१२ सम्मै अंग्रेजीमा पढाइ

१२ सम्मै अंग्रेजीमा पढाइ

तम्घास : गुल्मीको छत्रकोट गाउँपालिका ४ स्थित दिगाममा रहेको आदर्श माध्यमिक विद्यालयले १२ कक्षासम्म अंग्रेजी माध्यममा पढाइ सञ्चालन गरेको छ। सदरमुकामबाहिर माथिल्लो कक्षासम्म अंग्रेजी पढाउने यो पहिलो विद्यालय हो। माथिल्लो कक्षासम्म गाउँघरमै अंग्रेजीमा पढाइ हुनथालेपछि स्थानीय अभिभावकले समेत साथ दिएका छन्।

विद्यालयले २०६० सालमा कक्षा १ मा मात्र अंग्रेजीमा पढाइ सुरु गरेको थियो। क्रमशः बर्सेनि कक्षा थप्दै लगिएको प्रधानाध्यापक गुणाकर ज्ञवालीले जानकारी गराए। अभिभावकहरूको सहयोगले नै आफूहरूलाई थप हौसला मिलेको उनको भनाइ छ। ‘अभिभावक भेलाबाट अंग्रेजी पढाउने विषयमा निर्णय भएको हो’, उनले भने, ‘सहयोग जुटाउन साथ दिएपछि सबै सम्भव भयो।’

अंग्रेजीसँगै कम्युटर शिक्षा पनि पढाइ हुने गरेको ज्ञवालीले जानकारी गराएका छन्। कक्षा ३ देखि कम्प्युटर पढाइ हुने गर्छ। ‘गत शैक्षिक सत्रदेखि सबै कक्षामा अंग्रेजी माध्यममा पठनपाठन थालिएको हो’, ज्ञवालीले भने, ‘विद्यार्थीको सिकाइ उपलब्धि पनि राम्रै छ।’ महँगो शुल्क तिरेर निजी विद्यालयमा छोराछोरी पढाउनुपर्ने बाध्यता यस क्षेत्रका अभिभावकलाई नभएको उनले जानकारी दिए। शृंगार स्रोतकेन्द्रअन्तर्गत उत्कृष्ट विद्यालयको रूपमा आफूहरूले पहिचान बनाइसकेको समेत उनले दाबी गरे।

निजी स्रोतबाट चार जना शिक्षकहरू राखेको जानकारी गराउँदै ज्ञवालीले मासिक ८८ हजार रुपैयाँ खर्च लाग्ने गरेको बताए। सबै खर्च अभिभावकहरूबाट जुट्ने उनको भनाइ छ। विद्यालयले प्रतिविद्यार्थी कक्षाअनुसार एक सयदेखि तीन सय रुपैयाँसम्म रकम लिने गरेको छ। नजिकै ६ कक्षासम्म निजी विद्यालय सञ्चालनमा रहे पनि त्यसको प्रभाव यस विद्यालयलाई परेको देखिँदैन।

दिगामकोट, कालिकानगर, चण्डीस्थान, टारीखर्क, लम्सेक, बोहा, मौरीपुर, अघा बजार, घलबिसौना, अमराईसहित छिमेकी जिल्ला पाल्पा सिद्देश्वर क्षेत्रका विद्यार्थीहरू यस विद्यालयलमा पढ्न आउने गरेको विद्यालयले जनाएको छ। घण्टौं पैदल हिँडेरै भए पनि विद्यार्थी नियमित पढ्न आउने गरेका प्रअ ज्ञवालीले जानकारी गराए। ‘बालमैत्री पठनपाठन छ’, उनले भने,‘दुई÷दुई महिनामा परीक्षा लिएर सिकाइ उपलब्धिका विषयमा जानकारी लिने गरेका छौं।’ सुरुमा एसएलसी परीक्षा हुँदा विशिष्टी       श्रेणीमा समेत विद्यार्थी उत्र्तीण हुने गरेको विद्यालयले जनाएको छ।

विद्यालयले शैक्षिक उपलब्धि वृद्धि गर्न नियमित अतिरिक्त क्रियाकलाप, कक्षाकोठा व्यवस्थापन, सरसफाइ व्यवस्थापनलगायत पक्षलाई समेत ध्यान दिने गरेको छ। ‘१० देखि १२ सम्मका विद्यार्थीलाई टिकाउन अलि समस्या छ’, प्रअ ज्ञवाली भन्छन्, ‘अभिभावकहरू बसाइँ सरेर जाँदा प्रभावित हुने गरेको छ।’ चार सय ४७ जना विद्यार्थीले भर्खरै वार्षिक परीक्षामा सहभागी जनाएका उनले बताए। दरबन्दीअनुसार शिक्षक अभावक हुँदा पनि विद्यालयले शैक्षिक उपलब्धि हासिल गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.