काष्ठकलामा मनग्गे कमाइ
भक्तपुर खोमबहालका इन्द्रप्रसाद शिल्पकार केटाकेटी हुँदा आफ्ना हजुरबासँग परपरै तर्कने मात्र होइन, भेट भइहाल्दा झर्किनेसमेत गर्थे। झर्किनुको कारण हजुरबाले काष्ठकलाको पुख्र्यौली काम सिक्न आग्रह गर्थे, उनलाई भने झिँजो लाग्थ्यो। उमेर बढ्दै गएपछि सामाजिक, सांस्कृतिक र आर्थिक तिनै दृष्टिकोणले काष्ठकलाको महत्व बुझेपछि मात्र उनले यो काम समाए। उनका बाबु इन्द्रकाजी पनि बाजे इन्द्रकुमारकै पेसामा संलग्न छन्।
'हामी काठमा कला भर्ने जस्तोसुकै काम पनि गछौं। हामी कहाँ धेरैजसो झ्याल, ढोका, टुँडाल, तोरण, थाम, निदाल, बिममा बुट्टा भर्ने काम आउँछ,' इन्द्रप्रसादले भने, ‘निजी कामसँगै मठमन्दिरलगायत सामाजिक क्षेत्रका काम पनि हामीकहाँ आउँछन्।'
काष्ठकलाको काम आजको भोलि सिकेर पैसा कमाइ हाल्ने पेसा नभएको तर्क गर्दै उनी भन्छन्, ‘यसमा निरन्तर लगाव चाहिन्छ। एक वर्षमा सामान्य काम सिक्न सकिएला। अरू दक्षता हासिल गर्ने काम आफ्नै रुचिमा भर पर्छ।'राम्ररी काम सिकेको मान्छेले काष्ठकलाको कामबाट मासिक ३० देखि ४० हजार सहजै कमाइ गर्ने उनी बताउँछन्।
उनले आफ्नै कारखानामा केहीलाई रोजगारीसमेत दिएका छन्। उनकै कारखानामा कार्यरत राहुल शिल्पकार काष्ठकलाकै काम गरेर मासिक करिब ४० हजार रुपैयाँ कमाउँदा रहेछन्। उनले चार जनाको परिवारको जीविका यही पेसाबाट चलाएको र बचतसमेत गरेको बताए।
राम्ररी काम सिकेको मान्छेले काष्ठकलाको कामबाट मासिक ३० देखि ४० हजार सहजै कमाउँछन्।
काठको काम गरिरहेका सिकर्मीलाई काठमा बुट्टा भर्ने कलाको काम गर्न धेरै सहज हुन्छ। यसका लागि करिब तीन हजार रुपैयाँमा आवश्यक औजार किन्नुपर्ने उनी बताउँछन्। ललितपुर, बुङमतीका नवीन कर्माचार्य जयबागेश्वरीको एक कारखानामा घरको ढोकामा प्रयोग हुने काठमा बुट्टा कुँद्दै थिए। गाउँले काकासँग काम गर्दागर्दै सिकेका उनी पनि मासिक ४० हजारसम्म कमाउँदा रहेछन्। उनले यसकै कमाइबाट परिवारको खर्च धानेका छन्।
काठ चिर्ने, रण्डा लाउने काम सिकर्मीले नै गर्छन्। सिकर्मीले बुट्टा भर्न काठ तयार पारिदिने भएकाले यो काम हलुका मात्र होइन स्वस्थ्यकर हुनेमा कर्माचार्य निश्चिन्त छन्। 'धूलो एवं केमिकलमा काम गर्नु नपर्ने भएकाले तुलनात्मक रूपमा यो काम स्वस्थ्यकर पनि हुन्छ।' उनले भने।
बुङ्मतीकै बाबुरत्न शाक्य काष्ठकलाको पुख्र्यौली काम सिकेर यसैबाट जीवन निर्वाह भइरहेकोमा गर्व गर्छन्। उनी पनि मासिक करिब ३०–३५ हजार आम्दानी गर्दा रहेछन्। 'यसमा बलको काम पर्दैन। घरमै बसेर काम गर्न पनि सकिन्छ।' शाक्यले भने।
महिलाको न्यून उपस्थिति
काष्ठकलाको काममा महिलाको उपस्थिति ज्यादै न्यून छ। शाक्यका अनुसार ललितपुरस्थित भित्री गल्लीका केही महिलाले सामान्य काम सिकेका छन्।'महिलाहरू घरमै बसेर सामान्य काम गर्छन्। बाहिर निस्किएर बुट्टा बनाउने काम गर्न थालेका छैनन्।' उनले भने। शाक्यसँगै बुट्टा चिल्लो पार्ने, रङ लगाउने, खाक्सी लगाउने काम गरिरहेकी एक विवाहित महिला खुलेर कुरा गर्न चाहिनन्।
