कसरी सिक्ने गणित ?
काठमाडौं : भाइबहिनीहरू, गणित विषय भन्नेबित्तिकै तिमीहरूको पनि कान ठाडो हुन्छ होला । धेरै विद्यार्थीको लागि यो अत्यन्त कठिन विषय हो र थोरै विद्यार्थीका लागि अत्यन्तै सजिलो विषय पनि ।
किनकि यस विषय सजिलो मान्नेले एक सय पूर्णांकको परीक्षामा ९९ अंकसम्म ल्याउँछन् भने यसलाई अप्ठ्यारो विषय मान्नेहरू परीक्षामा अनुत्तीर्ण नै हुन्छन् । तर पढ्ने र सिक्ने शैली बदल्न सकियो भने गणित पनि अन्य विषयहरू जस्तै सजिलो विषय बन्न सक्छ । गणितमा राम्रो अंक ल्याउन सूत्र कण्ठ गर्नुपर्ने हामीमध्ये अधिकांशको बुझाइ छ ।
तर हरेक सूत्रको अर्थ के हो भन्नेतर्फ पनि जिज्ञासु बन्नुपर्छ, जसले हिसाब सजिलोसँग लेख्न मात्र होइन, सधैं सम्झन पनि सजिलो हुन्छ । हरेक पाठमा हिसाब गर्नेतर्फ मात्रै नगई हरेक युनिटमा लेखिएको विषयवस्तुलाई राम्रोसँग पढेर मात्र हिसाब गर्नेतर्फ लागियो भने सजिलोसँग हल गर्न सकिन्छ ।
हिसाब गर्दा हरेक स्टेपको एकअर्कासँग के सम्बन्ध रहेछ भनेर सिक्ने कोसिस गर्नुपर्छ । गणितमा सूत्रसँगै परिभाषा पनि सिक्ने कोसिस गर्नुपर्छ । उदाहरणको लागि त्रिभुजलाई हामी तीनवटा रेखाको बन्द आकृति भनेर पढ्छौं । तर केही विद्यार्थीले यसलाई तीनवटा रेखाको आकृति मात्र भनेर पनि पढ्छन्, जुन गलत हो । यसरी पढ्नेले पनि त्रिभुज त बनाउन सक्छन्, तर बन्द आकृति हो भनेर छुट्टयाउन नसक्नेले बुझेर भन्दा पनि घोकेर मात्र लेखेको रहेछ भन्ने स्पष्ट हुन्छ । शिक्षाविद् डा. बालचन्द्र लुइँटेल अहिले विद्यार्थीलाई गणित सिकाउने शैली नै ठीक नभएको बताउँछन् । ‘विद्यार्थीलाई कुन सूत्रको अर्थ के हुन्छ भन्ने सिकाउन भन्दा पनि सूत्र पहिला घोकाइन्छ ।
: हरेक सूत्र पढ्नुअघि के, कसरी र किन भन्नेबारे स्पष्ट हुनुपर्छ ।
: गणितमा कन्टेन्ट (विषयवस्तु) भन्दा पनि कन्सेप्ट (धारणा) बारे जानकार हुनुपर्छ । : घोकेर होइन, बुझेर मात्र पढ्नुपर्छ ।
: हरेक पाठमा लेखिएको उद्देश्य राम्रोसँग पढ्नुपर्छ ।
सूत्र घोक्न सक्ने विद्यार्थीले हिसाब पनि मिलाउँछन्, तर सूत्र घोक्न नसक्नेले हिसाब पनि मिलाउँदैनन्, सम्झन पनि सक्दैनन्’ लुइँटेल भन्छन्, ‘यदि विद्यार्थीलाई यो सूत्रको अर्थ यो हो भनेर सिकाउन सक्ने हो भने पढ्न निकै सजिलो हुन्छ ।’
गणितसम्बन्धी दर्जनौं पुस्तक प्रकाशित गरेका हरिनारायण उपाध्याय पनि गणितलाई घोकेर भन्दा पनि गहिरिएर अध्ययन गर्दा बुझ्न सहज हुने बताउँछन् । उनका अनुसार गणितका कन्टेन्ट (विषय) लाई मात्र पढ्ने भन्दा पनि कन्सेप्ट (धारणा) बुझेर मात्र अध्ययन गर्नुपर्छ ।
‘सूत्रलाई कण्ठस्थ गरेर परीक्षाको तयारी ग¥यो भने पनि विद्यार्थीले राम्रो अंक त ल्याउन सक्छन् । तर उनीहरूको सिकाइ दिगो रहँदैन’ उपाध्याय भन्छन्, ‘हरेक सूत्र घोक्नुअघि त्यो भनेको के हो ? किन हुन्छ र कसरी हुन्छ लगायतका विषयमा जानकारी लिएर मात्र पढियो भने राम्रो हुन्छ ।’
हिसाबमात्र गर्ने भन्दा पनि सन्दर्भ सामग्री पनि पढ्ने बानीको विकास गर्दा विद्यार्थीलाई सजिलो हुने उनको सुझाव छ ।
उपाध्यायले हालै स्कुले विद्यार्थीलाई लक्षित गरेर ‘इम्याकुलेट डिक्सनरी अफ म्याथमेटिक्स फर ग्रेड सिक्स टु टुबेल’ नामको पुस्तक पनि प्रकाशित गरेका छन् । यस पुस्तकले गणितको शब्दकोश रूपमा विद्यार्थीलाई सहयोग पु¥याउने उपाध्यायको भनाइ छ । ‘जसरी हामी अंग्रेजी सिक्नका लागि एड्भान्स लर्नर डिक्सनरी पढ्छौं । त्यसरी नै गणित सिक्नका लागि पनि यो पुस्तक एउटा शब्दकोश जस्तै छ’ उपाध्याय भन्छन् ।