुनिको भाग नै चल्न छाड्यो । भने,‘यता आएपछि ओछ्यान परेकाले यत्तिका वर्ष आमालाई भेट्न समेत पाएको थिइँन ।’
शिवसताक्षी नगरकी सामाजिक परिचालक माया सापकोटा र झापाका पत्रकार तीर्थ सिग्देलले नेपालको अवस्थाबारे सामाजिक सञ्जालमा लेखेपछि काठमाडौं मित्रपार्ककी अमृता लम्सालले नेपाललाई ह्विल चेयर पठाइदिइन । त्यो सहयोगले निकै राहत भयो ।
स्थानीय तहको निर्वाचन ताका जनप्रतिनिधिले नेपाल जस्तै अशक्त र अपाङ्गलाई ह्विलचेयरसहित अन्य सहयोग गर्ने आश्वासन दिएका थिए । त्यसपछि स्थानीय जनप्रतिनिधि न ह्विल चेयर दिए नत अन्य सहयोग गरे ।
‘युवा उमेरमानै ओछ्यान परेपछि मनमा पिडा त थियोनै जन्मदिने आमालाई समेत भेट्न नपाउँदा मन अमिलो थियो, स्थानीय सरकारलाई हारगुहार गर्दासमेत केही भएन तर सामाजिक संजालले ह्विल चेयर जुराईदिए,’ नेपालले भने । उनले गाउँ गाउँमा सिंहदरबार भने पनि केही महसुस नभएको गुनासो गरे ।
नेपालको दुबै खुट्टा चल्दैनन् । एक छोरा र श्रीमतीसहितको परिवारको आर्थिक अवस्था दयनीय छ । ‘विदेश जाँदा र उपचारका लागि अस्पताल धाउँदा परिवारको आर्थिक स्थिति धेरै कमजोर बन्यो,’ उनले भने, ‘मेरो घरको जुन कोठामा मेरा लागि बिछ्यौना लागेको छ त्यहीं बिहान बेलुकाको छाक टार्न सामान्य पसल थापेको छु ।’ आफूँ बस्ने तहमा आफू जस्तै १९ जना अपाङ्ग भएपनि उनीहरुले समेत सेवा सुविधा नपाएको बताए ।
शिवसताक्षी नगरपालिकाकी सामाजिक परिचालक माया सापकोटाले दुई दर्जन जति अशक्त अपाङ्ग भएपनि उनिहरु सबैले अपाङ्ग परिचय पत्रसमेत नपाउँदा राज्यबाट पाउने सानो सुविधाबाट बञ्चित भएको गुनासो गरिन् ।
‘अशक्त अपाङ्ग धेरै नै छन् तर सबैले अपाङ्गता परिचय पत्र नै पाएका छैनन्, त्यसैले नेपाल दाईको जस्तै दुख भोगिरहेका छन्,’ सापकोटाले भनिन् । अरुमध्ये नेपाल आर्थिक र सामाजिक रुपमा अझै अशक्त भएकाले आफूले सहयोग जुट्छकी भनेर फेसबुकमा हालको र त्यसले सकारात्मक प्रभाव परेको बताइन ।
स्थानिय तहमा जनप्रतिनिधि आएर काम गरेको पनि धेरै महिना बितिसके पनि असक्त र अपाङ्गता भएका व्याक्तिको लागि केही कुरा नबोलेको नेपाल बताउँछन् । ‘हामी जस्ताको लागि न नयाँ बनेका सडकमा ठाउँ छ, न नयाँ भवनको संरचना त्यस्तो छ, नत हामिलाई सुविधा नै, अपाङ्गता भएका व्याक्तिको लागि स्थानीय सरकार आएको महसुस नै भएको छैन,’ उनको गुनासो छ ।