सानो गौचरनको कारखानामा काम गरिरहेका इच्छा शाक्य सुनचाँदीका गरगहना बनाउने काम गर्थे। काम सजिलो भए पनि सुनको काममा पैसा उठाउन गाह्रो भएपछि उनले पेसा बदलेर काष्ठकलातिर लागे। यसमा उनी सन्तुष्ट रहेको सुनाउँछन्। नेवारले मात्र गरिल्याएको काष्ठकलाको काममा अन्य जातिका मानिसको पनि रुचि रहेको आफ्नै लवजमा उनले सुनाए। शाक्यको कारखानामा तामाङ समुदायका युवाले मात्र होइन, विदेशीहरूले पनि काम सिकेका रहेछन्।
अधिकांश काष्ठकलाको काममा अग्राख अर्थात् सखुवा र सिसौको काठ प्रयोग हुँदो रहेछ। काठ सजिलोसँग पाउन नसकिने बताउँदै शाक्य र उनीसँगै काम गरिरहेका नवीन महर्जनले एकै स्वरमा भने, 'काठ पाउन एकदमै गाह्रो छ। सांस्कृतिक महत्वको काममा पनि सरकारी सहयोग र चासो छैन।' दलालहरूका कारण काठको मूल्य पसलैपिच्छे फरक हुने गरेको उनीहरूले गुनासो गरे। काठको मूल्यमा सरकारले एकरूपता कायम गर्नुपर्नेमा उनीहरूको जोड छ।
सांस्कृतिक महत्वको काममा पनि सरकारी सहयोग र चासो छैन।' दलालहरूका कारण काठको मूल्य पसलैपिच्छे फरक हुने गरेको उनीहरूले गुनासो छ।
जोरपाटीमा घर बनाउन ठेक्का दिएकी मोरङकी राधादेवी अधिकारी मित्रपार्कस्थित एक काठ मिलमा भेटिइन्। उनी घरको मूल ढोकाको डिजाइनबारे बेलीबस्तार लगाउँदै थिइन्। कुरैकुरामा उनले भनिन्, ‘घरको मूल ढोका काठको बुट्टादार अनि विशेषखाले बनाउने योजनामा छु। त्यसकै लागि पैसा जोहो गर्दा पनि घर निर्माणका केही महिना ढिला भयो।'
अहिले आएर काठमाडौं, भक्तपुर, ललितपुरको ऐतिहासिक र सांस्कृतिक महत्वसँग जोडिएको काष्ठकलाको संरक्षण र संवद्र्धनमा स्थानीय निकायको पनि चासो बढ्न थालेको छ। भक्तपुर नगरलाई कसरी सम्पदामैत्री र परम्परागत रूपमा पुनर्निर्माण गर्न सकिन्छ भन्नेमा नगरपालिकाले ध्यान दिन थालेको छ। भक्तपुर नगरपालिका ३ का वडाध्यक्ष राजकृष्ण गोराका अनुसार पुरानो बस्तीको पुनर्निर्माण गर्न काठ र इँटामा ३५ प्रतिशतसम्म नगरपालिकाले सहयोग गरिरहेको छ। उनले भने, ‘काष्ठकलामा निपुण रहेकाबाट कसरी नयाँ पुस्तामा सीप हस्तान्तरण गर्न सकिन्छ भन्ने कुरामा स्थानीय निकायले विशेष कार्यक्रम सञ्चालन गर्न लागेको छ।' यसका लागि चाँडै नै काष्ठकलासम्बन्धी निःशुल्क तालिम सञ्चालन गरिँदै छ।
त्यसो त यो व्यवसायमा जानकारहरूको पनि अभाव छ। संस्कृतिविद् सत्यमोहन जोशी व्यापारका नाममा काष्ठकलाको सांस्कृतिक पक्षलाई बेवास्ता गर्न थालिएको प्रति खिन्न छन्। अध्ययन, अनुसन्धान बिना सामान्य सीपकै आधारमा मात्र काष्ठकलाको काम गर्न नहुने उनको तर्क छ। यसको इतिहास, परम्परा, शास्त्रीय पक्ष ख्याल गर्नुपर्ने उनी सुझाउँछन्। 'काम सुरु गर्दै मूर्ति र कलाबारे आधारभूत कुरा थाहा हुनुपर्छ। जस्तै– भगवान्को वाहन, गहना, हतियार, पोसाक, रङजस्ता सामान्य कुराको पनि जानकारी नराख्नेले कसरी कलाकारितामा भविष्य खोज्न सक्छ ? ' कलाकारिताको जुनसुकै काम पनि सामाजिक प्रतिष्ठासँग जोडिनेसमेत उनले बताए।