कृष्णनगर प्रहरीद्वारा एक लाख बढीको कपडा भन्सार चलान
तौलिहवा : कृष्णनगर प्रहरीले सीमाक्षेत्रबाट झण्डै १ लाख १५ हजार ३ सय बराबरको भन्सार छलीका अबैध कपडा बरामद गरेको छ । विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुभाष कुमार गैरेको कमाण्डमा खटिएको टोलीले कृष्णनगर २ महेन्द्रपार्क नजिकैबाट बेवारिसे अवस्थाबाट बरामद गरेको हो ।
केही अपरिचित व्यक्ति प्रहरी टोलीलाई देखेर सामान फाली भारततर्फ भागेपछि सो सामान नियन्त्रणमा लिएको प्रहरी निरीक्षक गैरेले जानकारी दिए । घटनास्थलबाट बनारसी साडी ११ पिस, लेडिज सुट १६ पिस, विभिन्न किसिमका काँचो कपडा ८३९ मिटर बरामद गरिएको गैरेले बताए । बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि कृष्णनगर भन्सार चलान गरिएको प्रहरी निरीक्षक गैरेले जनाए । अबैध रुपमा चोरी निकासी बढेको जनगुनासो बढेसँगै कृष्णनगर प्रहरीले गस्ती अभियानलाई तिब्रता दिँदै आएको छ ।