साउदीको जेलमा पति: ६५ लाख ब्लडमनी जुटाउन भौतारिँदै मनीता
(लिबाङ) रोल्पाः गरिबीबाट तरान पाउन साउदी अरबमा मजदुरी गर्न गएका थिए रोल्पा नगरपालिका–१० धबाङ पेवागाउँका ३१ वर्षीय दिलबहादुर घर्ती । पतिले विदेशबाट ६५ लाख कमाएर ल्याउने आशा उनका पत्नी मनिताले कहिल्यै गरेकी थिइनन् । ऋण खोजेर विदेशिएका पतिले छोराछोरी पढाउने र जीजीविषाका लागि पैसा पठाउने मिठो कल्पनामा थिइन् मनिता । तर, उनको मिठो कल्पना यति बेला भताभुङ्ग भएको छ ।
कारण, दिलबहादुर यति बेला साउदी जेलमा छन् । पतिलाई जेलबाट छुटाएर नेपाल फर्काउन ६५ लाख ब्लडमनी आवश्यक छ । पतिले पैसा कमाएर पठाउलान् भन्ने आसमा रहेकी मनिताले उल्टो पतिलाई नेपाल फर्काउन साउदीमा लाखौँ पैसा पठाउनु पर्ने विवशतामा छिन् ।
‘गरिबले नेपालमा त गरिखान पाइएन नै विदेश (साउदी) मा पनि पसिना बगाएर खान मिलेन’, मनिता गहभरि आँसु छचल्काउँदै भन्छिन्, ‘गरिबको न त सरकार न त नेता आफ्ना हुँदा रहेछन् ।’
पति जेल परेयता मनिताले धेरै पटक सरकार, नेता, परराष्ट्रमन्त्रालय, म्यानपावर धाइसकेकी छन् । तैपनि उनले पतिलाई नेपाल फर्काउन चाहिने ब्लडमनीको भरपर्दो आश्वासन पाएकी छैनन् ।
बलिन्द्र आँसुको धारा बगाउँदै कहिले रोल्पा त कहिले काठमाडौँ धाइरहेकी छन् उनी । पतिलाई साउदी पठाउने कम्पनीले पनि बेवास्ता गरिरहेको छ । काठमाडाँैस्थित डेस्टिनी ओभरसिज प्रालिले दिलबहादुरलाई एक्साभेटर चालकमा साउदी पठाएको थियो ।
एक्साभेटर चालकको भिसामा साउदी पुगेका दिलबहादुरलाई ‘माजिद अल दियावाही कन्सट्रक्सन इष्ट रियाद’ ले ट्रक चलाउन लगायो । वर्क परमिट र ट्रक चलाउने अनुमति पत्रबिना नै उनले काम गर्नुपर्यो । एक लाख ४५ हजार म्यानपावरलाई बुझाएर साउदी उडेका दिलबहादुरले चलाएको ट्रकले ठक्कर दिँदा साउदी नागरिक ओतिन विन दिगफाको मृत्यु भयो । २०७३ जेठ ३१ गते उक्त दुर्घटना भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।
घटनापछि दिलबहादुरलाई साउदी प्रहरीले नियन्त्रणमा लिएको थियो । रियादस्थित स्थानीय अदालतले उनको ७५ प्रतिशत गल्तीले साउदी नागरिकको ज्यान गएको ठहर गर्दै पीडित परिवारलाई २ लाख २५ हजार साउदी रियाल (नेपाली करिब ६५ लाख) ब्लडमनी दिनुपर्ने फैसला सुनायो ।
उक्त फैसलामा चित्त नवुझेर साउदीस्थित नेपाली दूतावासले पुनरावेदन गरेको प्रथम सचिव विजयकुमार राउत बताउँछन् । पुनरावेदनले पनि स्थानीय अदालतको पैmसलालाई सदर गरेको छ ।
