वैशाखभित्रै पार्टी एकता : एमाले सचिव ज्ञवाली
पाल्पा : नेकपा एमालेका सचिव एवं परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले वैशाख १८ (मे १) अन्तर्राष्ट्रीय श्रमिक दिवश वा बैशाख २२(मे ५) माक्सको जन्मदिनको दिन दुवै पार्टी बीच एकता घोषणा गर्ने तयारी भएको बताएका छन्।
नेकपा एमाले पाल्पाका अगुवा कार्यकर्तालाई तानसेनमा सम्बोधन गर्दै एमाले सचिव एवं परराष्ट्रमन्त्री ज्ञवालीले एमाले र नेकपा माओवादी केन्द्र बीच एकताको लागि अधिकांश विषयवस्तुमा सहमति जुटिसकेको र केही विषय दुवै पार्टीका अध्यक्षले टुङ्गाउनु पर्ने भएकाले केही दिन ढिलाइ भएको बताए।मन्त्री ज्ञवालीले पार्टी एकताको विषयमा शंका उपशंका नगर्न कार्यकर्तालाई आग्रह गरे।
बैशाख २८ गते हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा भारत भ्रमणको समयमा दुवै देशबीच भएका सहमति व्यवहारिकरुपमा कार्यान्वयका विषयमा र कृषि साझेदारी र रेल सम्भाव्य अध्यनको विषयमा सम्झौता हुने गरी तयारी भएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए।
भारतीय प्रधानमन्त्री मोदी भ्रमणमा संसद अधिवेशन नभएकाले संसदमा सम्बोधन गर्ने कुनै कार्यक्रम नभएको मन्त्री ज्ञवालीले बताए। ३ वर्षदेखि बन्द अवस्थामा रहेको तातोपानी नाका खुलाउने विषयमा चिनिया पक्षसँग उच्च स्तरीय कुराकानी भएको आधारमा छिट्टै खुल्ने मन्त्री ज्ञवालीले बताए।