दर्जनौं सीमास्तम्भ बेपत्ता
गुलरिया : बर्दियास्थित दक्षिण भारततर्फको सीमामा गाडिएका दर्जनौं स्तम्भ हराएका छन्। लामो समयदेखि सीमास्तम्भको मर्मत–सम्भारलगायत पुनर्निर्माण हुन नसक्दा मुख्य, सहायक र साना सीमास्तम्भ नभेटिएका हुन्। नेपाल–भारत संयुक्त सीमा निरीक्षण टोलीले बर्दियाको सीमा क्षेत्रमा गरेको अनुगमन प्रतिवेदनअनुसार मुख्य, सहायक र साना गरी ९४ वटा सीमास्तम्भ फेला नपरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। जसमा मुख्य ७, सहायक ९ र सानो ७८ वटा छन्।
बर्दियाको ८० किलोमिटर खुला सीमा क्षेत्रमा मुख्य ४२, सहायक ६८ र सानो १ सय ३५ गरी कुल २ सय ४५ वटा सीमास्तम्भ छन्। अनुगमन टोलीको तथ्यांकअनुसार मुख्य ३२, सहायक ४० र सानो एक गरी ७३ वटा स्तम्भ मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन्। त्यस्तै, ४६ वटा पुनर्निर्माण गर्नुपर्ने, सहायक ७ र सानो २५ वटा गरी ३२ वटा सीमास्तम्भ खोलाले बगाएका छन्। ‘पुरानो अभिलेखमा मुख्य, सहायक र सानो गरी २ सय १२ वटा सीमास्तम्भ उल्लेख छ तर टोलीको सर्वेपश्चात् २ सय ४५ वटा स्तम्भको नयाँ तथ्यांक आएको छ।’
धेरैजसो स्तम्भ जीर्ण, भत्किएको र रंगरोगन गर्नुपर्ने अवस्थामा छन्। संरक्षण अभावमा ती सीमास्तम्भ जीर्ण बनेका हुन्। भारतले सीमा सुरक्षाका लागि जति महत्वव दिन्छ नेपालतर्फ केन्द्रीय सरकारबाट सीमा सुरक्षाका लागि चासो नदिइएको स्थानीयको गुनासो छ। प्रजिअका अनुसार नेपाल सरकारको नीतिबमोजिम लामो समयपछि पुर्ननिर्माण गर्ने तयारी भइरहेको छ। सबै स्तम्भ मर्मतसँगै रंगरोगन गरिने उनले जानकारी दिए।
भारतले सीमा सुरक्षाका लागि जति महत्वव दिन्छ नेपालतर्फ केन्द्रीय सरकारले चासो नदिइएको स्थानीयको गुनासो।
पहिलो चरणमा दाङ, कैलाली र दोस्रो चरणमा बाँके, बर्दियाका सीमास्तम्भको समस्या समाधान गर्ने गरी काम भइरहेको उनले बताए। विवादित क्षेत्रमा भने नेपाल–भारत दुई देशका अधिकारीबीच समन्वय गरी समस्या सुल्झाइने उनको भनाइ छ। संयुक्त सीमा निरीक्षण टोलीले दुवै देशलाई समान तथ्यांक पेस गरेकाले सीमा निर्धारणमा सहजता आउने बताए।
सीमा क्षेत्रमा स्तम्भको नियमित अनुगमन तथा गस्ती भइरहेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय गुलरियाका प्रहरी उपरीक्षक हृदयनारायण मण्डलले बताए। ‘सीमा सुरक्षाका लागि नेपाल–भारत दुवै तर्फबाट संयुक्त गस्ती गर्छौं’, उनले भने। बर्दियाको सीमा क्षेत्रमा भारततर्फ २४ वटा बीओपीमार्फत सुरक्षा भइरहेको छ। नेपालतर्फ दुई वटा बीओपी, दुई वटा बेस र एउटा सीमा सुरक्षा कार्यालयले सुरक्षा दिँदै आएको उनले जानकारी दिए।