साउदीमा मृतकका परिवारलाई ब्लडमनी दिएमा आममाफी हुने व्यवस्था छ । ब्लडमनी बुझाउन नसके दिलबहादुर आजिवन जेलमै बस्नुपर्ने छ ।
उनी जेल परेपछि पनि कम्पनीले बेवास्ता गरेको मनिता बताउँछिन् । ‘दूतावासले पहल गरेको थियो । ब्लडमनी वुझाउनुपर्ने पैmसला गरेपछि कम्पनीका मानिस गएर ‘ब्लडमनी तिरिदिएका छौँ । अब केही दिनमै तिमी जेलमुक्त हुँदै छौ’ भन्दै कागजमा सहिछाप गराएका थिए । अरबी भाषामा लेखिएको पत्रमा ‘ट्रक आफुखुसी चलाएको हुँ’ भन्ने व्यहोरामा सही गराएर कम्पनी उम्किन खोजेको छ ।
कमाउन गएका पति जेल परेको खबर पाएपछि मानिताको परिवार आँसुमा डुबेको छ । मनिता ब्लडमनी जुटाउन नेता, सरकार, मेनपावर, आफन्त र मानवीय संस्थाका अगुवासँग याचना गरिरहेकी छन् । उनले पुर्वसभामुख ओनसरी घर्ती, सभामुख कृष्णबहादुर महरा, उर्जामन्त्री वर्षमान पुनसम्मका सबै नेतासँग गुहार मागिसकेकी छन् । वर्षमान र ओनसरीको गाउँमै मानिताको माइती पर्छ ।
‘रोल्पाबाट उपराष्ट्रपतिदेखि सभामुख, मन्त्री र सांसदसम्म भएकाले ब्लडमनीका लागि सरकारले मेरो सुनुवाइ गर्ने आशामा छु’, मनिता आशावादीहुँदै भन्छिन्, ‘गरिबको सुनुवाइ होला नि ?’ मनीताका एक दाइ सशस्त्र युद्धका बेला माओवादी लडाकु थिए । दाइ २०५९ सालमा गोरखामा भएको तत्कालीन शाही नेपाली सेना र लडाकुबीचको भिडन्तमा मारिए । उनका दाइ साथमा भइदिएको भए ब्लडमनी जुटाउन बहिनीलाई सघाउँथे होला । अहिले मनिता एकल छिन् । बालाजुस्थित इष्टमित्र आफन्तको होटेलमा बसेर दौडधुप गरिरहेकी छन् ।
सिलाईकटाई गरेर गुजारा चलाइरहेकी मनितालाई लाखौँ रकम जुटाउन कम्ता सकस छैन । अचेल त उनी आठ वर्षीया छोरी नमुना र चार वर्षीय छोरालाई दिदीको जिम्मा लगाएर काठमाडौँमा नेताको दैलो चहारिरहकी छन् ।
विद्यालय भर्ना चलिरहेको छ । उनको छोराछोरीको नाम लेखाउन पाएकी छैनन् । घरको आर्थिक अवस्था कमजोरीले उनीहरू माइतीमै बस्दै आएका छन् । ‘म पति फर्काउन भौतारिँदै छु । छोराछोरी ‘बाबा कहिले आउनु हुन्छ’ भनेर सोधिरहन्छन्’, मनिता आँसुसँगै पोखिइन्, ‘हुनेको लागि त ६५ लाख के होला र, मेरो लागि त सपना जस्तै भइरहेको छ ।’ पति विदेशको जेलमै सडुन् भन्ने कसलाई लाग्छ र ।
उनले सरकार, नेता र मनकारीबाट सहयोगको अपेक्षा गरेकी छन् । भन्छिन्, ‘ब्लडमनीका लागि वाणिज्य बैङ्कमा ११९००२६७४६१० नम्बरको खाता खोलिएको छ । सहयोग गर्नुहोला ।’ मनकारी सहयोगीले मनितालाई ९८४४९६९५४९ मा समेत सम्पर्क गरेर सहयोग गर्न सकिनेछ । गरिबको लागि देश नै बिरानो, विदेश नै बिरानो हुनु हुन्छ र ?