जनकपुर अस्पतालमा फोहोरले सास्ती

जनकपुर अस्पतालमा फोहोरले सास्ती

 जनकपुरधाम : सरसफाइ कर्मचारीको लापरवाहीका कारण जनकपुर अञ्चल अस्पताल दुर्गन्धित बनेको छ। अस्पताल फोहोर हुँदा यसको प्रत्यक्ष मारमा बिरामी परेका छन्।अस्पताल प्रांगणमा सोमबार जताततै चौपायाले दिसा गरेको गोबर हटाइएको थिएन। अस्पतालका डेलिभरी, सर्जिकल, ओपीडीलगायत सबै कक्ष फोहोर देखिन्थे। बिरामीहरू नाक थुनेर उपचार गराइरहेका थिए। प्रसूति कक्षको प्यासेजमै रगतले भिजेको सेनिटरी प्याड जताततै फालिएको थियो। अस्पताल दुर्गन्धित बन्दै गए पनि सफा राख्न प्रशासनले चासो नदेखाएको जनाइएको छ।

बुहारीलाई सुत्केरी गराउन अस्पताल पुगेकी आशा साहले घरबाट ल्याएको खाजा फोहोरका कारण खान नसकेको गुनासो गरिन्। दुर्गन्ध सहन नसकेपछि मास्क किन्नुपरेको उनले बताइन्। ‘दुई वर्षअघि आउँदा पनि यत्तिकै फोहोर थियो, आज पनि त्यस्तै रहेछ’, उनले भनिन्, ‘यो अस्पताल त कहिल्यै नसुध्रिनेजस्तो लाग्यो।’

अस्पतालको शौचालय पनि फोहोर नै देखियो। शौचालय जान सक्ने अवस्था छैन, बाटोमै दिसा थुप्रिएको छ। गेटमै दिसा रहेकाले बाहिर खुला ठाउँ पुगेर पिसाब गर्नुपरेको बिरामी महेन्द्र महतोले बताए। ‘कुनै बिरामीले भित्र छिर्न नसकेर गेटमै दिसा गरेको हुन सक्छ’, उनले भने, ‘गल्ती गरेर कोहीले दिसा गरेको भए पनि स्विपरले सफा गर्नुपर्ने हो तर स्विपरको अत्तोपत्तो छैन।’

फोहोरका कारण अस्पताल नै थला परेजस्तो देखिएको छ। अस्पतालका विभिन्न ठाउँमा सुर्तीजन्य पदार्थ सेवन गरी जथाभावी थुके कतिपय ठाउँमा ५ सय ५१ र कतिपय ठाउँमा १ हजार जरिवाना लाग्ने उल्लेख छ। तर, अस्पतालको भित्ता रातो मात्र होइन, कालै बनेको छ। दैनिक सयौं व्यक्तिले यसरी भित्तामा थुक्ने गरेको सेवाग्राही बताउँछन्। तर, कारबाही भने गर्ने गरेको देखिएको छैन।

स्वास्थ्यकर्मी पनि अस्पताल फोहोरले दुर्गन्धित बनेको गुनासो गर्छन्। मास्क लगाएर सेवा दिनुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ। एक नर्सले भनिन्, ‘यहाँ जहिल्यै यस्तै हो। गुनासो गरे पनि कसैले वास्ता गर्दैन।’ पटक–पटक प्रशासनमा गएर फोहोरबारे गुनासो गरे पनि लापरवाही गर्ने स्विपर कारबाहीमा नपरेको उनले बताइन्।

अस्पताल सफा राख्न ७३ जना स्विपर अर्थात् कार्यालय सहयोगी छन्। ५७ जनालाई अस्पताल विकास समिति र बाँकी १६ जना सरकारबाट नियुक्त रहेको प्रशासन फाँटका खरिदार फूलकुमार यादवले जानकारी दिए। उनका अनुसार सरसफाइ कर्मचारीको मासिक तलबमा १३ लाख रुपैयाँ खर्च हुन्छ तर खर्चअनुसार काम भने छैन। ७३ कर्मचारीमध्ये अधिकांश बसेर तलब पकाउने गरेको अस्पताल स्रोतले जानकारी दिएको छ।

अस्पतालका प्रमुख डा. रामपरीक्षण यादवले विगतको तुलनामा अस्पताल धेरै सफा रहने गरेको दाबी गरेका छन्। उपचार गराउन अस्पतालमा आउनेहरूले नै चेतना अभावका कारण फोहोर गर्ने गरेको उनको भनाइ छ। ‘एक दिन सफा गरिएन भने अस्पताल फोहोरले भरिन्छ’, उनले भने, ‘ठाउँ सानो छ तर हजारौं हजार मानिस आउँछन् अनि फोहोर त भइहाल्छ।’ कतिपय सरसफाइ कर्मचारीले काम नै नगर्ने गरेको भन्ने प्रश्नमा उनले त्यस्तालाई कारबाही गरिने प्रतिक्रिया दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.