पहाड छाडेर तराईमा अटाई नअटाई
बिर्तामोड : तेह्रथुम आठराईका वीरेन लिम्बूले पाँच वर्षअघि अर्जुनधारा–६ मा ५ लाख खर्चेर १० धुर जग्गा किनेका थिए। साथीभाइको लहैलहैमा जग्गा किनेका उनलाई लगानी डुब्यो भन्ने लागेको थियो तर अहिले आफ्नै जग्गा छुट्याउन हम्मेहम्मे परेको छ। जग्गा किन्दा वरिपरि घर बनेको थिएन, अहिले जता हेर्यो उतै झुरुप्प बस्ती छ।
जग्गा किनेर वैदेशिक रोजगारीमा कतार गएका उनी फर्किएर आउँदा तीनछक्क परे। भन्छन्, ‘जग्गाको भाउ बढेर कहाँ पुग्यो कहाँ !, वरिपरि त कति हो कति ठूला घर बनेका।’ प्रतिधुर एक लाखमा जग्गा पाउन मुस्किल रहेको उनी सुनाउँछन्।
उनको जग्गा वरिपरि अधिकांश पहाडबाट झरेकाहरूको बस्ती छ। ताप्लेजुङ, पाँचथर, तेह्रथुमका केही र सबैभन्दा बढी इलाम अनि धनकुटाका केहीले घर बनाएर बसेका छन्। धेरै त वैदेशिक रोजगारीमा गएर फर्किएकाहरूले यहाँ घर बनाएका छन्।
‘विदेशबाट पैसा कमाएर ल्याएपछि पारिवारिक सुख–सुविधा र बालबच्चाको पठनपाठनका लागि पहाडबाट धेरै झरेका छन्’, बिहानी टोलका पूर्णकुमार थापा भन्छन्, ‘दुई वर्ष अवधिमा हाम्रो टोलमा मात्र २५ वटाभन्दा बढी घर बनिसके।’
ताप्लेजुङबाट झापा बसाइँ आएका नेत्र भट्टराईका अनुसार वैदेशिक रोजगारीबाट कमाएको पैसाले तराईमा जग्गा किन्नेको संख्या बढी छ। ‘पहिले पहाडमा अलैंचीको भाउ उच्च थियो, यस्तै रहला भनेर कसैले त्यताको जग्गा बेचेनन्’, उनी भन्छन्, ‘अहिले अलैंचीको भाउ घटेपछि विदेशमा कमाएको पैसाले यता जग्गा किन्नुपर्यो।’
जग्गा नबिकेपछि ताप्लेजुङको आँगेदिमबाट तराई बसाइँ आएपछि खाली बनेका घर र बाँझो जग्गा।
यो क्षेत्रबाट बिर्तामोड र अर्जुनधारा बजारसमेत नजिकै पर्ने भएकाले आसपासमा पनि बस्ती बढ्न थालेको वडा महिला सदस्य लक्ष्मी महताराको भनाइ छ। ‘बजारमा व्यवसाय गर्ने र कार्यालय जाने कर्मचारी यो क्षेत्रमा बढी छन्, दुई वर्ष अवधिमा पहाडबाट तराई झर्नेको संख्या बढेको छ,’ उनी भन्छिन्।
अहिले बिर्तामोडसहित, अर्जुनधारा, कन्काई, भद्रपुर, चद्रगढी, दमक, झिझिले पहाडबाट बसाइँ आउनेको रोजाइको स्थान बन्न थालेका छन्। वृद्ध बाबु–आमाले बसाइ सर्न आनाकानी गरेपछि गाउँको घरजग्गा अलपत्र छाडेर झर्ने पनि धेरै छन्। ‘पुर्खाले जोडेको जमिन बेच्नु हुँदैन भनेर नबेची झापा झरियो’, ताप्लेजुङ थेचम्बुबाट बिर्तामोड सरेका भीम खरेल भन्छन्।
यहाँ घर बनाएर तरकारी रोप्ने ठाउँसमेत किन्न नपाइने पाँचथर रानीटारबाट बिर्तामोड आएका हिरीशंकर भण्डारी बताउँछन्। ‘पहाडमा रोजगारी पनि छैन, न पहिलेजति खेती नै हुन्छ, लाउन त परै जाओस् खान पनि धौधौ पर्यो’, पाँचथर नांगीबाट झरेका रविलाल बराल विक भन्छन्, ‘यस्तै समस्याका कारण पहाडबाट उठिबास भएर यतातिर आयौं।’
समयननुकूल अवसरको खोजी र सुविधा उपभोग गर्न बिर्तामोडमा बसाइँ आउनेको संख्या बढेको मेयर ध्रुव शिवाकोटी बताउँछन्। ‘हामीसँग वर्षपिच्छेको तथ्यांक त छैन, यो वर्षदेखि तथ्यांक राख्छौं’, उनी भन्छन्, ‘तर, यसो हेर्दा बसाइँ आउनेको संख्या त बर्सेनि दोब्बरले बढेको छ।’
यहाँका स्थानीयसँग घरजग्गा किन्ने क्रम पनि तीव्र रहेको बिर्तामोड नगरपालिकाले जनाएको छ। एक वर्षअघि ८० हजार जनसंख्या रहेको बिर्तामोडमा अहिले १ लाख १० हजार हाराहारी पुगेको प्रमुख प्रशासकीय अधिकृत मेघराज बाँस्तोला सुनाउँछन्। बिर्तामोडमा हरेक वर्ष दुई सय नयाँ घर निर्माण हुने गरेको तथ्यांक छ। यो स्थानबाट बाहिर बसाइँ सरिजानेको संख्या भने न्यून रहेको उनी बताउँछन्।