पदाधिकारी मनोनयनको तयारीमा देउवा

पदाधिकारी मनोनयनको तयारीमा देउवा

 काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा पदाधिकारी मनोनयनको तयारीमा जुटेका छन्। नेता खुमबहादुर खड्काको निधनपछि स्थगित केन्द्रीय कार्यसमिति बैठक आइतबारदेखि बस्ने तय भएसँगै सभापति देउवा पदाधिकारी मनोनयनको तयारीमा जुटेका हुन्। 

खड्काको निधनपछि स्थगित केन्द्रीय कार्यसमितिको शुक्रबारका लागि तय बैठक जिल्लाबाहिर रहेका नेता काठमाडौं आउन ढिलाइ भएपछि आइतबारका लागि सारिएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता विमानस्थल अवरुद्धका कारण शुक्रबार बिहान काठमाडौंमा अवतरण गर्न नसकेपछि शुक्रबारको बैठक आइतबारका लागि सारिएको कांग्रेसले जनाएको छ।

केन्द्रीय समिति बैठकमा निर्वाचन समीक्षा सकिएपछि सभापति देउवाले पदाधिकारी मनोनयनको प्रस्ताव पेस गर्ने तयारी गरेका छन्।

देउवानिकट केन्द्रीय सदस्य डा.प्रकाशशरण महत सभापतिले केन्द्रीय समिति बैठकको अन्त्यतिर पदाधिकारी मनोनयन प्रस्ताव ल्याउने बताउँछन्।

कांग्रेसमा उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ। देउवाका निजी सचिव केशवराज जोशीले पनि सभापति पदाधिकारी मनोनयनको गृहकार्यमा रहेको बताए।

१३ आंै महाधिवेशनबाट पार्टी नेतृत्वमा पुगेको दुई वर्ष बितिसक्दा पनि देउवाले पार्टी पदाधिकारी मनोनयन गर्न सकेका छैनन्।

कांग्रेस विधानमा सभापतिले १ जना उपसभापति, १ महामन्त्री र १ सहमहामन्त्रीसहित ९ जना केन्द्रीय सदस्य मनोनयन गर्न पाउने व्यवस्था छ। देउवाले उपसभापतिमा विमलेन्द्र निधिलाई मनोनीत गर्ने सम्भावना रहेको उनी निकटहरूको दाबी छ। यद्यपि, नेता गोपालमान श्रेष्ठ पनि उपसभापतिका आकांक्षी हुन्।

महामन्त्रीमा पूर्णबहादर खड्का, ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँणको दावेदारीले देउवालाई अप्ठ्यारो परेको छ। देउवा सहमहामन्त्री पौडेल पक्षलाई दिने कि आफ्नै पक्षलाई दिने भन्नेमा छलफल गरिरहेका छन्।

देउवाले आफूनिकट मानबहादुर विश्वकर्मा र डा.प्रकाशशरण महतमध्ये एक जनालाई सहमहामन्त्री बनाउने चर्चा कांग्रेसीभित्र छ।

निर्वाचनको पूर्वसन्ध्यमा कांग्रेससँग एकीकरणमा आएका विजय गच्छदारलाई समेत उपसभापति वा वरिष्ठ नेता बनाउने देउवाको तयारी छ।

देउवाले आफू संसदीय दलको नेतामा निर्वाचित भएकै दिन गच्छदारलाई उपनेता मनोनीत गरेका थिए। देउवाले पार्टीका ४२ वटा विभागसमेत गठन गर्ने तयारी गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.